सपना सबैले देख्छन् । सपना देख्न सबै स्वतन्त्र पनि छन् । कोही जागीर खाने सपना देख्छन् त कोही ख्वाउने । कोही सत्ता जोगाउने सपना देखिरहेछन्, कोही सत्ता पाउने । कोही ग्राहक भुट्ने सपना देख्छन्, कोही देशलाई लुट्ने । यसरी सबै आआफ्नो सपना पूरा गर्न लागिरहेका छन् । जुन देशमा जति धेरै मानिशहरूले जे जे हुने सपना देख्छन्, समग्रमा देश त्यस्तै बन्छ ।
कोही सुतेर सपना देख्छन् त कोही नसुतेर । कसैकसैलाई सपनाले नै निदाउन दिँदैन । उत्तम सपना त्यही हो रे, भारतका मिसाइल राष्ट्रपति अब्दुल कलामका अनुसार । उनले भनेका छन्, ‘सपना त्यो होइन, जो निदाउँदा देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।’ हिन्दी सिरियलका मुगेरीलाललै झैं दिउँसै हसिन सपना देखेर असिन पसिन हुने पनि छन् ।
सपनाको मामलामा नेपाल उम्दा देश हो । यहाँ सपना देख्ने र देखाउनेका मेला छ । त्यो पूरा गर्न चाहिँ झमेला छ । विवादका लागि चाहिँ ठेलमठेला छ । नेपाल मात्र दुनियाँमा एउटा यस्तो अद्भूत देश हो, जहाँ प्रत्येक नागरिकले पूर्ण स्वतन्त्रताका साथ साना सानादेखि ठूला ठूला केही बन्ने सपना देख्न सक्छन् । जन्मियो, मन लागे स्कुल गयो, नलागे नगयो । २–४ कक्षा पढे पढ्यो, नपढे पढेन । किताब र ज्ञानसँग दुस्मनी नै भए पनि सपना चाहिँ ४ जीपीएको ।
विद्यार्थीको सपना पूरा गर्न सरकार पनि उदार छ । त्यही भएर प्रश्न सजिलो, जँचाइ सजिलो, अनि फेरि पुन: परीक्षा । यसो पढेजस्तो गर्ने जोकोही पास । ९–१०, त्यसपछि ११, १२ कक्षामा पढे जस्तो गर्यो । जसोतसो पास भए यूरोप, अमेरिका, जापान, नभए खाडी । त्यो पनि नभए गाडीमा दक्षिणी छिमेकतिर । त्यो पनि नपाए झाडीतिर । नत्र फुटपाथको स्वतन्त्रता छँदै छ । तरकारी बेचे नि भो, मकै पोले नि नि भो, केही नसके यसो रुमाल थापे केही न केही त झरिहाल्छ । तर नेपालीहरू सानोतिनो कामलाई कामै ठान्दैनन् । बरु जुलुस र ढुंगामुढा गर्न लाग्छन्, राजनीतितिर जान्छन् र सीधै सांसद वा मन्त्री पक्का । अनि पढेलेखेका र व्यवसाय गर्छु भन्नेलाई तह लगाउँछन् ।
यसैले बरु फुटपाथको स्वतन्त्रतालाई सदुपयोग गर्दै चोर बन्ने सपना देख्नुस्, पकेटमार बन्ने सपना देख्नुस्, कालोबजारी गर्ने सपना देख्नुस्, जग्गा दलाली गर्नेदेखि सहकारी ठग्नेसम्म वा नयाँ राजनीतिक दल खोल्नेसम्म सबैखाले कामधन्दा गर्ने सपना देख्नुस् । यसमा तपाईंलाई कसैले पनि रोकटोक गर्दैन । अरू सफल भएका छन् भने तपाईं मात्र असफल हुने प्रश्नै छैन ।
स्वदेशमा बिपीको र पुष्पलालको सपना साकार पार्ने भनेर राजनीतिमा आएका झुण्ड मुण्डहरू अचेल त विदेशीका सपना पनि साकार पार्ने कुरा गर्छन् । त्यसैले माक्र्स, लेनिन र माओको सपना साकार पार्न दाजुभाइ मार्न तयार हुने जमात पनि छन् देशमा । महात्मा गान्धीको सपना साकार पार्नेहरू अहिले पनि चर्खा आन्दोलन चलाइरहेका छन् ।
सपना देख्न न त कर लाग्छ, न बिजुली खर्च हुन्छ । त्यसैले केही मानिस मूल सपना पूरा भएपछि पनि रोकिँदैनन् । अरू नयाँ नयाँ नयाँ सपना देख्न थाल्छन् । हिजोआज कुनै सामान्य स्किल याने खुबी नभएको मान्छे पनि एकैचोटि व्यवस्थापक हुने सपना देख्छ । एउटा वडा सदस्य बन्न नालायक पनि सीधै सांसद, मन्त्री र अझ प्रधानमन्त्री नै बन्ने सपना देख्न थाल्छ । २–४ कक्षा पढेका र संसद्मा २–४ सिट जितेकाहरू उपप्रधानमन्त्री मात्र होइन, प्रधानमन्त्री नै सम्म बनेका उदाहरण त थुप्रै छँदैछन् ।
यसै प्रसंगमा कुनै अमुक दलको झोला बोक्नेले त कुनै कागजी समितिको कागजी सदस्य वा अध्यक्ष नै बन्ने सपना देख्छ र बन्छ पनि । बनेकै छन् त अहिलेसम्म । सपना देख्ने न हो । के था त्यो विपना पो बनिहाल्छ कि ?
