तथ्यांक संसारको सबैभन्दा मूल्यवान् निधिका रूपमा रहेको छ । व्यक्तिगत र सार्वजनिक दुवैतर्फ विवेचना, निष्कर्ष र पथप्रदर्शनमा तथ्यांकको परम् भूमिका रहने हुँदा तथ्यांक संकलन, भण्डारण र उपयोगका विश्वभरि ठूलो लगानी हुने गरेको छ । सरकारी निकाय, गैरसरकारी निकाय, अनुसन्धान केन्द्र, विश्वविद्यालयहरू, सूचनाप्रविधि कम्पनीहरू, तथा व्यक्तिहरू तथ्यांकसम्बन्धी उपर्युक्त क्रियाकलापहरूमा अहोरात्र सक्रिय रहेका छन् । चाहे ती सार्वजनिक क्षेत्रका हुन् या निजीक्षेत्रका नै किन नहुन्, हरेक क्षेत्रका नीति र रणनीतिहरू तर्जुमा गर्न तथ्यांक नै अग्रस्थानमा रहने गरेको छ । यही तथ्यांक नै वर्तमान कृत्रिम मेधा (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रमुख आधारका रूपमा रहेको छ । मन र दिशाहरू पनि वस्तु हुन् र यसलाई पनि पत्ता लगाउन सकिन्छ भन्ने सिद्धान्तलाई पश्चिमी आधुनिक संसारले समेत स्वीकार गर्दै प्रविधि कम्पनीहरू यस क्षेत्रमा आफ्नो साधनस्रोत उपयोग गरिरहेका छन् । यस अवस्थामा तथ्यांकको प्रयोग अझ सर्वव्यापी बन्न जाने निश्चित छ ।
नेपालको सन्दर्भमा चर्चा गर्दा तथ्यांकलाई सैद्धान्तिक रूपमा यसको महत्त्वलाई नीतिगत रूपमा स्वीकार गरिएको छ । संघमा सचिवको नेतृत्वमा केन्द्रीय तथ्यांक कार्यालय तथ्यांकको संकलन, भण्डारण, सम्प्रेषण र नियमन गर्ने नियमनकारी निकायका रूपमा समेत रहेको छ । नेपाल सरकारको निजामती प्रशासनमा तथ्यांकशास्त्रीहरूको जनशक्ति आपूर्ति पनि यस केन्द्रमार्फत नै हुने गरेको छ ।
संघीय मन्त्रालयहरूमा तथ्यांक सेवातर्फका उपसचिवस्तरको कर्मचारीको नेतृत्वमा अलग्गै शाखाहरूको व्यवस्था गरिएको छ । तथ्यांकसँग प्रत्यक्ष संलग्न रहनुपर्ने भन्सार विभागलगायतका विभागहरूमा पनि उपसचिवको नेतृत्वमा तथ्यांक शाखाको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंक त देशको तथ्यांक उत्पादनको प्रमुख स्रोतकेन्द्रका रूपमा रहेको छ । नेपालको वैदेशिक व्यापार तथ्यांकमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको ख्याति आफ्नै खालको र विशेष रहेको छ । आवधिक तथ्यांकलाई विभिन्न कोणबाट तालिकीकरण गरी निजीक्षेत्र, नेपाल सरकार र प्राज्ञिक जगत्लाई केन्द्रले प्रदान गर्ने मागमा आधारित तथ्यांक सम्प्रेषण सेवाले सेवाग्राहीलाई वैदेशिक व्यापारको पहुँचमा सहजता महसूस भएको छ । उपर्युक्त आधारमा हेर्दा नेपालमा तीनओटा निकायले गर्ने तथ्यांक सम्प्रेषण गतिविधिको यहाँ उल्लेख गर्नु सामयिक देखिन्छ ।
भन्सार विभाग
नेपालको वैदेशिक व्यापारको स्रोतका रूपमा भन्सार विभाग रहेको छ । आसिकुडा प्रणालीमा भण्डारित भन्सार विभागको वैदेशिक व्यापार तथ्यांक (वस्तु) नेपालको एक विस्तृत र बहुआयामिक तत्त्वयुक्त तथ्यांकका रूपमा रहेको छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको भन्सार विभागको तथ्यांक सम्प्रेषण गर्न अंगीकार गरेको नीति र उक्त नीतिको सफल कार्यान्वयन नै हो । भन्सार विभागले हरेक महीनाको ७ गते भन्सार विभागको वेबसाइटमा नेपालको वैदेशिक व्यापार तथ्यांक अपलोड गर्ने गरेको छ । तथ्यांकलाई सकेसम्म ग्राहकमैत्री बनाउन यी तथ्यांकहरूलाई विभिन्न शीर्षकमा वर्गीकृत गरी एक्सेल सीटमा नै उपलब्ध गराउने गरिएको छ । नेपालको वैदेशिक व्यापार तथ्यांकलाई पहिलो एक्सेल सीटमा विगत र वर्तमान अवधिको तुलनात्मक विवरणसहित सारांश सीट राखिएको हुन्छ ।
सम्पूर्ण सरकारी निकायहरूले आफूसँग रहेको तथ्यांक सम्बद्ध जनशक्तिको उपयोग गरी आफूअन्तर्गतका तथ्यांकहरू नियमित रूपमा संकलन गरी मासिक रूपमा वेबपेजमा एक्सेलसिटमा डाउनलोड गर्न मिल्ने गरी प्रकाशन गर्न जरुरी छ ।
यो सीट हेर्दासाथ सम्बद्ध महीनासम्मको वैदेशिक व्यापारको झलक एक दृष्टिमा देखिन्छ । तत्पश्चात्को लगत्तैको अर्को सीटमा नेपालको वैदेशिक व्यापारको देशगत सन्तुलनको तथ्यांक राखिएको हुन्छ । यो तथ्यांकमा सम्बद्ध देशको वर्णानुक्रममा आयात निर्यात र व्यापार सन्तुलनको तथ्यांक राखिएको हुन्छ । तत्पश्चात् ८ अंकको एचएस वर्गीकरणअनुसार वस्तुको वर्णन, देश, एकाइ परिमाण, आयात मूल्य र आयात राजस्वसहितको तथ्यांक उपलब्ध हुन्छ । केवल वस्तुगत तथ्यांकमात्र चाहिने भएमा सँगैको अर्को एक्सेल सीटमा ८ अंकको एचएस वर्गीकरणअनुसार वस्तुको वर्णन, एकाइ परिमाण, आयात मूल्य र आयात राजस्वसहितको तथ्यांक उपलब्ध हुन्छ ।
तत्पश्चात्को अर्को एक्सेल सीटमा आठ अंकको एचएस वर्गीकरणअनुसार वस्तुको वर्णन, देश, एकाइ परिमाण, मूल्य र निर्यात मूल्यसहितको तथ्यांक उपलब्ध हुन्छ । तत्पश्चात्को अर्को एक्सेल सीटमा आठ अंकको एचएस वर्गीकरणअनुसार वस्तुको वर्णन, एकाइ परिमाण, मूल्य र निर्यात मूल्यसहितको तथ्यांक उपलब्ध हुन्छ । भन्सारगत आयातनिर्यातको तथ्यांक आवश्यक परेको खण्डमा अर्को एक्सेल सीटमा भन्सारगत रूपमा आयातनिर्यात र सन्तुलनको तथ्यांकको व्यवस्था गरिएको छ । यत्तिमात्रै होइन, विगतका तथ्यांकहरू आवश्यक भएको खण्डमा मासिक रूपमा र वार्षिक रूपमा उपर्युक्त विशेषतायुक्त तथ्यांकहरू एक्सेल सीटहरूमा भण्डारणमा रूपमा रहेका छन् जो सजिलै डाउनलोड गरेर उपयोग गर्न सकिन्छ ।
यसका अतिरिक्त आयातकर्ता, निर्यातकर्ता, प्राज्ञिक जगत् र अन्य सरकारी निकायहरूलाई मागमा आधारमा भन्सार विभागले अतिरिक्त सेवा प्रदान गर्दै आएको छ । यस्तो प्रकारको तथ्यांक सम्प्रेषण विश्वमै एक उदाहरणका रूपमा रहेको छ । तथ्यांक सम्प्रेषणमा ग्राहकमैत्री सहज पहुँचमा भन्सार विभागको तथ्यांक शाखा र विशेष गरी त्यहाँ कार्यरत प्राविधिक जनशक्तिको उत्साह, उत्सुकता र सहयोगी भावना अन्य नेपाली सरकारी निकायहरूका तथ्यांक शाखाहरूका लागि पनि उदाहरणीय छ ।
नेपाल राष्ट्र बैंक
मासिक रूपमा देशको समग्र अर्थतन्त्रको चित्रण हुने गरी नेपाल राष्ट्र बैंकले ६० ओटा शीर्षकमा एक्सल सीटमा तथ्यांक प्रकाशन गर्ने गर्छ ।अर्थतन्त्रका व्यष्टिगत सूचकांकहरू, राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक, नेपाल र भारतको तुलनात्मक राष्ट्रिय उपभोक्ता मूल्यस्फीति सूचकांक, राष्ट्रिय थोक मूल्य सूचकांक, राष्ट्रिय तलब तथा ज्याला सूचकांकजस्ता मूल्य सूचकांकसम्बन्धी तथ्यांकहरू नेपाल राष्ट्र बंैकले मासिक रूपमा प्रकाशित गर्दै आएको छ ।
यस्तै बाह्य क्षेत्रअन्तर्गत नेपालको वैदेशिक व्यापारको दिशा, प्रमुख निर्यातित वस्तुहरू, भारतमा निर्यात हुने प्रमुख वस्तुहरू, चीनमा निर्यात हुने प्रमुख वस्तुहरू, अन्य देशमा निर्यात हुने प्रमुख वस्तुहरू तथा प्रमुख आयातित वस्तुहरू, भारतबाट आयात हुने प्रमुख वस्तुहरू, चीनबाट आयात हुने प्रमुख वस्तुहरू, अन्य देशबाट आयात हुने प्रमुख वस्तुहरूको तथ्यांक पनि नेपाल राष्ट्र बैंकले मासिक रूपमा प्रकाशित गर्दै आएको छ ।
देशको आयातनिर्यातको गुणस्तर मापन गर्ने आधारमा रहेको बृहत् आर्थिक वर्गीकरणको आधारमा नेपालको सम्पूर्ण निर्यात र आयातलाई तीन भागमा (कच्चापदार्थ, क्यापिटल गुड्स र अन्तिम तयारी मालवस्तु) वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले तथ्यांक प्रशासन गर्ने गरेको छ । भन्सारगत वैदेशिक व्यापारको तथ्यांक पनि यही खण्डअन्तर्गत उपलब्ध हुन्छ । भारतबाट परिवत्र्य विदेशी मुद्राबाट हुने आयात, निर्यातआयातको मूल्य सूचकांकजस्ता टम्र्स अफ टे्रडसम्बन्धी तथ्यांकहरू पनि नियमित रूपमा नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने गरेको छ ।
भन्सार विभागले हरेक महीनाको ७ गते आफ्नो वेबसाइटमा नेपालको वैदेशिक व्यापार तथ्यांक अपलोड गर्ने गरेको छ । तथ्यांकलाई सकेसम्म ग्राहकमैत्री बनाउन यी तथ्यांकहरूलाई विभिन्न शीर्षकमा वर्गीकृत गरी एक्सेल सिटमा नै उपलब्ध गराउने गरिएको छ ।
यसै गरी मासिक पर्यटक आगम र वैदेशिक रोजगारमा जाने नेपालीको विवरण यस खण्डमा उपलब्ध छ । मुलुकको समग्र अर्थतन्त्रको स्वस्थता मापन गर्ने भुक्तानी सन्तुलनसम्बन्धी तथ्यांक पनि नेपाल राष्ट्र बैंकले मासिक रूपमा प्रकाशित गर्ने गरेको छ । सेवा व्यापार, विदेशी लगानी, वैदेशिक ऋणलगायत तथ्यांक यस खण्डमा उपलब्ध हुन्छन् ।
