वीरगञ्ज । भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेल आयातमा भन्सार शुल्क बढाएपछि नेपालबाट प्रशोधित खानेतेल भारत निर्यात सहज हुने देखिएको उद्यमीहरूले बताएका छन् । भारतले शुक्रवारदेखि लागू हुने गरी ती तेलको आयातमा सीमा शुल्क बढाएको हो । तर, नेपालबाट जाने प्रशोधित तेलमा भन्सार नलाग्ने हुँदा यहाँको निर्यात बढ्ने उद्यमीहरूको अपेक्षा छ ।
भारतले अर्धप्रशोधित पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा सीमा शुल्क शून्यबाट एकैचोटि २० प्रतिशत पुर्याएको छ । त्यसमा कृषि पूर्वाधार विकास शुल्क पनि लाग्ने भएकाले अब यस्तो तेल आयातमा भारतले २७ दशमलव ५ प्रतिशत कर उठाउनेछ । प्रशोधित तेलमा लाग्ने कर भने १२ दशमलव ५ प्रतिशतबाट बढेर ३२ दशमलव ५ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
नेपाली उद्योगले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्छन् । भारत सरकारले बढाएको भन्सार महशुल नेपालबाट निर्यात हुने वस्तुमा लाग्दैन । नेपाली उद्योगले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को शून्य भन्सारमा खानेतेल भारत निकासी गर्न पाउँछन् ।
अप्रशोधित तेल आयातमा नेपालमा भन्सार महशुल दर कम छ । र यहाँ प्रशोधन गरेर तेल भारत शून्य भन्सार दरमा निर्यात गर्दा नेपाली उद्योगीलाई फाइदा हुन्छ । यही भन्सार दरको फरकको फाइदा उठाउँदै केही वर्षअघि यस्ता तेलको निर्यात पहिलो निर्यात हुने वस्तुको रूपमा दर्ता भएको थियो ।
तर, भारतले विश्व बजारमा तेलको मूल्य बढेको बेला आन्तरिक बजारमा मूल्यवृद्धि भएपछि सन् २०२१ को सेप्टेम्बरमा अप्रशोधित तेल आयातमा लाग्ने भन्सार महशुल शून्य बनाएको थियो । सोको असर नेपालबाट निर्यात हुने प्रशोधित तेलमा परेको थियो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आथिक वर्ष (आव) २०७७/७८ मा नेपालले ५३ अर्ब ६५ करोड रुपैयाँको भटमासको तेल भारत निर्यात गरेको थियो, जुन जम्मा निर्यातको ३८ प्रतिशत थियो । सूर्यमुखी तेलको निर्यात २ अर्ब २४ करोडको थियो भने पाम तेलको निर्यात कम थियो ।
आव २०७८/७९ मा ४८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल र ४१ अर्ब रुपैयाँ बराबरको पाम तेल निर्यात गई यी दुई पहिलो र दोस्रो ठूलो निर्यातजन्य वस्तुका रूपमा उभिएका थिए । तर, अघिल्लो आवमा आइपुग्दा पाम तेल ६ अर्ब ३३ करोड रुपैयाँ र भटमासको तेल ९० करोड रुपैयाँको मात्र निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । सूर्यमुखी तेल त १६ करोडको मात्र निर्यात भएको थियो ।
अब भारतले अन्य देशबाट हुने आयातमा भन्सार बढाएपछि नेपालबाट निर्यात वढ्न सक्ने ओसीबी फुडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।
‘भारतमा तेल आयातमा ४० प्रतिशतसम्म सीमाशुल्क हुँदा नेपाली उद्योगीले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित सूर्यमुखी, भटमास, पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । त्यहाँ शुल्क घटाएपछि अहिले निकासी ठप्पजस्तै भएको छ । भारतले शुल्क घटाएकाले अब निकासी सहज हुने देखियो,’ उद्यमी रुंगटाको भनाइ छ ।
स्वदेशका उद्योगले अर्धप्रशोधित तेलको आयातमा १० प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धिकर तिर्छन् । भारत निकासी गरेपछि भन्सारमा तिरेको सबै रकम फिर्ता पाउने र भारतमा ५ प्रतिशत वस्तु तथा सेवा करमात्रै तिरेर निकासी गर्न पाउने भएपछि निर्यात सम्भव भएको बताउँछन्, अन्नपूर्ण भेजिटेबल प्रडक्ट्सका सञ्चालक प्रभुदयाल अग्रवाल ।
यी देशबाट हुने आयातमा ५ प्रतिशत वस्तु तथा सेवा करमात्रै लाग्ने भएपछि भारतमा आयात शुल्क बढ्दा नेपालबाट निकासी सहज भएको हो ।
विगतमा निकासी सहज हुँदा नेपालका दर्जनभन्दा बढी उद्योगले निकासी गर्थे । भारतीय बजारलाई लक्ष्य गरी यस्ता उद्योगमा लगानी पनि बढेको छ । विगत २ वर्षयता निकासी खस्किएपछि ती उद्योगमा भएको १५ अर्ब रुपैयाँबराबरको लगानी संकटमा परेकोमा अहिलेको भारतीय नीतिले यो संकट तत्कालका लागि टर्ने सम्भावना देखिएको वीरगञ्जको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचान बताउँछन् ।
यसअघि भारततर्फको निकासी ठप्प भएर उद्योग बन्द हुने अवस्था आएपछि स्वदेशी उद्योगलाई सरकारले भन्सार महशुलमा ९० प्रतिशत छूट दिएकोमा गतवर्ष त्यो सहुलियत हटाइदिएपछि उद्योग थप संकटमा परेका थिए ।
गैरभन्सार अवरोध
विगत २ महीनादेखि वीरगञ्ज–रक्सौल नाकामा भारतीय पक्षबाट गैरभन्सार अवरोध भएको खाद्यान्न निकासी गर्ने उद्यमीले बताएका छन् । खाद्यको गुणस्तर परीक्षणका नाममा उद्योगबाट निस्किएको गाडी रक्सौलमा १०/१५ दिन रोकेर राख्नुपरेको उद्यमीहरूको गुनासो छ । तेल निकासी सहज बनाउन यस्तो गैरभन्सार अवरोधसमेत हटाइनुपर्ने उनीहरूकोमाग छ ।
भारतीय सत्ताले सन् २०२४ को लोकसभा निर्वाचनलाई लक्षित गरी मूल्य नियन्त्रणका लागि शूल्य सीमा शुल्कदेखि कृषि पूर्वाधार विकास कर हटाएको थियो । चुनाव सकिएसँगै भारतले नीति परिवर्तन गरेको हो । भारतले गहुँ, धान, चिनीलगायत खाद्यान्नको निकासीमा समेत नियन्त्रणको नीति कायमै राखेको छ ।