यो देशमा कहीँ पनि उभिएर थुक्ने, स्कुल, पार्क, सार्वजनिक ठाउँहरूमा चुरोट फुक्ने, सुर्ती खाएर उल्टो फुर्ती लाउँदै प्लास्टिकका पाउच बाटाबाटामा फ्याँक्ने पूर्ण स्वतन्त्रता छ । सामाजिक सञ्जालमा समेत थुक्ने र भुक्नेहरू त झन् कति कति । कसैलाई मन परोस् वा नपरोस्, आफूलाई मन परेको गीत, संगीत, मन लागे जति ठूलो आवाजमा, मन लागेको समयमा बजाउन पाउने स्वतन्त्रता पनि यही देशमा छ । अर्काको अधिकार हनन गर्न पाइन्न भन्ने नियमलाई पूरै धोती लगाइदिने स्वतन्त्रता पनि यहीँ छ ।
यो स्तरको स्वतन्त्रता हाम्रो देशमा कसरी सम्भव भयो त ? यो त नेता नामक हाम्रा महान् स्वतन्त्र सेनानी जो छन् नि, हो तिनकै कारण यी सबै स्वतन्त्रता नेपालीले प्राप्त गर्न सफल भएका हुन् । यो थुक्नेदेखि भुक्नेसम्मको स्वतन्त्रता पूरै खुलेको चैं नयाँ तन्त्र अर्थात् लोकतन्त्रको फन्डा देशमा खुलेदेखि नै हो, जसले मानिसलाई सपना देख्ने स्वतन्त्रता दियो । एकथरी मानिसले दशकौंदेखि जनतालाई समृद्धिको सपना देखाइरहे । तर लाखौं नेपालीका सपना त्यही थाँती रहे, सपना देखाउनेले चाहिँ खोला तरे, लौरो बिर्सिए ।
स्वदेशमा बिपीको र पुष्पलालको सपना साकार पार्र्नेे भनेर राजनीतिमा आएका झुण्ड मुण्डहरू अचेल त विदेशीका सपना पनि साकार पार्ने कुरा गर्छन् । यसको मतलब यी विदेशीले पनि नेपालका बारेमा सपना देख्न भ्याएका रहेछन् । त्यसैले माक्र्स, लेनिन र माओको सपना साकार पार्न दाजुभाइ मार्न तयार हुने जमात पनि छन् देशमा । महात्मा गान्धीको सपना साकार पार्नेहरू अहिले पनि चर्खा आन्दोलन चलाइरहेका छन् ।
यसरी सपना पूरा गर्छु भनेर अगाडि आएका केही टाठाबाठाहरूले एउटा तन्त्रबाट देशलाई अर्को तन्त्रमा लिएर पनि गए । तर त्यस क्रममा आफ्ना सपना चैं पूरा गरे, तर लाखौंका सपना भने बाटैमा अधुरै छाडिदिए । अरूको सपना पूरा गर्छु भनेर राजनीतिमा आएकाहरूले आफ्ना र आफन्तका सपना चैं पूरा गर्नतिर लागे, त्यसपछि कताकता भागे भागे । ती सर्वसाधारण जो आफ्ना सपना पूरा हुने आशा गर्दा गर्दै कत्ति त्यत्तिकै मरे, कत्ति चैं नून, तेल, चामल, दाल र जागीरका वरिपरि नै घुमिरहेका छन् ।
आम नागरिकका सपनामा समाजवाद, पूँजीवाद वा विकासवादका कुरा छैनन्, बरु सामान्य र व्यावहारिक कुरा मात्र छन् । तर शासकहरू आमनागरिकका आधारभूत आवश्यकताका सपनामाथि टेकेर महत्त्वाकांक्षी सपनाका कुरा गर्छन्, तर ती कहिल्यै पूरा गर्दैनन् । यसरी सबै सपनाका पोका पानीका फोका सावित भएका छन् । सपनाका कुरा त धेरै भए, काम कहिलेदेखि र कसले थाल्ने हो र खै ?
यसैले सपना देख्ने स्वतन्त्रताको उचित तरीकाले मात्र उपयोग गर्नुहोला नि । सपना त देख्नुस्, तर तपाईंको जत्ति औकात छ, त्यत्ति मात्र सपना देख्नुस् है । मनको लड्डु त जत्ति मन लाग्यो, त्यति घ्युसँग मज्जाले खान पाइन्छ । सपनै देख्न मात्र त तपाईंलाई कसले रोक्या छ र ?