काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ३६ लाख ८१ हजार नाफा कमाएकोमा चालू आवमा घटेर रू. १८ लाखमा झरेको छ । चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले नाफा घटेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९ लाख ९० हजार छुट्याएकोमा चालू आवमा रू. ३ करोड ५४ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. २ करोड ७० लाख ऋणात्मक छ ।
चुक्ता पूँजी रू. १४ करोड ६१ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ६ करोड २१ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४८ करोड सापटी लिएर, रू. ६६ करोड ९७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ९२ पैसा र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ७३ छ ।