काठमाडौं । सुनको भाउ आज (मंगलवार) एकैदिन १ हजार ७०० रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ हालसम्मकै उच्च कायम हुँदै १ लाख ३९ हजार २०० मा कारोवार भएको छ ।
यसअघि गत चैत ३० गते १ लाख ३९ हजार रूपैयाँ पुगेको सुनको भाउ सोमवार भने केहि घटेर १ लाख ३७ हजार ७०० मा कारोवार भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज नेपाली बजारमा चाँदीको भाउ १ हजार ७५० कायम भएको छ ।
किन बढिरहेको छ भाउ ?
नेपालमा सुनको मूल्य घटबढ हुनुमा आन्तरिक कारण मात्रै नभइ अन्तरराष्ट्रिय कारणले पनि प्रभाव पार्ने गरेको व्यवसायी बताउँछन् । यसमा भूराजनीति, ट्रेड लगायत कारण रहेको उनीहरूको भनाइ छ ।
अन्तरराष्ट्रिय बजारमा डलरको विश्वसनियता घट्नु, बैंकहरूको ब्याजदरमा कमी, रसिया-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन युद्ध लगायत कारणले सुनको मूल्य बढिरहेको व्यवसायी बताउँछन् ।
निरन्तरको मूल्यवृद्धिले कारोबार घट्यो !
पछिल्लो समय सुनको भाउमा निरन्तरको मूल्यवृद्धिले कारोबार घटेको व्यवसायीको गुनासो छ । सुनचाँदी व्यवसायी पछिल्लो समय सुनको बजार शून्यजस्तै रहेको बताउँछन् । निरन्तर बढेको मूल्यका कारण बजार शून्य भएको उनको भनाइ छ ।