हामी हाम्रो दैनिक जीवनमा सूर्य, दराज, गोर्खा, एप्पलजस्ता ब्रान्डसँग निरन्तर रूपमा संलग्न र अन्तरक्रिया गरिरहेका हुन्छौं । यी शब्दको शाब्दिक अर्थ सामान्य रूपमा क्रमश: सूर्य, दराज, गोर्खा सैनिक र फल भए तापनि उपभोक्ताको मनमा यी ब्रान्डले आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेका छन् । उपभोक्ताहरूले यिनलाई शब्दका रूपमा नभई एउटा ब्रान्डका रूपमा लिन्छन् र तिनीहरूको उत्पादन र सेवाहरूको माध्यमबाट आर्जित विशिष्ट पहिचानका रूपमा बुझ्ने गरेका छन् ।
उदाहरणका लागि जब कसैले ‘सूर्य देऊ’ भन्छन् भने यसले सूर्यलाई संकेत नगरी उक्त ब्रान्डअन्तर्गतको चुरोटलाई जनाइएको बुझिन्छ । त्यस्तै, ‘दराज’ भन्दा अनलाइन किनमेल प्लेटफर्म, ‘गोर्खा’ भन्दा स्वादयुक्त बियर र ‘एप्पल’लाई मोबाइल, ल्यापटप आदि आधुनिक प्रविधिको प्रतीकका रूपमा बुझिन्छ । यसरी, यी सामान्य शब्दहरूले समयक्रममा विशिष्ट ट्रेडमार्कका रूपमा आफ्नो प्रतिष्ठा कायम गर्दै नेपाली तथा अन्तरराष्ट्रिय बजारमा एक सुपरिचित ट्रेडमार्कका रूपमा पहिचान कायम गर्न सफल भएका छन् ।
ट्रेडमार्क भन्नाले कुनै शब्द, चिह्न, प्रतीक, डिजाइन, वा यिनका संयोजनलाई जनाउँछ, जसले विशेषतया कुनै व्यवसायका वस्तु वा सेवाहरूलाई तिनीहरूको व्यावसायिक पहिचानसँग प्रत्यक्ष रूपमा सम्बन्ध स्थापित गर्छ । यसको प्रमुख उद्देश्य भनेको प्रतिस्पर्धीहरूको वस्तु वा सेवाहरूभन्दा आफूलाई स्पष्ट रूपमा फरक देखाउनु र उपभोक्ताले ती उत्पादन वा सेवाहरूलाई सम्बद्ध व्यवसायको स्रोतका रूपमा चिन्ने अवस्था सृजना गर्नु हो ।
बौद्धिक सम्पत्ति कानूनअन्तर्गत, ट्रेडमार्कको दायरा र योग्यतासम्बन्धी विशिष्ट मापदण्डहरू अवलम्बन गरिएको छ । तीमध्ये एक महत्त्वपूर्ण मापदण्ड ट्रेडमार्कको चिह्न केवल विशेषणात्मक हुनु हुँदैन भन्ने हो ।
विशेषणात्मक शब्द भन्नाले कुनै शब्दले वस्तु वा सेवाको विशेषता प्रत्यक्ष रूपमा वर्णन गर्दै उक्त शब्दको अर्थसँग अनिवार्य तादात्म्य राख्ने शब्दलाई जनाउँछ । उदाहरणका लागि, यदि कुनै वस्तु जस्तै गलैंचा, फर्निचर, चुरोट वा फलफूलको व्यापार गरिन्छ भने त्यस्ता वस्तुहरूको प्रत्यक्ष रूपले गुण, प्रकार वा विशेषता जनाउने ब्रान्ड नामहरू जस्तै ‘नरम गलैंचा’, ‘गुणस्तरीय फर्निचर’जस्ता शब्द ट्रेडमार्कको रूपमा प्रयोग गर्न सकिँदैन । यस्ता शब्द विशेषणात्मक शब्दको श्रेणीमा पर्छन् र तिनलाई कानूनी रूपमा ट्रेडमार्कको रूपमा संरक्षण प्राप्त गर्न सक्दैन ।
