तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ ओटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन ओटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ । शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ ।
उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु १२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो । जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा दुई सय ४५ मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् ५० घरधुरी लाभान्वित भएका केसीले बताए ।
बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ । स्थानीय देवीखोलाबाट एक हजार आठ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस ओटा धारा निर्माण गरिएको उनको भनाइ छ । कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा दुई ट्याङ्की र साठी ओटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र २० धारा मात्रै निर्माण गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उनले बताए । इन्जिनियर श्रेष्ठका अनुसार व्यास–६ स्थित अम्रेनी काफ्ले फाँटमा तीन सय ४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ । उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले रु २० लाखको लागतमा पक्की कुलो निर्माण गरिएको उनको भनाइ छ ।
म्याग्दे–७ स्थित बिर्ता कुलो सिँचाइ योजनाअन्र्तगत एक सय ९० मिटर लामो कुलो रु १० लाखमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उनले जानकारी दिए । भीमाद–८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए ।
उनका अनुसार भीमाद–२ स्थित मैदीखोला कुडुल्नेमा रु १० लाखमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन् । उक्त तटबन्ध करिब ४० मिटर लामो छ । “व्यास–११ मा एक सय मिटरको पक्की बाँध रु १० लाखमा निर्माण गरिएको छ । उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्”, उनले भने । निर्माणधीन अवस्थामा रहेका एक सय योजनामध्ये चालु आवमा ६० ओटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए ।