काठमाडौं । गत साता १ दशमलव ६८ प्रतिशत बढेको नेप्से परिसूचक यो साता १ दशमलव ६४ प्रतिशत घटेको छ । नेप्सेको वृद्धि एक साताभन्दा बढी टिक्न नसकेको तथ्याङ्कले देखाउँछ ।
गत साताको तुलनामा नेप्से परिसूचक यो साता ३२ दशमलव ७३ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ९९८ दशमलव ९६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ९६६ दशमलव २३ विन्दुमा झरेको हो ।
यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन २४ दशमलव ५८ अंक र दोस्रो कारोबार दिन १५ दशमलव ६२ अंक घटेको नेप्से तेस्रो कारोबार दिन भने २ दशमलव शून्य ६ अंक बढेको थियो । चौथो कारोबार दिन शून्य दशमलव २१ अंक घटेको नेप्से पाँचौं अर्थात् अन्तिम कारोबार दिन ५ दशमलव ६३ अंक बढेर बन्द भएको छ ।
नेपाल धितोपत्र बोर्डले आगामी जेठ १ गतेदेखि लागू हुने गरी अहिलेको ब्रोकर कमिसन १० प्रतिशत घटाएर लागू गर्ने निर्णय गरेको छ । वैशाख २३ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले हालको ब्रोकर कमिसनको अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गरी लागू गर्ने निर्णय गरेको हो ।
ब्रोकर कमिसन घटाउने निर्णयसँगै लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिए पनि सोअनुरूप हुन नसकेको ब्रोकर बताउँछन् । चार महीनाभन्दा बढी अवधिदेखि बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।
बजारलाई चलायमान बनाउन आवश्यक काम बोर्डमा नै अड्किएको अवस्थामा ब्रोकर कमिसन घटेर मात्र बजारमा लगानीको माहोल नबन्ने लगानीकर्ता बताउँछन् । लामो समयदेखिको आफ्ना माग सम्बोधन गरी ब्रोकर कमिसन घटाएकोमा अर्थमन्त्रालयसँगै बोर्डलाई समेत धन्यवादको पात्र बनाएका लगानीकर्ता अर्थमन्त्रालयले प्राथमिकताका आधारमा काम अघि बढाउनुपर्ने तर्क गर्छन् ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अर्थमन्त्रीकै निर्देशनमा रोकिएको हल्लाकाबीच लगानीकर्ताले उक्त कार्यलाई छिटो टुङ्ग्याउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
यो साता बजार मापन गर्ने महत्त्वपूर्ण सबै सूचक घटेका छन् । ठुला कम्पनीको मात्र धितोपत्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ५३ प्रतिशत घटेको छ भने कारोबार रकम शून्य दशमलव ५५ प्रतिशत र कारोबार कित्ता २ दशमलव ३० प्रतिशत कम भएको छ । गत साता चार कारोबार दिन र यो साता पाँच कारोबार दिन बजार खुला भएको हो ।
गत साताको तुलनामा यो साता कारोबार दिन बढे पनि कारोबार रकम र कित्ता कम भएको हो । गत साता चार कारोबार दिनमा १४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५५ लाख ५५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँभन्दा बढीको ३ करोड ४७ लाख ३८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता कारोबार रकम ७ करोड ९५ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता ८ लाख १७ हजारभन्दा कम कारोबार भएको छ । औसतमा कारोबार रकम ७ करोड ४४ लाख रुपैयाँभन्दा कम भएको छ ।
गत साता औसतमा ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता औसतमा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको हो । औसत कारोबार कित्ता भने गत साता ८८ लाख ८८ हजारभन्दा बढी रहेकोमा यो साता ६९ लाख ४७ हजारभन्दा बढी रहेको हो ।
बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य ५१ अर्ब ९० करोड ५० लाख रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६९ अर्ब ६० करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब ७० करोड २१ लाख रुपैयाँ कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
यो साता दुई समूहगत परिसूचक मात्र बढेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार होटल तथा पर्यटन समूहको ४ दशमलव ४१ प्रतिशत र लघुवित्तको २ दशमलव ५९ प्रतिशत परिसूचक बढेको हो । यीबाहेक बाँकी समूहको परिसूचक भने यो साता घटेको छ ।
यो साता उत्पादन तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३७ प्रतिशत घटेको छ । म्युचुअल फण्डको भने सबैभन्दा कम शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै निर्जीवन बीमाको १ दशमलव १३ प्रतिशत, वित्तको १ दशमलव ३३ प्रतिशत, विकास बैंकको १ दशमलव ५० प्रतिशत, बैंकिङको १ दशमलव ६१ प्रतिशत, व्यापारिकको २ दशमलव १४ प्रतिशत, जलविद्युतको २ दशमलव २५ प्रतिशत, लगानीको २ दशमलव ६८ प्रतिशत, अन्यको २ दशमलव ९२ प्रतिशत र जीवन बीमाको ३ दशमलव २९ प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
यतिबेला सूचीकृत कम्पनीहरूले तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तीनै अपरिस्कृत वित्तीय विवरणलाई आधार बनाएर यतिबेला धितोपत्र बजारका लगानीकर्ताले खरीद धारणा बनाइरहेको बुझिन्छ । होटल तथा पर्यटन क्षेत्रमा पर्यटनको आगमन बढेसँगै व्यावसायिक प्रगति राम्रै रहेको देखिन्छ । यसर्थ पनि लगानीकर्ता यो क्षेत्रतर्फ आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।