काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।
सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले यही चैत २९ गते काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित नमोबुद्ध बैंक्वेट एण्ड इभेन्टमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।