काठमाडौं । गत असोजको दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिपछि बीमा कम्पनीहरूमा साढे ९ अर्ब रुपैयाँको बीमा दाबी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार १८ बीमा कम्पनीमा ३ हजार ३०६ बिमितले ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार ६३५ रुपैयाँ ५२ पैसा बीमा दाबी गरेका हुन् । जसमध्ये २६१ बिमितको ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपैयाँ ३९ पैसा भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी बीमा दाबी गरिएको छ । उक्त प्रदेशमा २ हजार ९१० बिमितले ८ अर्ब ९२ करोड ३९ लाख ३५ हजार ६३८ रुपैयाँ ६७ पैसा बीमा दाबी गरेका छन् । जसमध्ये २४२ बिमितको २९ करोड १७ लाख ४७ हजार २१७ रुपैयाँ ५४ पैसा भुक्तानी गरिएको प्राधिकरणको तथ्यांक छ ।
बागमती प्रदेशपछि सर्वाधिक बीमा दाबी गर्नेमा कोशी प्रदेश छ । उक्त प्रदेशमा २२८ बिमितले ३३ करोड ६२ लाख १७ हजार ४८७ रुपैयाँ ४७ पैसा बीमा दाबी गरेका छन् । जसमध्ये ९ बिमितको ७६ लाख २० हजार २४५ रुपैयाँ ४७ पैसा भुक्तानी गरिएको छ ।
सर्वाधिक दाबी परेका बीमालेखमा सम्पत्ति बीमाका धेरै छन् । त्यसपछि मोटर बीमा (निजी), मोटर बीमा (सार्वजनिक), इन्जिनियरिङ तथा ठेकेदार जोखिम, पशुपन्छी बीमा, कृषि बाली बिमा, सामुद्रिक बीमा र विविध छन् ।
गत असोज १० गते रातिदेखि देखि १२ गतेसम्म अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानले धनजनको क्षति गरेको थियो ।