दोस्रो मापदण्ड भनेको ट्रेडमार्क अन्तर्निहित रूपमा विशिष्ट हुनुपर्छ । अर्थात्, उक्त चिह्न बजारमा उपलब्ध अरू चिह्नहरूसँग तुलनात्मक दृष्टिले पर्याप्त रूपमा अद्वितीय र सृजनात्मक हुनु आवश्यक छ जसले उक्त चिह्नलाई बजारमा अन्यबाट स्पष्ट रूपमा अलग देखाउँछ । उत्पादनसँग प्रत्यक्ष तादात्म्य रहेको सामान्य वा प्रचलित शब्द जस्तै कुनै प्रविधि ब्रान्डका लागि ‘कम्प्युटर’ नामक ट्रेडमार्क संरक्षण प्राप्त गर्न योग्य हुँदैन ।
त्यसैले, कुनै शब्द र उत्पादन बीचको सम्बन्ध प्रत्यक्ष रूपमा नहुनु अनिवार्य छ । चिह्नहरूले ब्रान्डसँग बलियो र विशिष्ट सम्बन्ध सृजना गरेको हुनुपर्छ । जस्तै इलेक्ट्रोनिक्सका लागि ‘एप्पल’, जुत्ता उत्पादनका लागि ‘गोल्डस्टार’ र स्टीलका लागि ‘जगदम्बा’ जस्ता विशिष्ट ट्रेडमार्कहरू उत्पादनको स्वभावसँग अप्रत्यक्ष रूपमा सम्बद्ध हुन्छन् ।
यी शब्दको साधारण अर्थ अर्कै हुन्छ तर तिनले फरक प्रकारका विभिन्न ब्रान्डहरूलाई चिनाउँछन् । यस्तो प्रयोजनका लागि प्रयोग गरिएको अवस्थामा उक्त शब्द, त्यस शब्दको अर्थ र उक्त शब्द प्रयोग गरिएको ट्रेडमार्कले इंगित गर्ने उत्पादनबीच कुनै पनि तादात्म्य नरहेकाले ती शब्दहरू ट्रेडमार्कको रूपमा दर्ता गर्न योग्य छन् ।
अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि ट्रेडमार्क भ्रामक हुनु हुँदैन, न त यो कुनै विद्यमान ट्रेडमार्कसँग झुक्याउने गरी मिल्दोजुल्दो नै हुन सक्छ । यसको अर्थ त्यो चिह्नले उत्पादनको प्रकृति, गुणस्तर, उत्पत्ति वा विशेषताहरूको बारेमा उपभोक्ताहरूलाई भ्रमित गर्नु हुँदैन । कुनै वस्तु वा सेवाको उत्पादनको स्रोतको बारेमा भ्रम सृजना हुने गरी कुनै पूर्ववर्ती ट्रेडमार्कसँग समानता राख्नु हुँदैन । उदाहरणका लागि, गहना वास्तविक सुनबाट बनेको छ भन्ने अर्थ लाग्ने भएकाले सिन्थेटिक गहना बेच्ने ब्रान्डले ‘शुद्ध सुन’ नाम प्रयोग गर्न मिल्दैन ।
त्यस्तै गरी, यदि कुनै नयाँ कम्पनीले इलेक्ट्रोनिक्स बेच्न ‘सामसङ’सँग भ्रामक रूपमा मिल्दोजुल्दो हुनेगरी ‘सामसिन’ नाम राखी व्यवसाय सञ्चालन गर्न पाइँदैन । यसो गरेमा यसले उपभोक्ताहरूमाझ भ्रम पैदा गर्न सक्दछ । थप, कुनै नयाँ पेय पदार्थ कम्पनीले ‘कोकाकोला’ मा केही प्रत्यय थप गरी ‘कोका–कोला रिफ्रेस’ जस्तो ब्रान्ड नाम प्रयोग गर्दा उपभोक्ताहरूलाई यो सुपरिचित ‘कोकाकोला’ ब्रान्डसँग जोडिएर भ्रमित पार्न सक्छ । तसर्थ, भ्रामक रूपमा सुपरिचित, मिल्दोजुल्दो ट्रेडमार्कहरूको प्रयोग गरी उपभोक्ताहरू झुक्याउन नदिन र सुपरिचित ब्रान्डहरूको प्रतिष्ठालाई सुरक्षित गर्न कानूनी व्यवस्था गरिएका छन् ।
माथिका मापदण्डहरूका आधारमा कुनै सामान्य वा प्रचलित शब्दहरूले निश्चित मापदण्ड पूरा गरेमा त्यसलाई ट्रेडमार्कको रूपमा दर्ता गर्न सकिन्छ । बजारमा उक्त शब्दको प्रयोगको अवधि, बजार उपस्थिति, विज्ञापन प्रयाशहरू र विक्री प्रदर्शनका आधारमा सामान्य शब्दलाई ट्रेडमार्कको रूपमा दर्ता गर्न मिल्ने हो, होइन भनी यकीन गर्न सकिन्छ । यी तत्त्वहरूले समयसँगै सो शब्दलाई अद्वितीय अर्थ प्रदान गर्दै विशिष्ट विशेषता प्रदान गर्दछ । त्यसपश्चात् उपभोक्ताले त्यस शब्दलाई केवल वर्णनात्मक वा सामान्य शब्दका रूपमा देख्नुको सट्टा उत्पादनसँग सम्बद्ध गर्दै ब्रान्डको पहिचान गर्न थाल्छन् ।
यसरी साधारण नै भए तापनि कुनै शब्दले त्यसको प्रारम्भिक अर्थभन्दा पनि उत्पादन एवं कम्पनीको ब्रान्ड र ट्रेडमार्कसँग सम्बद्ध हुने गरी अर्को अर्थ वहन गरेमा त्यस्ता शब्दलाई ट्रेडमार्कको रूपमा दर्ता गर्न मिल्छ । त्यसैगरी साधारण शब्द नै भए तापनि दुई वा बढी साधारण शब्दको सम्मिश्रण गरी उत्पादनसँग कुनै तादात्म्य नरहने गरी छुट्टै विशिष्ट नामको सृजना गरेमा उक्त नामकरण गरिएका शब्दहरू समेत दर्ता हुन योग्य हुने गर्छन् ।
तसर्थ साधारण शब्दहरूलाई ट्रेडमार्कको रूपमा दर्ता गर्ने प्रक्रिया कानूनी रूपमा जटिल र चुनौतीपूर्ण हुन्छ तर पर्याप्त विशिष्टता प्राप्त भएको र विशिष्ट सन्दर्भमा प्रयोग गरिएको अवस्थामा कानूनी रूपमा दर्ता सम्भव छ । सामान्य वा प्रचलित शब्दले लामो समयको प्रयोग, बजार उपस्थिति, विज्ञापन र विक्रीको माध्यमबाट विशिष्ट चरित्र प्राप्त गरेमा ट्रेडमार्क दर्ता गर्न सकिन्छ । साथै, साधारण शब्दले उपभोक्ताको मानसपटलमा विशिष्ट पहिचान स्थापित गराई साधारण शब्दलाई केवल सामान्य अर्थमा मात्र सीमित नराखी एक विशिष्ट उत्पादन वा सेवासँग जोडिएको पहिचान दिन सक्षम भएमा उक्त शब्दले ट्रेडमार्कको रूप धारण गर्न सक्छ ।
यस प्रकार, नेपाललगायत अन्तरराष्ट्रिय स्तरमा साधारण शब्दलाई ट्रेडमार्कको रूपमा दर्ता गर्दा त्यसको विशिष्टता, प्रयोगको सन्दर्भ र सार्वजनिक मान्यताका महत्त्वपूर्ण पक्षहरूको गहन मूल्याङ्कन र अध्ययन आवश्यक देखिन्छ ।
ब्रान्डको शुरुआत, लगानी वा प्रचारप्रसार अघि सबै ब्रान्डिङका पक्षहरूलाई सावधानीपूर्वक मूल्याङ्कन गर्नु अत्यावश्यक हुन्छ । यो प्रक्रिया विशेष गरी नेपालमा जहाँ कानूनी सुरक्षा केवल दर्ता गरिएको ट्रेडमार्कलाई मात्र प्रदान गरिन्छ त्यहाँ बढी महत्त्वपूर्ण हुन्छ । सामान्य शब्दहरू समावेश भए तापनि दर्ता गरिएको ट्रेडमार्कले ब्रान्डलाई उल्लङ्घन, भ्रामक प्रस्तुतीकरण र भ्रमबाट सुरक्षा प्रदान गरी व्यापारको प्रतिष्ठा र लगानीको सुरक्षा सुनिश्चित गर्छ ।
मल्ल एएम लिगल सर्भिसका संस्थापक हुन् भने कटुवाल एनडीएम कोरपोरेट सोलुशन्सका जुनियर लिगल एशोसिएट हुन् ।