काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधवार काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँको २३ दशमलव ८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै, बोनस शेयर कर प्रयोजनार्थ १ दशमलव २५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँ बराबरको नगद लाभांश पनि सभाले अनुमोदन गरेको छ ।
बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी रू. ३ अर्ब ९६ करोड १६ लाख कायम हुने र नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात् १ः०.२७ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभाले बोनस शेयर वितरण र हकप्रद शेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गरेको हो ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो । साथै कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी सभाले अनुमोदन गरेको छ ।