काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । स्वावलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनार्थ भोलि अर्थात् कात्तिक ९ गते बुक क्लोज गर्दैछन् ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरूले यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते काठमाडौंको भगवतीबहालस्थित लिसरा रिसेप्सन्स्मा २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरूका तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
त्यस्तै, हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई करसहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।