कोरोना महामारीबाट त्रस्त विश्व अहिले फेरि ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) फैलने त्रासमा छ । यद्यपि कोरोनाजस्तो यो महामारी रूपमा फैलिसकेको छैन । नेपालमा यस्तो भाइरस नदेखिए पनि दुई छिमेकी मुलुकमा देखापरेको र खासगरी दक्षिणी सीमा खुला भएकाले सहज मानव आवागमनका कारण भाइरस संक्रमण पनि फैलने सम्भावना भएकाले नेपालमा यो भाइरस आउँछ कि भन्ने आशंका गरिएको छ । अहिले भारतका केही प्रान्तमा यो देखिएको छ र जम्मा ७ जनामा यो संक्रमण पुष्टि भएको छ । तर, चीनमा यो व्यापक फैलिएको समाचार आएको छ । चीनले यस बारेमा आधिकारिक जानकारी दिएको पनि छैन । त्यसो हुँदा यो संक्रमण कति छिटो फैलन्छ भन्ने सही जानकारी प्राप्त भएको छैन । यस्तोमा नेपालले केही कुरामा ध्यान दिनु भने जरुरी छ ।
कुनै बेला देखापरेका भाइरस हराउने भन्ने हुँदैन । कोरोना भाइरस नै अहिले नष्ट भएको होइन । यसले मानिसलाई असर पार्न कम गरेको हो । खासमा भन्ने हो भने मानिसमा त्यो भाइरस लड्ने क्षमता विकास भएर त्यो भाइरसको महामारी मत्थर भएको देखिएको हो । एचएमपीभी पनि नयाँ भाइरस होइन । यो भाइरस डच अनुसन्धाताहरूले सन् २००१ मा नै पत्ता लगाएका हुन् । र, अहिले यसको संक्रमण बढ्न थालेको मात्रै हो । यो कोरोना भाइरसजत्तिकै छिटो फैलन्छ कि भन्ने आशंका रहेको छ यद्यपि यसको अस्तित्व २ दशकदेखि नै रहिआएको पाइन्छ । अहिले चीनका केही प्रान्तमा कोरोना महामारीकै जस्तो अवस्था रहेको बताइन्छ । यसमा पनि रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या आउँछन् । यसबाट साना केटाकेटी बढी जोखिममा पर्ने बताइएको छ । यो भाइरस जाडोयाममा बढी फैलिन्छ । जसको रोगविरुद्ध लड्ने प्रतिरोध क्षमता कमजोर हुन्छ त्यसलाई यसले बढी असर गर्छ । यो कोरोना महामारीजस्तो महामारी हुने र असर पार्ने खालको नहुने भनाइ पनि छ । यो कतिको भयावह हो भन्ने कुरा चीनले पारदर्शी तरीकाले नभनेकाले बढी त्रास भएको हो । मंकीपक्स पनि त्रास फैलाइयो तर त्यो त्यस्तो भयावह रहेनछ । यो पनि त्यस्तै हुन सक्छ ।
जेजस्तो भए पनि विभिन्न देशका सरकारले जनतालाई स्वास्थ्यसम्बन्धी सुझाव दिँदै यसबारे सावधानी अपनाउन सूचना जारी गरेको पाइन्छ । कोरोनामा झैं यसमा पनि हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, शारीरिक दूरी कायम गर्नेजस्ता विधि नै यसमा पनि आवश्यक देखिन्छ । नेपालको सरकारले यसबारे पर्याप्त जानकारी र सूचना दिएको छैन । यस्तोमा विदेशका समाचारले जनतामा त्रास फैलनु स्वाभाविक हो । नेपालले पनि स्वास्थ्य सूचना जारी गरेर जनतालाई सुसूचित पार्न आवश्यक देखिन्छ ।
एचएमपीभी पनि संक्रामक रोग भएकाले कोरोना कालमा सरकारले जोहो गरेका साधन र संयन्त्रहरू केकस्ता छन् भनेर सरकारले हेर्नु उपयुक्त हुन्छ । यो महामारीका रूपमा फैलिइहाल्यो भने त्यसका लागि सावधानी अपनाउन आवश्यक छ । नेपालले केही पूर्वतयारी पनि गर्नुपर्छ । एचएमपीभी भित्रिए पनि नभित्रिए पनि सरकारले यस्ता महामारीसँग जुध्न पूर्वतयारी गरेरै बस्नुपर्ने हुन्छ । समस्या आइसकेपछि आत्तिनु भनेको आगो लागेपछि कुवा खन्ने प्रवृत्ति जस्तो हो । २ वर्षमुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई यसले सबैभन्दा बढी असर गर्छ । नेपालमा सन् २०१४ मा पनि रुघाखोकी लागेर जाँच गर्न अस्पताल आएका करीब ५ प्रतिशत शिशुमा यो भाइरसको संक्रमण देखिएको थियो । अहिले यसका लागि छुट्टै जाँच गर्ने व्यवस्था सरकारले गरेको छैन । चीन र भारतमा फैलिएको भाइरस पुरानै हो भने त्यो त्यति धेरै जोखिमपूर्ण हुँदैन भन्ने विज्ञहरूको भनाइ छ । तर, म्युटेसन भएर संक्रमण फैलिएको हो भने त्यसले ठूलो स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । चीन र भारतले पनि यस सम्बन्धमा स्पष्ट पारेको देखिँदैन ।
कोरोना महामारी स्वास्थ्य समस्या भए पनि त्यसले मुलुकको अर्थतन्त्रलाई निकै ठूलो समस्यामा पार्यो । नेपाल अझै त्यस समस्याबाट मुक्त हुन सकेको छैन । यस्तोमा यो भाइरस फैलिए अर्थतन्त्र झनै समस्यामा पर्न सक्छ । त्यही भएर हरेक अवस्थाका लागि नेपाल तयार रहनुपर्छ र सावधानी अपनाउनुपर्छ ।