ऊर्जा मन्त्रालयद्वारा गठित समितिले ‘त्रिशुली ३ ए’को क्षमता नबढाउने आसयको सुझाव दिएको छ । उक्त आयोजना तोकिएको समयमा सम्पन्न नहुने सम्भावना रहेको भन्दै समितिले यस्तो सुझाव दिएको हो । ‘आयोजनाको लागत र समय बढाउन नहुने सुझाव आएको छ’, ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले बताए । क्षमता बढाउने हो भने निर्धारित समय र लागतमा निर्माण सम्पन्न हुँदैन । उक्त आयोजनाको क्षमता वृद्धि गर्न हुने र नहुनेबारे विवाद बढेपछि मन्त्रालयले एकमहीनाअघि सुझाव समिति गठन गरेको थियो । ६० मेगावाट क्षमताको सो आयोजनाको क्षमता वृद्धि गरी ९० पुर्याउने तयारी मन्त्रालयले गरेको थियो ।
समितिले अर्थ मन्त्रालय तथा आयोजनाको मुख्य लगानीकर्ता चाइनाको एक्जिम बैङ्कलगायतसँग छलफल गरी आयोजनाको क्षमता वृद्धि गर्न सकिने विकल्प पनि दिएको छ । सरकारले ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
यसअघि गठन भएको समितिले क्षमता बढाउँदा ४ करोड ४५ लाख ९० हजार अमेरिकी डलर लागत बढ्ने, १४ करोड ८२ लाख युनिट थप बिजुली उत्पादन हुने तर आयोजना निर्माण ३ वर्ष पर धकेलिने प्रतिवेदन बुझाएको थियो ।
वर्ष ८, अंक ६८, सोमवार १० मङ्सिर, २०६९