नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्त्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करीब ७०० प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिका तर्फबाट अद्वितीय उपहार हो ।
वर्षेनि अर्बौं धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावार विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्रीवितरणबाट अर्बौं धनराशी वर्षेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको विक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लामा करोडौं रुपैयाँ वर्षेनि जिल्ला भित्रिने गर्छ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौं, करोडौं मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएको पाइन्छ । यसै सिलसिलामा यस लेखमा अमृतसमान जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सर्पगन्धासम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।
सर्पगन्धाको स्थानीय नाम सर्पगन्धा तथा चाँदमरुवा हो । यसको अंग्रेजी नाम रावल्फिया, सर्पेन्ट उड, सर्पेन्टाइन रूट, वैज्ञानिक नाम रावल्फिया सर्पेन्टिना हो । एपोसाइनेसी वानस्पतिक परिवारमा पर्ने यो बिरुवा ६० देखि ९० सेन्टिमीटरसम्म अग्लो हुन्छ । यो बहुवर्षे, सदाबहार बिरुवा हो । चैत महीनादेखि फुल्न शुरू भएका पूmल पुस महीनासम्म सदाबहार फुलिरहन्छ । यो बिरुवा नेपालमा १०० देखि १२०० मीटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ । यो नेपाललगायत भारत, बर्मा, बंगलादेश, श्रीलंका, मलेशिया, इन्डोनेशिया आदि देशमा पनि पाइन्छ । विगत केही दशकदेखि यसको खेती गर्ने गरिएको छ । जलवायुको हिसाबले तुषारो नपर्ने, तातो र आद्र्रता बढी भएको जलवायुमा यसको खेतीका लागि उपयुक्त मानिन्छ । साथै यो खुला ठाउँ वा अर्ध छायाँ दुवै तथा उष्ण प्रदेशीय हावापनी भएको ठाउँमा राम्रोसँग सप्रन्छ । नेपालमा तराई र भित्रीमधेश यसको खेतीका लागि उपयुक्त स्थान हो । सर्लाही, महोत्तरी, रौतहट, बारा आदि जिल्लामा यसको खेती विस्तार भएको पाइन्छ ।
सर्पगन्धा प्रायः सबै प्रकारको माटोमा हुन सक्ने क्षमता भएको बिरुवा हो । तर, यसको खेतीका लागि वर्षात्को पानी सोसिएर जान सक्ने, कडा पत्थर नभएको, बाढी नआउने र दलदल नहुने ठाउँ उपयुक्त हुन्छ ।
सर्पगन्धा खेती गर्दा जमीनमा सोझै बीउ छरेर गरिएको खेती सफल नहुने भएकाले बीउबाट बेर्ना तयार गरी बिरुवा सार्नु उपयुक्त मानिन्छ । हिउँद र सुक्खा याममा माटोको अवस्था हेरी कम्तीमा महीनामा दुईपटकसम्म सिँचाइ गर्नुपर्छ । बिरुवा रोपिसकेपछि यसलाई स्याहार सम्भार तथा आवश्यक गोडमेलको पनि आवश्यकता पर्छ ।
सर्पगन्धा व्यापारिक रूपमा बोक्रासहितको जरा प्रयोग गरिन्छ । मानसिक उत्तेजना कम गर्न, उच्च रक्तचाप कम गर्न, निन्द्रा लगाउन, ज्वरो कम गर्न, सुत्केरीका बेलामा हुने पीडा कम गर्न, मृगी/छारेरोग हटाउन, सर्प–बिच्छीको टोकाइ, छालाको रोग, अत्यधिक पसिना आउने, चिलाउने आदिको औषधि बनाउन प्रयोग गरिन्छ । सर्पगन्धाको पातबाट निकालिएको रस आँखाको उपचार गर्ने औषधिमा समेत उपयोग हुने गरेको पाइन्छ । नेपालका विभिन्न आयुर्वेदिक औषधालयले सर्पगन्धा जडीबुटीबाट सर्पगन्धाबटी, टेन्सारिन र रेसरपाइन नामक औषधि निर्माण गरी वितरण गरेको पाइन्छ ।
सर्पगन्धाको बाली संकलन भनेको यसको जरा संकलन गर्नु हो । २ देखि ३ वर्षको बीचमा यसको संकलन गरिन्छ । हिउँद महीनामा संकलन गर्नुभन्दा केही दिनअगाडि सिँचाइ गरी जरा संकलन गर्न सजिलो पारिन्छ । जरा संकलन गर्दा जरामा कुनै प्रकारको चोट तथा दाग लाग्न दिनु हुँदैन । जरा खनिसकेपछि सफासित धोई हावामा सुुकाउनुपर्छ । आवश्यक मात्रामा सुकेपछि भण्डार गर्नुपर्छ ।
सर्पगन्धा महत्त्वपूर्ण जडीबुटी भएकाले यसको संरक्षणका लागि नेपाल सरकारले प्रचलित वन ऐन २०४९ र वन नियमावली २०५१ अनुसार यसलाई विनाप्रशोधन देशबाहिर पठाउन प्रतिबन्ध गरेको छ । विश्व संरक्षण संघले यसलाई संकटापन्न प्रजातिमा सूचीकृत गरेको छ ।
तराई तथा चुरेक्षेत्र वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण हो । देशले वनक्षेत्रबाट प्राप्त गर्ने राजस्वको महत्त्वपूर्ण अंश यस क्षेत्रबाट प्राप्त हुन्छ । यद्यपि, यस क्षेत्रबाट प्राप्त हुने आम्दानी र राजस्वको करीब ९९ प्रतिशत भाग काठ, दाउरा तथा खयरको विक्रीवितरणबाट हुने गर्छ । यस क्षेत्रमा पाइने करीब ६५० प्रजातिका गैरकाष्ठ वन पैदावार प्रजातिहरूबाट पर्याप्त सम्भावना भए पनि राष्ट्रले फाइदा लिन सकेको छैन । अतः नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा सर्पगन्धा खेतीको सम्भावना प्रचुर छ । सर्पगन्धा खेतीको सम्भावनालाई योजनाबद्ध तरीकाबाट स्थानीय सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधि कम्पनीमा यसको मागलाई पूर्ति गर्न सके देशमै युवालाई रोजगारीको सृजना गरी देशको आर्थिक समृद्धि चलायमान हुने थियो ।
लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।