काठमाडौं। स्वा टुर एन्ड ट्राभल कम्पनीले जनवरी, फेब्रुअरी र मार्चसम्म ल्याउन खोजेका विदेशी पर्यटकले नेपाल आउने योजनामा पुनर्विचार गर्न थालेको बताएको छ । ‘यी ३ महीना मासिक ४० देखि ५० जना आउने निश्चित भएको थियो,’ कम्पनीका प्रबन्ध निर्देशक जिस्वन तुलाधारले आर्थिक अभियानसँग भनिन्, ‘हवाई भाडा बढेसँगै उनीहरू सबैजसोले नेपाल आउने योजनामा पुनर्विचार गरेका छन् ।’
उनका अनुसार नेपाल आउने सुनिश्चित गरिसकेका पर्यटकले समेत भ्रमण योजनामा पुनर्विचार गरेका छन् । यसको मुख्य कारण हवाई टिकट महँगो हुनु रहेको उनले बताइन् । नोभेम्बरभित्रै आउने पर्यटकले टिकट खरीद गरिसकेको हुँदा आफ्नो कम्पनीले यो महीना भने पर्यटक गुमाउनु नपरेको उनको भनाइ छ । शुक्रवारबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम थालिएसँगै उक्त विमानस्थलमा हुने अन्तरराष्ट्रिय उडान करीब ३० प्रतिशतले कटौती भएको छ । स्तरोन्नति मार्चसम्म चल्ने भएकाले उडान कटौती पनि मार्चसम्मै कायम रहनेछ । हवाई टिकटको मागभन्दा आपूर्ति घटेकाले भाडा बढेको वायुसेवा सञ्चालकहरूले बताएका छन् ।
तुलाधरका अनुसार विदेश घुम्न जाने योजनामा रहेका नेपालीले पनि हवाई भाडा बढेसँगै योजना स्थगित गरेका छन् । तुलाधरले नेपालबाट दुबई, थाइल्यान्ड, भियतनामलगायत गन्तव्यमा जानेले बुकिङ रद्द गरिसकेको बताइन् । पर्यटन व्यवसायीहरू समूहमा आउने विदेशीले लामो समयअघि नै प्याकेज खरीद गरिसक्ने भएकाले हालसम्म उनीहरूको आगमनमा असर नपरेको तर अब प्याकेज खरीद गर्नेको हकमा हवाई भाडाका कारण प्याकेज महँगो पर्ने भएकाले नेपाल आउने योजना स्थगित हुन सक्ने सम्भावना रहेको बताउँछन् ।
‘प्याकेजविना आउने पर्यटकको आगमन भने तत्काल कटौतीमा पर्ने सम्भावना छ किनभने उनीहरूले सस्तो हुँदैमा टिकट खरीद गरेका हुँदैनन्,’ होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले भने । उनका अनुसार हवाई भाडा बढेपछि नेपाल आउन चाहने विदेशी पर्यटकले यसमा चासो राखेर सोधखोज गर्न थालेका छन् । ‘नेपाल आउने हवाई भाडा तुलनात्मक रूपमा पहिले नै महँगो हो । त्यसमाथि यसरी भाडा महँगिएपछि नेपाल आउन चाहनेले भ्रमण योजनामा पुनर्विचार गर्नु स्वाभाविक हो,’ शाहले भने ।
ट्राभल एजेन्सीहरूले विभिन्न देश घुम्दा लाग्ने खर्चको प्याकेज तयार पारेका हुन्छन् । नेपाल आउने प्याकेज निकै महँगो हुने देखिएपछि पर्यटक विकर्षित हुन सक्ने पर्यटन व्यवसायीको भनाइ छ । फेरि हवाई उडान नोभेम्बरदेखि नै कटौती गरेकाले शुरूमै टिकट नकाटेका पर्यटकलाई नेपाल आउने टिकट पाउनै गाह्रो परेको पर्यटन व्यवसायीको भनाइ छ । ‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई डिसेम्बरबाट मात्र विमानस्थल स्तरोन्नतिको काम थाल्न अनुरोध गरेका थियौं तर सुनुवाइ भएन,’ शाहले भने ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पनि हवाई भाडा वृद्धिले पर्यटक र वैदेशिक रोजगारीमा जानेलाई असर परेको बताए । ‘पर्यटकको पहिलो चासो नै उडान लागत कति छ भन्ने हुन्छ । बरु गन्तव्यमा आइसकेपछि दोब्बर महँगो भए पनि खर्च गर्न सक्छन्,’ उनले भने, ‘पहिलो कुरा नै हवाई टिकट सस्तो छ कि महँगो छ भन्ने हुन्छ । तुलनात्मक रूपमा नोभेम्बरपछि पर्यटक आगमन कम हुन्छ, तर कममा पनि झनै कम पर्यटक आउने अवस्था सृजना भएको छ ।’