काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको पोखरा घारीपाटनस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे छ । अस्पतालले स्थापना कालदेखि नै आँखामा समस्या भएका बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीका साथै आगन्तुकको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको उनको भनाइ थियो ।
आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।
प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।