तत्पश्चात् बैंकिङ क्षेत्रका तथ्यांकहरूको खण्डमा यस क्षेत्रसँग सम्बद्ध तथ्यांक उपलब्ध छन् । सरकारी वित्तसम्बन्धी तथ्यांक पनि नियमित रूपमा नेपाल राष्ट्र बैंकले मासिक रूपमा उपलब्ध गराउँदै आएको छ । यसरी नियमित रूपमा अनुमानयोग्य समयमा यति धेरै शीर्षकमा तथ्यांकहरू सहज माध्यमबाट उपलब्ध हुँदा मुलुकको समग्र अर्थतन्त्रको विश्लेषण गर्न सहज भएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
नेपालको वैदेशिक व्यापार तथ्यांकको अर्को प्रमुख स्रोतका रूपमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र रहेको छ । केन्द्रले २०२७ सालदेखि नेपालको व्यापार तथ्यांक प्रकाशन गर्दै आएको छ । यसैगरी नेपालको वैदेशिक व्यापारको सारांश झल्किने गरी प्रमुख निर्यात, प्रमुख आयात, प्रमुख निर्यात गन्तव्य र प्रमुख आयात स्रोत मुलुकहरूको तुलनात्मक विश्लेषणसहितको तथ्यांक पनि केन्द्रले मासिक रूपमा एक्सेल सीटमा प्रकाशन गर्दै आएको छ ।
यस्तै अनलाइन सर्च इन्जिनका माध्यमबाट नेपालको वैदेशिक व्यापारको वस्तुगत र देशगत तथ्यांक प्राप्त गर्ने सुविधा पनि केन्द्रले उपलब्ध गराउँदै आएको छ । उपर्युक्त क्षेत्रका टाइमसेरिज तथ्यांकहरू पनि उपलब्ध छन् । नेपालको वैदेशिक व्यापार तथ्यांकको विशिष्ट खालको भण्डारका रूपमा केन्द्रको तथ्यांकको आफ्नै विशेषता रहेको छ । मागमा आधारित तथ्यांक सेवा उपलब्ध गराउने क्षेत्रमा केन्द्रको आफ्नै परम्परागत ख्याति रहेको छ ।
यी तीनओटा निकायहरूको तथ्यांक उत्पादन, संकलन, वर्गीकरण, भण्डारण र नियमित प्रकाशनको अभ्यासले नेपाल सरकारका अन्य निकायहरूले पनि अनुसरण गर्न जरुरी छ । क्षेत्रगत तथ्यांकहरू जस्तै वनसम्बन्धी, भूमिसम्बन्धी, कृषिसम्बन्धी, सडक, भवन, पर्यटनसम्बन्धी, स्वास्थ्यसम्बन्धी, अध्यागमनसम्बन्धी तथ्यांकहरू पनि मासिक रूपमा निश्चित दिनमा प्रकाशित हुने व्यवस्था हुनासाथ यी तथ्यांकले सम्बद्ध क्षेत्रको गहन विश्लेषण गर्न मद्दत मिल्ने निश्चित छ । यसरी सम्पूर्ण सरकारी निकायहरूले आफूसँग रहेको तथ्यांक सम्बद्ध जनशक्तिको उपयोग गरी आफूअन्तर्गतका तथ्यांकहरू नियमित रूपमा संकलन गरी मासिक रूपमा वेबपेजमा एक्सेलसिटमा डाउनलोड गर्न मिल्ने गरी प्रकाशन गर्न जरुरी छ । यी कार्यहरू संघीय निकायहरूले मात्र नभई प्रदेश र स्थानीय तहले पनि सम्पादन गर्नु आवश्यक देखिन्छ । यसरी संघ, प्रदेश र स्थानीय तह तीनओटै निकायहरूमा समन्वयात्मक रूपले मासिक रूपमा क्षेत्रगत तथ्यांकहरू वेबपेजमा प्रकाशित हुन थाल्दासाथ नेपालको आर्थिक क्षेत्रको समग्र चित्रण मासिक रूपमा प्राप्त हुने र देशको वर्तमान आर्थिक अवस्था, प्रवृत्ति र भविष्यको आकलनसमेत हुन जाने देखिन्छ । हरेक अनुष्ठान ‘श्री गणेशाय नम:’ बाट आरम्भ भएझैं देश सञ्चालन नामक अनुष्ठानको आरम्भ पनि श्री गणेशरूपी तथ्यांकबाट हुने गर्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।