चितवन । वैदेशिक रोजगारीमा १० वर्ष मलेसियामा बिताएका चितवन मेघौलीका वेदकुमार महतो घर फर्किएर गाउँमा होमस्टे सञ्चालन गरेका छन् । होमस्टेको आम्दानीले उनी सन्तुष्ट छन् । उनको होमस्टेमा विदेशीभन्दा स्वदेशी पाहुना नै धेरै आउने गर्छन् । होमस्टेमा आउने पाहुनाले थारू संस्कृति, खानपीन र स्थानीय वातावरण रुचाएको उनको भनाइ छ ।
उनीजस्तै मेघौलीका जीवन चौधरीले पनि होमस्टे चलाएका छन् । उनी पनि व्यवसायबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘पछिल्लो केही वर्षयता पर्यटक बढेका छन्, आम्दानी पनि राम्रै भएको छ ।’ मेघौलीमा २०६७ माघ १४ गतेबाट होमस्टे शुरू भएको हो । त्यसबेला पाँच घरले मात्र होमस्टे शुरू गरेका थिए । पछि तीनओटा घर थपिए । शुरुआती क्षणमा पाहुना नआएपनि सञ्चालन गरिएको केही वर्षमै पाहुना आकर्षित हुन थालेका हुन् ।
त्यसबेला पाँच घरले मात्र होमस्टे शुरू गरेका थिए । पछि तीनओटा घर थपिए । शुरुआती क्षणमा पाहुना नआए पनि सञ्चालन गरिएको केही वर्षमै पाहुना आकर्षित हुन थालेका हुन् ।
युवापुस्ता होमस्टेमा आकर्षित हुन थालेपछि होमस्टे थप व्यवस्थित बन्दै गएको थारू सामुदायिक होमस्टे मेघौलीका अध्यक्ष सोमलाल महतो बताउँछन् । पश्चिम चितवनको मेघौलीमा घुम्न आउने पर्यटकको मोह थारू सामुदायिक होमस्टेमा देखिएको उनी बताउँछन् । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकले होमस्टे रोज्न थालेको उनको भनाइ छ ।
परम्परागत परिकारको स्वाद लिनकै लागि पर्यटक होमस्टेमा पुग्ने गरेको उनी बताउँछन् । होमस्टेमा लागि परिकार बनाउन अग्र्यानिक तरकारी र अन्न आफै उत्पादन गर्दै आएका छन् । यहाँको थारू सामुदायिक होमस्टे थारू संस्कार र संस्कृतिको जीवन्त संग्राहालय बनेको छ । यहाँ आउने पर्यटकले थारू संस्कृतिमा खाइने चिचर, घोँगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी नाच (स्टिक डान्स), झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्य मन पराउँछन् ।
भरतपुर, चौबीसकोठीदेखि २५ किमी पश्चिम रहेको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको आनन्द लिने गरेको होमस्टे मेघौलीका अध्यक्ष महतो बताउँछन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदीले घेरिएको सुन्दर टापु मेघौलीको प्रकृति र संस्कृतिका विविध छटाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । नेपालमा नै सर्वप्रथम जंगल सफारीको शुरुआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य बनेको छ । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणका केन्द्रबिन्दु हुन् ।