काठमाडौं। युनिलिभर नेपाल लिमिटेडको ३१औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले शेयर सदस्यलाई प्रतिशेयर १ हजार ७१४ रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गरेको छ, जुन हालसम्मकै उच्च लाभांश दर भएको बताइएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष देव बाजपेयीले कम्पनीलाई हालको स्थितिमा पुर्याउन शेयरधनीको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे । अध्यक्ष बाजपेयीले कम्पनीको हालको कार्यसम्पादन, कठिन कार्यसम्पादन वातावरणमा बढ्दो चुनौती सामना गर्दै सही रणनीतिका साथ लक्ष्य हासिल गरिरहेको बताए ।
अध्यक्ष बाजपेयीले उच्च दिगोपनका मापदण्ड कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले शेयरधनी, लगानी विश्लेषक र सञ्चालकबाट आएका व्यवसायको कार्यसम्पादन र आगामी आर्थिक वर्षका कार्य योजनाका विषयमा आएका प्रश्नको जवाफ दिएका थिए । सो अवसरमा चार वर्षदेखि अध्यक्ष रहेको बाजपेयी सेवानिवृत्त भएको जानकारी गराइएको थियो । कम्पनीका एमडी तथा प्रमुख कार्यकारी अधिकृत अमलान मुखर्जीले अध्यक्ष बाजपेयीले कम्पनीमा पुर्याएको उच्च योगदानको प्रशंसा गरेका थिए ।