काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ३ दिनमा ६६ अर्ब रुपैयाँभन्दा बढी रकम बजारबाट उठाएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत मंगलवार, बुधवार र बिहीवार गरी उक्त तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंकले १४ दिन अवधिका लागि मंगलबार २० अर्ब, बुधवार र बिहीवार ३०/३० अर्ब गरी कुल ८० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि निक्षेप संकलन बोलकबोल गरेको थियो । त्यसमध्ये मंगलवार र बुधवार लक्ष्यअनुसार नै निक्षेप उठाए पनि बिहीवार भने १६ अर्ब ३० करोड रुपैयाँ मात्र संकलन गरेको छ । बैंकहरूले मंगलवार ३२ अर्ब ३० करोड र बुधवार ३१ अर्ब ८० करोड रुपैयाँ निक्षेपका लागि बोलकबोल गरेका थिए ।
बिहीवार भने १७ अर्ब ४० करोड मात्र बोलकबोल परेको राष्ट्र बैंकले बताएको छ । यस्तै मंगलवार ३ दशमलव शून्य २ प्रतिशत औसत ब्याजदर कायम भएकोमा बुधवार ३ दशमलव शून्य ३ र बिहीवार ३ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको छ ।
चालू आर्थिक वर्ष (आव) मा बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि अधिक तरलता देखिँदै आएको छ । यसले गर्दा अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिरयता निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । बिहीवारसम्ममा राष्ट्र बैंकले ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।
राष्ट्र बैंकका अनुसार मंगलवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६१ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
मंगलवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ४ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ६ खर्बभन्दा बढी कर्जा विस्तारको क्षमता छ । यस्तै मंगलवार दैनिक औसत अन्तरबैंक ब्याजदर पनि २ दशमलव ९३ प्रतिशत कायम छ । ब्याजदर कोरिडोरको प्रावधानअनुसार यो ब्याजदर न्यूनतम ३ प्रतिशत कायम हुनुपर्छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल निक्षेप र कर्जाको वृद्धिदर असन्तुलित हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बताउँछन् । ‘अहिले कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरूले ब्याजदर घटाउँदै लगेकाले आगामी दिनमा कर्जा प्रवाह वृद्धि भई तरलता व्यवस्थापन हुन्छ ।’
चालू आवमा बैंकहरूले ३ खर्ब ७० अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक गतिविधि चलायमान नहुँदा अपेक्षाकृत कर्जा विस्तार हुने नसकेको प्रतिक्रिया दिए ।