सिन्धुपाल्चोक । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय निजीक्षेत्रबाट सञ्चालनमा आएको छ । ५ वर्षका लागि यो सुक्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्स प्रालिलाई दिइएको नेपाल इन्टरमोडल यातायात विकास समितिले बताएको छ । समिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्नेसम्बन्धी सम्झौता भएको थियो ।
ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई ५ वर्षमा ११ करोड ७० लाख रुपैयाँ बुझाउनेछ । बन्दरगाह सञ्चालन, सरसफाइ, गोदाम व्यवस्थापन, लोड/अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब सोही कम्पनीले गर्नेछ । निजीक्षेत्रलाई जिम्मेवारी दिएसँगै बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।
‘तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलोपटक निजीक्षेत्रलाई दिइएको हो,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब उक्त भन्सारको काम कारबाही थप व्यवस्थित र सहज हुने विश्वास लिएका छौं ।’
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुक्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो । हस्तान्तरणको ६ महीनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो । २०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको थियो ।
यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिन समितिले गत जेठ ११ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो, जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौं र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन दिएका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।
व्यवस्थापनको जिम्मा पाएको ट्रान्स सिल्क टर्मिनल्स प्रालिका निर्देशक रमेश शेर्पाले सुक्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारी सिल्क कम्पनी एक्लैले लिन सक्ने पनि विराटनगरको ट्रान्स नेपाल जेभीको समेत फर्म राखेर टेन्डर हालेको बताए । आगामी दिनमा कम्पनी ग्लोबल बिजनेसको अवधारणा अनुसार अघि बढ्ने उनको भनाइ छ ।
अब ट्रान्स सिल्कले सुक्खा बन्दरगाहमा कन्टेनर मात्र नभई खुला ट्रकमा सामान ल्याउन पहल गर्नुपर्ने व्यवसायीले बताएका छन् । ‘व्यवसायीको हितलाई ध्यानमा राखेर ट्रान्स सिल्कले काम गर्नुपर्छ,’ नेपाल ट्रक कन्टेनर यातायात व्यवसायी संघका अध्यक्ष तथा बागमती प्रदेश संयोजक अर्जुनबहादुर सापकोटाले भने ।