अर्थमन्त्री वर्षमान पुनले ट्रेड युनियन राजनीति अनावश्यक रहेको र यदि राजनीति गर्ने हो भने व्यावसायिक संस्थाहरूभन्दा बाहिर आएर गर्नुपर्ने बताएका छन् । एनेकपा माओवादीका स्थायी समिति सदस्यसमेत रहेका अर्थमन्त्री पुनलाई वास्तवमै ट्रेड युनियन राजनीति अनावश्यक लागेको हो भने त्यो निकै सकारात्मक विषय हो । किनभने, पछिल्लो समय ट्रेड युनियनका नाममा बन्दहडताल गराउने तथा औद्योगिक व्यावसायिक वातावरण बिगार्ने माओवादीसम्बद्ध ट्रेड युनियन नै हुन् । तर, अर्थमन्त्रीले भनेजस्तै राजनीति कि त सडकमा हुन्छ, कि त सत्तामा हुन्छ । एउटा व्यावसायिक संस्थाभित्र पार्टीगत राजनीति कुनै हालतमा पनि सह्य हुँदैन । तर, एमाओवादी पार्टीसम्बद्ध ट्रेड युनियनहरूले चाहिँ राजनीति गर्न पाउने अन्यले नपाउने मनसायका साथ मन्त्रीले त्यस्तो अभिव्यक्ति दिएका हुन् भने त्यो सकारात्मक होइन । साँच्चै मन्त्री ट्रेड युनियनमा हुने पार्टीगत राजनीतिको विपक्षमा छन् भने उनले वाणिज्य बैंकभित्र भएको उनको पार्टीसम्बद्ध ट्रेड युनियनलाई भंग गरी उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । त्यसो भयो भने भोलिका दिनमा अन्य पार्टीका भ्रातृसंगठनका रूपमा रहेका ट्रेड युनियनहरूलाई भंग गर्न पनि नैतिक आधार तयार हुन्छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले दिएको आधिकारिक ट्रेड युनियनको अधिकारलाई मात्रै सही रूपमा उपयोग गरिने हो भने पनि मुलुकमा विद्यमान श्रम समस्या धेरै हदसम्म कम भएर जानेछ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १२८, शुक्रवार, १२ माघ, २०६९