काठमाडौं । इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा ड्राइपोर्टको ‘प्रणेता’ आरबी रौनियारको ८० वर्षको उमेरमा निधन भएको छ । दुई वर्षयता मुटु तथा क्यान्सर रोगको उपचार गराइरहेका रौनियारको शनिवार बिहान ११:५० बजे मेडिसिटी अस्पतालमा निधन भएको उनका भतिज तथा फोटो पत्रकार विकास रौनियारले जानकारी दिएका थिए ।
व्यवसायी रौनियारलाई नेपालमा इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा सुक्खा बन्दरगाहको काम शुरू गर्ने ‘प्रणेता’ मानिन्छ । रौनियार परिवार नेपालमा कपडा र चाँदी आयात गर्ने व्यवसायमा संलग्न थियो । शुरूमा नेपालमा कपडाको आयात बढी मात्रामा भारतबाट मात्र हुने गरे पनि दोस्रो विश्वयुद्धपछि जापान, बेलायत र इटलीजस्ता देशबाट समेत आउन थाल्यो । त्यस क्रममा भारतको कोलकाताबाट सामान क्लियरेन्स गरेर ल्याउन समस्या भयो । त्यसपछि आरबीको बाजेकै पालामा कोलकातामा कार्यालय खोली क्लियरिङ र फरवार्डिङको काम शुरू गरिएको २ वर्षअघि आर्थिक अभियानसँगको अन्तरवार्तामा रौनियारले आफ्नो अनुभव सुनाएका थिए । विभिन्न
व्यवसायमा हात हालेको रौनियार परिवारले पञ्चायत कालमा भने राज्यको कोपाजनको शिकार हुनुपर्यो । रौनियारले २ वर्षअघिको अन्तरवार्तामा बताएअनुसार उनका बुबा कट्टर नेपाली कांग्रेस समर्थक थिए र पञ्चायतको शुरुआतपछि उनको व्यवसाय डुबाउन तत्कालीन पञ्चायती सरकारले धेरै दु:ख दियो ।
उनले २०१६ सालमा वीरगञ्जको श्रीपुरमा ‘सामुन्नेदी फर्टिलाइजर फ्याक्ट्री अफ नेपाल’ नाममा मल कारखाना खोलेका थिए । सरकारले २०१८ सालमा उक्त कारखाना राष्ट्रियकरण गरेको थियो । त्यसपछि रौनियार परिवारले ‘नेपाल डिप्लोमेटिक सप्लायर’ कम्पनी खोलेर दूतावासका लागि आवश्यक सामान आयात गर्न थाल्यो । पछि सरकार आफैले नेशनल टे्रडिङ कर्पोरेशन खोलेर सामान आपूर्ति गर्न थालेपछि रौनियार परिवारले यो काम छाड्यो । बालाजु औद्योगिक क्षेत्रको स्थापनापछि रौनियारले साबुन फ्याक्ट्री स्थापना गरे पनि लामो समय चल्न सकेन । उक्त समयमा भारतबाट कोटा प्रणालीमा तेल आउँथ्यो । कोटा हुन्जेल कारखाना चल्यो, बन्द भएपछि उद्योग पनि बन्द भएको रौनियारले उक्त अन्तरवार्तामा बताएका थिए ।
तर, रौनियारले तेस्रो देशबाट सामान ल्याउन सघाउने व्यवसायलाई भने निरन्तरता दिए । सन् १९७४ मा इन्टरस्टेट ट्रान्सपोर्टको नाममा शुरू भएको व्यवसाय हाल इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्टका रूपमा सञ्चालनमा छ । यही कम्पनीले कुलेखानी जलविद्युत् आयोजना निर्माण ताका टर्बाइन, प्रसारण लाइनलगायतका समान आयात गरेको थियो । सामान आयात गर्नका लागि धेरै ठाउँमा आफैले बाटो र पुलसमेत निर्माण गरेको र त्यही बेला हेटौंडाको सुपारीटारमा बनाएको पुल अझै सञ्चालनमा रहेको उनले बताएका थिए ।
नेपालमा सन् १९९० तिरै सुक्खा बन्दरगाहको अवधारणा आवश्यक छ भन्ने विषय अगाडि बढाउने व्यवसायीका रूपमा रौनियारलाई लिइन्छ । रक्सौलमा भारतीय रेलवेको सहयोगमा भारतको ट्रान्सपोर्ट कम्पनी कोन्करसँग मिलेर कोलकाताबाट रक्सौलसम्म कन्टेनर सामान ल्याउन उनले नै सुक्खा बन्दरगाह बनाउन लबिइङ गरेका थिए ।
फ्रेड फरवार्ड एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष राजन शर्मा रौनियारलाई इन्टरमोडल ट्रान्स्पोर्टका प्रणेताका रूपमा सम्झन्छन् । नेपालको सुक्खा बन्दरगाह स्थापना गरी अन्तरराष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न भूमिका खेलेका रौनियार ढुवानी तथा ट्रान्सपोर्ट व्यवसायको अग्रज अभिभावकका रूपमा रहेको शर्माले बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेपाल–भारत व्यापारलाई व्यवस्थित गर्न रौनियारको योगदान उल्लेखनीय रहेको बताउँछन् । (भदौ ३० गते प्रकाशित आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट)