काठमाडौं । ग्रेगोरियन पात्रोको नयाँ वर्ष सन् २०२५ शुरू हुन २ दिन बाँकी हुँदा ३५ कोठा भएको चितवनस्थित सौरहाको जंगल सफारी लजमा न्यू इयर इभका लागि शतप्रतिशत बुकिङ छ । डिसेम्बर ३१ मा होटेल बस्न आउनेमध्ये ७० प्रतिशत बुकिङ आन्तरिक पर्यटकको रहेको उक्त लजका कार्यकारी निर्देशक सुमन घिमिरेले बताए ।
चितवन रिभर साइड रिसोर्टमा पनि ६० प्रतिशतभन्दा बढी बुकिङ आन्तरिक पर्यटकको रहेको उक्त रिसोर्टले बताएको छ । भक्तपुरस्थित नगरकोटको होटेल मिस्टिक माउन्टेनका कोठा पनि उक्त दिनका लागि ७० प्रतिशतसम्म बुकिङ भइसकेका छन् । आन्तरिक पर्यटककै बुकिङ बाहुल्य रहेको होटेल मिस्टिक माउन्टेनका अनलाइन मार्केटिङ म्यानेजर सचिन डंगोलले जानकारी दिए ।
- पछिल्लो समय नेपाली नयाँ वर्षभन्दा ग्रेगोरियन नयाँ वर्षको अवसरमा घुम्ने आन्तरिक पर्यटकको संख्या बढी
- सिजन अफ भए पनि क्रिसमसदेखि नयाँ वर्षसम्मका लागि पर्यटकको अंक सकारात्मक रहेको होटेल व्यवसायीको भनाइ
पछिल्लो समय नेपाली नयाँ वर्षभन्दा ग्रेगोरियन नयाँ वर्षको अवसरमा घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको देखिएको सम्बद्ध पर्यटन व्यवसायी बताउँछन् । विगतमा नेपालले प्रचलनमा ल्याएको विक्रम संवत्अन्तर्गतको नयाँ वर्षमा घुम्न जाने हुन्थे भने अहिले ईस्वी संवत्को नयाँ वर्ष मनाउनेको संख्या बढेको होटेल सञ्चालक बताउँछन् । यसले गर्दा नगरकोट, पोखरा र सौराहाका होटेलहरू आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको होटेल व्यवसायी बताउँछन् ।
‘यहाँ नेपालीले नयाँ वर्ष उत्सवका रूपमा मनाउँछन् । त्यसैले अन्तरिक पर्यटकको घुइँचो नै छ । न्यू इयर इभका लागि शतप्रतिशत बुकिङ भएकोमा ७० प्रतिशत आन्तरिक पर्यटकले गरेका छन् । बाँकी भारतीय र अन्य देशका छन्,’ सौराहाको जंगल सफारी लजका कार्यकारी निर्देशक घिमिरेले भने । लजले सुविधा हेरी प्रतिकोठा प्रतिरात ५ हजारदेखि १२ हजार रुपैयाँसम्म लिने गरेको छ । नगरकोटस्थित होटेल मिस्टिक माउन्टेनमा ७० प्रतिशत बुकिङ भए पनि यो गत सालको भन्दा केही कम रहेको डंगोलले जानकारी दिए । ‘गतवर्ष नयाँ वर्षका लागि होटेल बुकिङ ८० प्रतिशतभन्दा माथि थियो,’ उनले भने । उक्त होटेलमा ७२ ओटा कोठा छन् । डंगोलका अनुसार होटेलमा आन्तरिक पर्यटककै बाहुल्य हुन्छ र उनीहरू एक रात होटेल बस्छन् ।
होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष गंगा गिरीले पनि चितवनका होटेलहरू नयाँ वर्षका लागि लगभग प्याक रहेको बताए । ‘भोलि र पर्सिका लागि होटेलहरू प्याक नै छन्, सौराहाका होटेलको बुकिङ ८० प्रतिशत भइसकेको छ,’ उनले आइतवार आर्थिक अभियानसँग भने, ‘यो समयमा चिनियाँ र आन्तरिक पर्यटक सौराहामा बढी छन् ।’
उनका अनुसार नेपाली नयाँ वर्षको समयमा आन्तरिक पर्यटकको बुकिङ अनुपात ४० प्रतिशत हुने तर ईस्वीको नयाँ वर्षमा यस्तो बुकिङ ६० प्रतिशत पुग्ने गरेको छ । ग्रेगोरियन नयाँ वर्षलाई लक्ष्य गरेर राजधानीबाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनमा विभिन्न महोत्सव तथा गतिविधि भइरहेका छन् । पोखरामा नेपाल–चीन मैत्री ड्रागन बोट रेस शुरू भएको छ । यसले आन्तरिक पर्यटकलाई पनि थप प्रोत्साहित गरेको पाइएको छ । पर्यटकीय गन्तव्य पोखरा र चितवनमा अहिले ग्रेगोरियन नयाँ वर्ष २०२५ लाई लक्षित गरेर विभिन्न क्रियाकलाप भइरहेका छन् । यसको चहलपहलका कारण पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटकको राम्रो भीड रहेको व्यवसायी बताउँछन् ।
होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले क्रिसमसदेखि नयाँ वर्षसम्मका लागि पर्यटकको अंक सकारात्मक भएको बताए । यस अवधिमा भारतीय र बंगलादेशबाट आउने पर्यटकको संख्या बढेको भन्दै उनले थपे, ‘होटेलहरूमा राम्रो अकुपेन्सी छ, बाढीपहिरोयताका महीनामा भारतीय पर्यटकको संख्या कम थियो । तर, क्रिसमस र नयाँ वर्षका कारण भारतीयको संख्या काठमाडौंमा पनि बढेको छ ।’ अहिले पर्यटकीय सिजन नहुँदा काठमाडौंमा यूरोपेली र अमेरिकी पर्यटक आगमन कम रहेको छ । डिसेम्बर र क्रिसमसमा पर्यटक आफ्नै देशमा जान्छन् । ‘समग्रमा हेर्दा ६० प्रतिशत बुकिङ रहेको छ,’ शाक्यले भने, ‘गतवर्षको तुलनामा भने यो वर्षको बुकिङ कम हो । किनभने अहिले १० घण्टा विमानस्थल मर्मतसम्भारले उडान कम हुँदा टिकटको मूल्य बढेको छ । बाहिरबाट आउनेका लागि गत असोजको बाढीपहिरोबाट नकारात्मक प्रभाव परेको हो । गतवर्ष यही नयाँ वर्षमा यस्तो बुकिङ ८० प्रतिशत थियो ।’
यस्तै हान च्याप्टर पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले भइरहेका गतिविधिले पर्यटकको चहलपहल बढाएको बताए । पोखरामा पर्यटकको उपस्थिति राम्रो रहेको भन्दै उनले पोखराका होटेलको बुकिङ ८० प्रतिशत हुने बताए । साकुरा होटेलका सञ्चालकसमेत रहेका उनले पर्यटक आगमन सुधारोन्मुख हुँदा आफ्नो होटेलमा नयाँ वर्षको बुकिङ ७० प्रतिशत पुगेको बताए । यस समयमा जापानी र आन्तरिक पर्यटक बढी आउने गरेको उनले जानकारी दिए ।