काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन तथा बाँडफाँट गरी कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
सर्वसाधारण लगानीकर्तामा यो आईपीओ छिटोमा चैत ३ गतेसम्म निष्कासनमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १२ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । तर आईपीओमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढी रहेकाले पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्था छ । यस कारण कम्पनीको आईपीओ पनि चैत ३ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै अनलाइनमार्फत आवेदन दिन मेरो शेयरलाई प्रयोग गर्न सकिनेछ । कम्पनीको आईपीओलाई निष्कासनसम्बन्धी रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रवर्द्धन गर्ने कार्य २०८० चैतदेखि गर्दै आएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनी सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ४ करोड १३ लाख ६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको हो । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा रहेको छ ।