काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले मंगलवार पदभार ग्रहण गरेका छन् । उनले संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ लिएपछि पदभार ग्रहण गरेका हुन् ।
सञ्चालक समितिको फागुन २८ गते सम्पन्न बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी अवकाश भएका घिमिरेसँग गोर्खाज फाइनान्स लिमिटेडमा सीईओ भई काम गरेको अनुभव समेत छ । नेपाल राष्ट्र बैंकमा नै रहँदा उनले समस्याग्रस्त नेपाल शेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुख भएर काम गरेका थिए ।
नियामक निकाय र वित्तीय संस्थामा कार्यानुभव भएका घिमिरेको कार्यकालमा संस्थाले थप गति लिने विश्वास संस्थाको छ ।