काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा तेस्रो त्रैमाससम्ममा रू. १९ करोड ४० लाख रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ६७ करोड २४ लाख रहेको छ ।
त्यस्तै कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवमा ९९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २३ करोड २४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १२ लाख ५५ हजारमा झरेको छ ।
चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफा घटेको छ । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.८ करोड ४५ लाख रहेकोमा चालू आवमा बढेर रू. ११ करोड ७१ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ९३ दशमलव ४७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.३३ करोड ४३ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड १८ लाखमा झरेको हो ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव ९१ प्रतिशत रहेकोमा चालू आवमा बढेर १३ दशमलव ५३ प्रतिशत पुगेको छ । चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ८६ करोड ८० लाख र रिटेन्ड अर्निङमा रू. १९ करोड ४० लाख सञ्चिती गरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेकोमा चालू आवमा १० पैसामा झरेको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१६१ दशमलव ०६ रहेको छ ।