काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये झन्डै आधा जलविद्युत् कम्पनी चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म घाटामा छन् । तैपनि ती कम्पनीको शेयर भने उच्च मूल्यमा कारोबार भइरहेको छ । घाटामा रहेका जलविद्युत् कम्पनीका शेयर मूल्य बिहीवार प्रतिशेयर १४४ रुपैयाँ ८० पैसादेखि ७६८ रुपैयाँ ९० पैसासम्म पुगेको छ । घाटामा रहेको नेशनल हाइड्रोको शेयर यस दिन प्रतिकित्ता १४४ रुपैयाँ ८० पैसा रुपैयाँसम्ममा कारोबार भएको देखिन्छ । घाटामै रहेको शुभम पावरको शेयर बिहीवार ७६८ रुपैयाँ ९० पैसासम्ममा किनबेच भएको देखिन्छ । बाराही हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिशेयर ७२४ रुपैयाँ छ ।
हाल नेप्सेमा सूचीकृत ९१ जलविद्युत् कम्पनीमध्ये ८९ ले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुल कम्पनीमध्ये ४६ ओटा नाफामा र ४३ ओटा घाटामा छन् । २ हाइड्रोपावर कम्पनीले हालसम्म तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
कतिपय नयाँ कम्पनीले विद्युत् विक्री गर्न शुरू गरिसकेका छैनन् भने केहीले गतवर्ष आएको बाढीका कारण विद्युत् विक्रीबाट हुने आम्दानी प्रभावित भएपछि घाटा बेहोर्नुपरेको छ । घाटामै गए पनि अधिकांश कम्पनीको शेयर मूल्य धितोपत्रको दोस्रो बजारमा उच्च छ । उच्च मूल्यमा शेयर किनबेच भइरहेका कम्पनीमा केही विगतदेखि नै घाटामा चलिरहेका र केही पहिलोपटक घाटामा गएका छन् । निरन्तर घाटामा रहेका कम्पनीको शेयर महँगोमा किन्ने लगानीकर्ता फस्न सक्ने विश्लेषक बताउँछन् ।
- घाटामै गए पनि शेयर मूल्य भने उच्च
- घाटामा रहेका जलविद्युत् कम्पनीका शेयर मूल्य बिहीवार प्रतिशेयर १४४ रुपैयाँ ८० पैसादेखि ७६८.९० रुपैयाँसम्ममा कारोबार
वित्तीय अवस्थाभन्दा पनि तत्कालीन नाफा हेरेर लगानी गर्दा घाटामा रहेका कम्पनीको शेयर मूल्यसमेत अस्वाभाविक रूपमा बढेको लगानीकर्ता ताराप्रसाद फुल्लेलको भनाइ छ ।
त्यसपछि कम शेयर संख्या भएका कम्पनीको शेयर मूल्य बढिरहेको उनको भनाइ छ । ‘आफूले चाहेको स्टकमा लगानी गर्न पाउनुपर्छ । यसो भनिरहँदा लगानीकर्ताले पनि आफूले लगानी गर्ने कम्पनीका संस्थापक शेयरधनीलगायत समग्र वित्तीय अवस्था राम्रोसँग केलाएर लगानी गर्नुपर्छ जस्तो लाग्छ,’ फुल्लेलले भने । अर्का लगानीकर्ता राधा पोखरेल अहिले बजारको ट्रेन्ड हेर्दा लगानीकर्ताले नाफामा रहेको भन्दा पनि कम शेयर संख्या भएका कम्पनीको शेयर बढी किनबेच गरिरहेको देखिने बताउँछिन् ।
‘वित्तीय अवस्थाभन्दा पनि बजारमा जुन कम्पनीको शेयरमा बढी आकर्षण छ, त्यही हेरेर लगानी गर्छन्,’ उनले भनिन्, ‘नाफामा रहेका कम्पनी हेर्दा पनि विगत केही वर्षदेखि लाभांश दर घटेको छ । यसबाट पनि राम्रो लाभ लिन सकेका छैनन् । त्यसकारण वित्तीय अवस्थाभन्दा पनि बजारमा जुन कम्पनीको शेयरमा आकर्षण देखिएको छ, लगानीकर्ता त्यतै लाग्छन् ।’
घाटामा रहेका जलविद्युत् कम्पनीमध्ये माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी सबैभन्दा बढी घाटामा छ । चालू वर्षको तेस्रो त्रैमाससम्ममा यो कम्पनीको घाटा १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी छ । यसको शेयर मूल्य प्रतिकित्ता १५८ रुपैयाँ २० पैसा रहेको छ । कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएपछि मूल्य ओरालो लागेको छ । त्यसो त कम्पनी घाटामा हुँदैमा लाभांश दिन सक्दैन भन्ने पनि हुँदैन । कारणवश कुनै वर्ष नोक्सानीमा गए पनि कम्पनीको रिजर्भ राम्रो भए लाभांश दिन सक्छ । दीर्घकालीन रूपमा लाभांशका लागि लगानी गर्ने हो भने विगतमा राम्रो लाभांश दिँदै आएका कम्पनीको शेयर रोज्नु उपयुक्त हुने शेयरबजारका जानकार बताउँछन् । अल्पकालीन लगानी गर्ने हो भने त्यहीअनुसार लगानी रकम र बजारको ट्रेन्ड हेर्नुपर्ने उनीहरूको तर्क छ ।