विद्यमान तरलता अवस्थालाई नेपाल राष्ट्र बैङ्कले तत्कालै सम्बोधन गर्नुपर्ने नेपाल बैंकर्स सङ्घका अध्यक्ष एवं सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताएका छन् । आइतवार आर्थिक अभियान दैनिकसँगको विशेष कुराकानीमा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।
अहिले बैङ्किङ प्रणालीमा तरलता सङ्कटको अवस्था आइनसके पनि त्यसको सङ्केत देखिएकाले तत्कालै समाधान गर्नुपर्ने उनको तर्क थियो । तरलता सङ्कट भइसकेपछि समाधानको प्रयास गर्नुभन्दा त्यो अवस्था आउनै नदिनु उचित हुने उनले बताए । ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेस भएजस्तै तरलता सङ्कट आउनुअघि नै रोकथाम गर्नु बुद्धिमानी हुन्छ,’ भण्डारीले भने । अहिलेको तरलता अवस्थालाई सहज बनाउन नेपाल बैंकर्स सङ्घले राष्ट्र बैङ्कसमक्ष सरकारी ऋणपत्रको धितोमा ‘रिपो’ नगद उपलब्ध गराउन आग्रह गरेको पनि भण्डारीले जानकारी दिए ।
वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९