काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म निष्कासन सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरी फागुन ३० गते बाँडफाँट गरिसकेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको एफपीओ धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । कम्पनीको एफपीओ १९ हजार ५७७ जना योग्य आवेदकहरुको हातमा मात्र रहेको छ । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको थियो । १९ हजार ५७७ जना आवेदकहरुमध्ये तीन जना आवेदकले ११ कित्ता र बाँकीले १० कित्ताका दरले एफपीओ प्राप्त गरेका छन् । ११ कित्ता प्राप्त गर्नेले १ हजार १०० र १० कित्ता प्राप्त गर्नेले १ हजार रुपैयाँ लगानी गरेको अवस्थामा दोस्रो बजारमा सूचीकृत पछि भने पहिलो दिनको कारोबारमै हालको मूल्यलाई आधार मान्दा ८ हजार रुपैयाँभन्दा बढी नाफा हुने देखिन्छ ।
कम्पनीको शेयरमूल्य चैत ६ गतेको कारोबारका आधारमा प्रतिकित्ता ९६० रुपैयाँ कायम छ । आईपीओ सूचीकरणपछिको मूल्य वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा निर्धारण हुने व्यवस्था रहेपनि एफपीओ कारोबारको मूल्य भने सम्बन्धित कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम मूल्यलाईनै आधार बनाईनेछ । चैत ७ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार अन्तिम १५ मिनेटको कारोबारमा हुने शेयरको अन्तिम भारित औषत कारोबार मूल्यनै अन्तिम मूल्य हुनेछ ।