काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड १ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३३ दशमलव १२ प्रतिशत कम हो । गत आवमा कम्पनीले रू. ७ करोड ५० लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. १४ करोड ८६ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. १३ करोड ९३ लाखमा सीमित भएको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च रू. ४ करोड ७६ लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४० करोड छ । जगेडामा कम्पनीले रू. ५ करोड ३० लाख सञ्चिति गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव २५ छ ।
कम्पनीले केही समयअगाडि मात्र आईपीओ निष्कासन गरेको हो । शेयर सूचीकरण प्रक्रियामा छ ।