काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्दै जेठ २२ गते वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अन्नपूर्ण पार्टी भेन्यू, मैतिदेवी सेतोपुल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्दै सोहीबमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
समान उद्देश्य भएका कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष (आव) ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सञ्चालक समितिमा रिक्त सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्तिलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।