खस संस्कृतिको मौलिकता बोकेको सिँजा गाउँपालिका नेपालमा खस भाषाको उद्गम स्थलका रूपमा परिचित छ । सिँजा नेपालका तत्कालीन बाइसी राज्यको शक्तिशाली राज्यका रूपमा परिचित भएकोले यस गाउँपालिकालाई सिँजा गाउँपालिका नामकरण गरिएको हो । आफ्नै स्थानीय मौलिक परम्परा, संस्कृति, रहनसहन, वेशभूषा र मूल्यमान्यता बोकेको यो गाउँपालिका सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय धरोहरको रूपमा रहेको छ ।
सिँजा गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सुन्दरताको साथै पर्यटकीय दृष्टिकोणबाट अति महत्त्वपूर्ण छ । गाउँपालिकामा रहेका पर्यटकीय स्थानहरूमा रमणीय सिँजा उपत्यका, बारे, केदारनाथ पर्यटकीय क्षेत्र, त्रिदेवल, विन्दासैनी पर्यटकीय क्षेत्र, सिँजा सभ्यता खस संग्रहालय, पञ्चदेवल आदि रहेका छन् । हिन्दु धर्मावलम्बीहरूको उच्च बाहुल्य रहेको यस क्षेत्रमा नेपाली खस भाषालाई मातृभाषाका रूपमा मानिन्छ ।
यहाँको मुख्य आम्दानीको स्रोत भनेको प्राङ्गारिक कृषि हो भने सहायक रूपमा जडीबुटी, पशुपालन, फलफूल र ज्याला मजदूरीका रूपमा लिने गरेको पाइन्छ । रोजगारी र जीवनयापनका लागि हिउँदे समयमा भारतमा गई व्यवसाय गर्ने र ज्याला मजदूरी गर्ने गरेको पाइन्छ । स्याउ, ओखर, सिमी, फापर, मकै, मार्सी धान, चिनु, कागुनु तथा विभिन्न तरकारीबाली यहाँका मुख्य कृषि उत्पादन हुन् भने पशुपालनमा भेडाबाख्रा, मौरी, गाई, भैंसी, खरायो, खच्चडपालन आदि रहेका छन् । स्याउ सिँजाको प्रमुख नगदेबाली मात्र नभई समृद्धिको आधार पनि हो । सिँजाको मात्र नभएर जुम्ला जिल्लाकै प्रमुख नगदेबाली स्याउ हो ।
पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप कृषि पर्यटनलाई उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।
२०६४ सालमा जुम्ला नेपालकै पहिलो अग्र्यानिक जिल्ला घोषणा भएपछि जुम्लाको अन्नबालीदेखि फलफूलको अत्यधिक माग छ । हालको समयमा जुम्ली उत्पादन स्वदेशी तथा अन्तरराष्ट्रिय बजारसम्म ह्वात्तै बढेको छ । जुम्ला जिल्लाको गतवर्षको तथ्यांकलाई हेर्ने हो भने १९ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने जिल्लाभर ४२५० हेक्टर क्षेत्रफलमा स्याउखेती भएको थियो ।
यसैबीच, सिँजामा केदारनाथ बुदबुदी महोत्सव २०८० भाद्र १० गतेदेखि भदौ १२ गतेसम्म भएको थियो । यसको मुख्य उद्देश्य धार्मिक पर्यटनको प्रवर्द्धन, संस्कृति र इतिहासलाई बचाएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारप्रसार गरिएको थियो ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलत: प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादन मार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचनाप्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ ।
नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रका रूपमा समेत चिनिन्छ ।
आर्य तथा मंगोल संस्कृतिको सङ्गमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलका रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवंम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन ।
ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवर्द्धन प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि कुनै योजना नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु एवं व्यवस्थित होटेल नहुनु, पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिनियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सञ्चार तथा सूचना, बाटो, धारा, पथप्रदर्शकहरू, होटेल व्यवसाय, बैंक, वित्तीय संस्थाको अभाव र भरपर्दाे विद्युत् सेवा नहुनु यस गाउँपालिकाको प्रमुख समस्याको रूपमा रहेको छ ।
ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।
सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सिँजा क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको छैन । यस क्षेत्रको समग्र आम्दानीमा कृषि तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ ।
सिँजा क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।
पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्िवक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । यसका लागि संघ र प्रदेशको सहकार्यमा स्थानीय सरकारले मुख्य भूमिका खेल्नु आवश्यक छ । साथै, सिँजाक्षेत्र खस संस्कृतिको जननी भएकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरी समृद्धि प्राप्त गर्न आवश्यक छ ।
नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी कृषि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै सिँजाक्षेत्रदेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप कृषि पर्यटनलाई उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।
लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।