काठमाडौं । कृषिक्षेत्रमा समान प्रकृतिको काममा पनि महिला कामदारले पुरुष समकक्षीका तुलनामा कम ज्याला पाउने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि सर्वेक्षण २०७८ को आधारमा हालै निकालिएको सामुदायिक विवरण प्रतिवेदनअनुसार नेपालमा महिला कृषि कामदारको दैनिक औसत ज्यालादर ५३१ र पुरुषको ६६५ रुपैयाँ रहेको पाइएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले तथ्यांक संकलनका क्रममा एउटै वा समान प्रकृतिका काममा महिला र पुरुषबीच ज्यालामा असमानता देखिएको बताए । उनका अनुसार घरपरिवारमा मात्र नभई वडागत र पालिकागत सामूहिक छलफलबाट पनि समान काममा महिला र पुरुषमा फरक ज्याला देखिएको पाइएको हो ।
‘महिला र पुरुषले खेतबारीमा समान काम नै गर्छन् । त्यसबाट उत्पादन भएको वस्तु विक्री गर्दा मूल्य पनि समान नै आउँछ । तर, महिला र पुरुष कामदारले पाउने ज्यालादर फरक छ । यस्तो हुनु हुँदैन भन्ने अधिकांश कृषि कामदारको गुनासो रहेको हामीले पाएका छौं,’ उनले भने । प्रतिवेदनअनुसार पुरुष र महिलाबीच ज्यालादरमा सबैभन्दा बढी असमानता गण्डकी प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
गण्डकी प्रदेशमा महिला कामदारको दैनिक ज्यालादर ५५० र पुरुषको ८०८ रुपैयाँ छ । गण्डकीमा महिला र पुरुष कामदारबीच ज्यालामा २५८ रुपैयाँ फरक छ । यद्यपि समान प्रकृतिका काममा महिला र पुरुष दुवैले समान ज्याला पाउनुपर्ने माग कृषि मजदूर संगठनहरूले पटकपटक उठाउँदै आएका छन् ।
सुदूरपश्चिम प्रदेशमा कृषि कामदारको ज्याला महिलाको ५३८ र पुरुषको ६०१ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । त्यहाँ महिला र पुरुष कामदारको ज्यालाबीच ६३ रुपैयाँ फरक छ ।
बागमती प्रदेशका कृषि महिला कामदारको दैनिक औसत ज्यालादर सबैभन्दा बढी ६०५ रुपैयाँ छ । जहाँ पुरुष कामदारको ज्यालादर ८१० रुपैयाँ रहेको छ ।
सबैभन्दा कम ज्यालादर पाउनेमा मधेश प्रदेशका कृषि महिला कामदार रहेको तथ्यांकले देखाएको छ । मधेश प्रदेशमा कृषि कामदार महिलाको दैनिक औसत ज्यालादर ४७७ रुपैयाँ मात्र छ । यहाँ पुरुष कृषि कामदारको दैनिक औसत ज्यालादर ५५७ रुपैयाँ छ । कोशी प्रदेशमा यस्तो ज्यालादर महिलाको ४८८ रुपैयाँ र पुरुषको ६०८ रुपैयाँ छ । त्यसैगरी लुम्बीनी प्रदेशमा महिला कृषि कामदारको दैनिक ज्यालादर ५११ रुपैयाँ र पुरुषको ६२१ रुपैयाँ छ । महिला अधिकारकर्मीले समान काममा समान ज्याला हुनुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् । तर, व्यवहारमा त्यो नभएको कृषि गणनाले स्पष्ट पारेको छ ।
नेपाल कृषि श्रमिक संघका अध्यक्ष विमला गैरेले सरकारले नै महिला र पुरुषबीच ज्यालादरमा विभेद गरिरहेको बताइन् । संघले पटकपटक समान प्रकृतिको कामका लागि महिला पुरुषबीच विभेद गर्न नहुने र समान ज्यालादर तोकिनुपर्ने माग सरकारसामु राखे पनि सरकारले नसुनेको उनले बताइन् । महिला र पुरुष समान हुन् भनेर सिकाउने राज्यले नै कामको आधारमा महिला पुरुषबीच विभेद गरिरहेको उनको गुनासो छ । ‘हामीले लामो समयदेखि समान कामका लागि समान ज्याला भन्ने अभियान चलाइरहेका छौं । विशेष गरी सुकुमबासी, मुक्त कमैया शिविर र कृषि कामदारका रूपमा काम गर्ने समुदाय र गाउँटोलमा हामीले सबैलाई सुसूचित गर्दै हिँडेका छौं । आफ्नो कामका लागि सकेसम्म समान ज्याला माग्नुहोस् भनेर हामीले सचेतना पनि फैलाउँदै हिँडेका छौं । काम र ज्यालादरको आधारमा महिला पुरुषबीच हुने विभेदको अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।