जेठ ३०, वीरगञ्ज । भारतको विशाखापट्टनम् बन्दरगाहबाट कण्टनेर लिएर पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा रेल आइपुगेको छ । विशाखापट्टनम्बाट ५० ओटा कण्टेनर लिएर सोमवार राति सुक्खा बन्दरगाहमा रेल आइपुगेको हो । बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृत अनिमेशकुमारले विशाखापट्टनम्बाट ५ दिन लगाएर सुक्खा बन्दरगाहमा पहिलोपटक रेल आइपुगेको बताए ।
‘फर्नेस आयल र तोरी बोकेका ५० ओटा कण्टेनर आइपुगेका छन्,’ उनले आर्थिक अभियानसित भने । रेल विशाखापट्टनम्बाट जुन ७ मा वीरगञ्जका लागि कण्टेनर बोकेर हिँडेको थियो । आयातकर्ताहरूले यसअघि कोलकाता र हल्दियाबाट कण्टेनर ल्याउने गरेका थिए ।
विशाखापट्टनम्बाट अहिलेसम्म ढुवानी भएको थिएन ।
५० कण्टेनरमध्ये ३० ओटा कण्टेनरमा फर्नेस आयल छ । वीरगञ्जको रौनियार ब्रदर्सले दुबई र कुवेतबाट फर्नेस आयल ल्याएको हो । वीरगञ्जकै महावीर ओभरसिजले अष्टे«लियाबाट २० कण्टेनर तोरी आयात गरेको छ । मक्र्स सिपिङ लाइनले विशाखापट्टनम्बाट वीरगञ्ज बन्दरगाहसम्म पहिलोपटक ढुवानी दिएको हो । अहिलेसम्म अधिकांश सिपिङ कम्पनीले कोलकाता र हल्दियासम्म कण्टेनर ढुवानी गर्दै आएका थिए ।
मक्र्स लाइनले वीरगञ्जसम्म ल्याइपुर्याइएका कण्टेनरका लागि ५ दिनको निःशुल्क समय दिने गरेको हिमालयन टर्मिनलले बताएको छ । तेस्रो मुलुकसितको व्यापारमा अधिक चल्तीको कोलकाता बन्दरगाहमा आयातकर्ताले १४ निःशुल्क समय पाउने गरेका छन् । तोकिएको समयभित्र कण्टेनर फिर्ता गर्न नसकेर सिपिङ कम्पनीलाई चर्को जरीवाना बुझाउनु परेको औसत आयातकर्ताको गुनासो रहने गरेको छ ।
सिपिङ कम्पनीले वीरगञ्जसम्म कण्टेनर ढुवानी दिन थालेकाले आयातकर्तालाई जरीवानाको भार कम पर्ने अधिकृत अनिमेशले बताए । ‘यसअघि बाटोमा रेल ढिलो भए आयातकर्ताले जरीवाना तिर्नुपथ्र्यो । यहीँसम्म ढुवानीपाएपछि यो समस्या न्यूनीकरण हुने भएको छ,’ उनले भने । मक्र्स लाइनले वीरगञ्जमै सम्पर्क कार्यालय खोलेर कण्टेनर बुझ्ने गरेको छ ।
निजीक्षेत्रले सञ्चालन गर्दै आएको विशाखापट्टनम् बन्दरगाहले आफ्नो बजारीकरण गरे पनि कोलकाताभन्दा दोब्बर दूरीका कारण ढुवानी महँगो पर्ने भन्दै आयातकर्ता आकर्षित भएका थिएनन् । विशाखापट्टनम्बाट रेलको भाडा तुलनात्मक केही महँगो परे पनि सो बन्दरगाहसम्म कण्टेनर ढुवानीमा पानीजहाजको भाडा भने कम पर्ने बताइएको छ ।
विशाखापट्टनम्बाट वीरगञ्ज आइपुगेका कण्टेनरमा कोलकाताको तुलनामा प्रतिकण्टेनर १८ हजार भारतीय रुपयाँ बढी भाडा परेको आयातकर्ताले बताए । उता समुद्री मार्गको खर्च भने २५ प्रतिशत कम तिर्नु परेको उनीहरूको भनाइ छ । वीरगञ्जबाट कोलकाता रेलमार्गको दूरी ७ सय ४ किलोमिटर छ भने विशाखापट्टनम् १ हजार ४ सय किलोमिटर टाढा छ ।
विशाखापट्टनम्बाट हुने ढुवानीमा सिपिङ कम्पनीले वीरगञ्जसम्म कण्टेनर पुर्याउने भएकाले समुद्री बन्दरगाह व्यवस्थापन र रेलवेको ढिलासुस्तीका कारण हुने विलम्बको आर्थिक भार आयातकर्तामाथि नपर्ने भएको छ । अहिलेसम्म आयातकर्ताले सिपिङ कम्पनी र भारतीय रेलवेलाई मात्र वर्षेनि अर्बौ रुपैयाँ जरीवाना बुझाउँदै आएको नेपाल उद्योग वाणिज्य महासङ्घ स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले बताए ।
वीरगञ्ज बन्दरगाहमा कण्टेनर ढुवानीको जिम्मा लिएको कोन्करले औसत एक र्याकमा ९० कण्टेनर बोक्ने गरेकोमा विशाखापट्टनम्बाट ५० कण्टेनर नै ढुवानी गरेको छ । हिमालयन टर्मिनलका अधिकृत अनिमेशले यसलाई नयाँ रूटका लागि कोन्करले पुर्याएको ‘सहयोग’ भने । कोन्करले शुरुआती समयका लागि विशाखापट्टनम्बाट कण्टनेरमा पनि ७० प्रतिशतसम्म र्याक उपलब्ध गराउने भएको छ । भारतीय रेलवेको भगिनी संस्था कोन्कर हिमालयन टर्मिनलको मुख्य साझेदार पनि हो ।
नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि विशाखापट्टनम् समुद्री बन्दरगाह उपलब्ध गराउन भारत औपचारिक रूपमा सहमत भएको १५ महीनापछि सो बन्दरगाहबाट कण्टेनर आएको हो । २०७२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विशाखापट्टनम् बन्दरगाह उपयोगको सम्झौता भएको थियो
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.