काठमाडौं । विभिन्न सरकारी निकायले समयमै सरकारलाई ऋण नतिर्दा भाखा नाघेको कर्जा कुल लगानीको करीब १७ प्रतिशत पुगेको भएको छ । ब्याजसहित हिसाब गर्दा सरकारी संस्थानहरूबाट नउठेको रकम कुल ऋणको करीब ४२ प्रतिशत पुग्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न सरकारी संस्थामा लगानी भएको ७१ अर्ब ४३ करोड रुपैयाँ साँवाको भाखा नाघेको छ, जुन कुल ऋणको १६ दशमलव ८७ प्रतिशत हो ।
भाखा नाघेको साँवा र ब्याज १ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । यो कुल ऋणको ४१ दशमलव ९० प्रतिशत हो । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, जनकपुर चुरोट कारखाना लिमिटेड, उदयपुर सिमन्ट उद्योग लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, नेपाल वायुसेवा निगम, विराटनगर जुट मिल्स, गोरखकाली रबर उद्योग लिमिटेड र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा साँवाब्याज नतिरेका हुन् ।
‘कतिपयले नाफा गरे पनि सरकारी ऋण समयमै तिरेका छैनन् भने ऋण तिर्न बाँकी रहेका कतिपय सरकारी संस्था बन्द भइसकेका छन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘बन्द भइसकेको संस्थाको ऋण भने उठाउन गाह्रो छ ।’
उनका अनुसार समयमै ब्याज नतिरेमा १० प्रतिशत जरीवाना लगाउने प्रावधान छ । तर, साँवा पनि नतिरेका संस्थाले ब्याज र जरीवाना तिर्ने सम्भावना भने निकै कम छ ।
विभिन्न विद्युत् परियोजना विकास गर्न विद्युत् प्राधिकरणले सबैभन्दा धेरै सरकारको ऋण पाउने गरेको छ । भाखा नाघेको ऋण पनि प्राधिकरणको सबैभन्दा बढी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलेबताएको छ ।