काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले करीब ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि निजीक्षेत्रको सहभागिता खोजेको छ ।
कम्पनीेले सोमवार सार्वजनिक सूचना निकाल्दै उक्त प्रसारण लाइन निर्माणका लागि माथिल्लो अरुण नदी र सहायक नदी कोरिडोरमा विद्युत् उत्पादनको प्रक्रियामा रहेका र हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गर्ने योजनामा रहेका विद्युत् उत्पादक आयोजनालाई साझेदारीमा संलग्न हुन आग्रह गरी आशयपत्र मागेको छ । उक्त विद्युत् प्रसारण लाइन निर्माणका लागि स्वपूँजी लगानीसहित साझेदारीमा संलग्न हुन इच्छुक भएमा १५ दिनभित्र आशयपत्र पेश गर्न भनिएको छ ।
यो कम्पनीले सार्वजनिक–निजी साझेदारीमा बनाउन लागेको यो तेस्रो प्रसारण लाइन हो । कम्पनीले तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन सार्वजनिक–निजी लगानीमा निर्माण गर्न यसअघि नै प्रक्रिया अघि बढाइसकेको छ ।
हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माण र सञ्चालनमा विविधीकरण गर्ने उद्देश्यले निजी प्रवद्र्धकसँग सहकार्य गर्न लागेको कम्पनीको भनाइ छ । यस प्रसारण लाइनबाट १०६१ मेगावाटको माथिल्लो अरुण, ४५४ मेगावाटको किमाथांका अरुण, ४९० मेगावाटको अरुण–४ लगायत आयोजनाबाट करीब २ हजार २६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आउन मद्दत पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार यसअघि आशयपत्र मागिएका आयोजनाकै मोडलमा निजी साझेदारीमार्फत यो प्रसारण लाइन निर्माण गरिनेछ । शुरुआती चरणमा सार्वजनिक–निजी साझेदारीमार्फत विकास गरी आवश्यकताअनुरूप पूर्ण निजी लगानीमा समेत निर्माण र सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
करीब ३५ किलोमीटर लामो र ९८ ओटा टावर रहने यस प्रसारण लाइनमा ३०० एमभीएको हाइटार र ६३० एमभीएको शीतलपाटी सबस्टेशन निर्माण हुनेछ । प्रसारण लाइन संखुवासभाको मकालु गाउँपालिका–४ मा ४००/१३२ केभी हाइटार सबस्टेशनदेखि चिचिला गाउँपालिका हुँदै खाँदबारी नगरपालिका–१० मा बनाउन लागिएको ४००/२२० केभी शीतलपाटी सबस्टेशनसम्म निर्माण गरिनेछ ।
गत पुुस २ मा निजीक्षेत्रको सहभागिता रहने गरी सार्वजनिक–निजी लगानीमार्फत निर्माण, सञ्चालन र हस्तान्तरण (बीओटी) मोडलमा तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्ने घोषणा भएको थियो । यसमा लगानी गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजीक्षेत्रका पाँचओटा जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीबीच सम्झौता भइसकेको छ । दोस्रोेपटक पुस १८ मा कम्पनीले लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन पनि सोही मोडलमा निर्माण गर्न इच्छुक कम्पनीहरूसँग आशयपत्र माग गरेको थियो ।
विद्युत् प्रसारण लाइन निर्माणमा पहिलोपटक निजीक्षेत्रको प्रवेश शुरू भए पनि लगानीकर्ताको मुख्य आयस्रोतका रूपमा रहेको ह्वीलिङ चार्ज कति हुने भन्ने निर्णय नहुँदा निजीक्षेत्रको लगानी कसरी उठ्छ भन्नेमा अन्योल देखिएको छ । तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइनमा लगानी गर्न अघि सर्ने निजीक्षेत्रका प्रतिनिधि कृष्ण आचार्यले हालै आर्थिक अभियानलाई ह्वीलिङ चार्ज नतोकिएको अवस्थामा आम्दानी के कसरी हुन्छ भन्ने प्रश्न रहेको बताएका थिए । तर, ऊर्जा मन्त्रालयसँगको छलफलका आधारमा सरकारले गर्छ भन्ने विश्वास भएकाले लगानीकर्ता उक्त परियोजनामा लगानी गर्न तयार भएको उनको भनाइ थियो ।