फुङ्लिङ । ताप्लेजुङमा निर्मित १२ मेगावाट क्षमताको सुपर काबेली जलविद्युत् आयोजनाबाट उत्पादन भएको जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको सबस्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिएको हो ।
हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै परीक्षण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार बिहीबारदेखि विद्युत् उत्पादन शुरू भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बाँध, शुरूङ, विद्युत् गृह, प्रसारण लाइन, स्विचयार्ड लगायतका संरचनाको परीक्षणपछि विद्युत् उत्पादन शुरू गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले बिहीबार आयोजना स्थलगत निरीक्षण गर्दै औपचारिक रूपमा विद्युत् उत्पादन शुरू भएको घोषणा गरेको थियो । सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी निर्माण भएको आयोजनाको विद्युत् गृह सिरिजंघा–६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ ।
आयोजनाको निर्माण लागत दुई अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रवद्र्धक हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको छ । २०८९ पुस २५ गते शुरू गरिएको आयोजना ०८१ चैत १० भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित समयभन्दा एक महीना अगावै निर्माण कार्य सम्पन्न गरिएको छ । रासस