काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ ।