वीरगन्ज । भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टीतेलसमेत ल्याउने तयारी गरिएको छ ।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको कार्य सम्पन्न भएसँगै नेपाल आयल निगमले यही बुधबारदेखि पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै ल्याउने भएको छ । अहिलेसम्म डिजेलमात्रै आइरहेकोमा अब पेट्रोल र मट्टीतेल पनि आउन थालेपछि ढुवानी खर्च बचत हुने नेपाल आयल निगममा मधेश प्रदेश प्रमुख प्रलयंकर आचार्यले बताए । यसका लागि परीक्षणसमेत भइसकेको निगमले बताएको छ ।
पाइपलाइन परीक्षणका क्रममा ५ हजार ५०० केएल पेट्रोल र १ हजार केएल मटीतेल ल्याइसकेको प्रमुख आचार्यले बताए । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।
भारतीय आयल निगमले अमलेखगंजस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुईओटा पेट्रोल टङ्की, २५० किलोलिटर क्षमताका दुईओटा ट्रान्समिक्स ट्र्याक र पेट्रोल ढुवानीका लागि २४ ओटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको छ ।
ट्यांकर सञ्चालक आन्दोलनमा
पाइपलाइनबाटै पेट्रोल र मट्टीतेलसमेत ल्याउने तयारी भएपछि यसअघि भारतको बरौनीबाट इन्धन ओसार्ने कार्यमा प्रयोग भइरहेका ट्यांकरका सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । अहिलेका लागि नेपाल आयल निगमले समस्या समाधानको विकल्प दिने आश्वासन दिएसँगै आन्दोलन स्थगित भए पनि माग पूरा नभए पुनः आन्दोलनम जाने ढुवानी व्यवसायीका संगठनहरूले बताएका छन् ।
अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले लामो समयदेखि बरौनीदेखि अमलेखगंजसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको र अहिले पाइपलाइनबाट सबैखालका पेट्रोलियम पदार्थ ढुवानी गरिने तयारी हुँदा १०४ ओटा ट्याङ्कर विस्थापित हुने दाबी गरेको छ ।
अहिले आन्दोलन स्थगित भए पनि पुस २४ गतेभित्र आफ्ना माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने ढुवानी व्यवसायीले बताए । गत शनिवार पत्रकार सम्मेलनमार्फत उनीहरूले यस्तो बताएका थिए ।