हवाई यातायात क्षमता अभिवृद्धिका लागि विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायतको विस्तारका लागि त्रिभुवन विमानस्थल राति १० घण्टा बन्द भएको छ । यही मौकामा सरकारले भैरहवा विमानस्थलबाट उडान बढाउन खोजिरहेको छ भने वायुसेवा कम्पनीहरूले भाडा बढाउने बहाना पाएका छन् । यही स्वार्थको द्वन्द्वमा सर्वसाधारणले बढी भाडा तिर्नुपरिरहेको छ । यद्यपि सरकारले वायुसेवा कम्पनीहरूलाई बढी भाडा लिएको विषयमा प्रश्न उठाएको छ । एजेन्टलाई एकमुष्ट विक्री गर्ने व्यवस्था खारेज गरेको छ । यसले बिस्तारै हवाई भाडामा भएको अचाक्ली वृद्धिलाई रोक्न सक्छ ।
हवाई भाडा वृद्धिको विवाद
अहिले अन्तरराष्ट्रिय उडान ३५ प्रतिशत कटौती गरिएको छ । यसको सीधा असर पर्यटन क्षेत्रलाई पर्ने देखिएको छ । माग र आपूर्तिले टिकटको मूल्य निर्धारण गर्छ । सामान्यतया टिकटिङका लागि प्रयोग हुने सफ्टवेयरमा एआई प्रयोग हुन्छ जसले माग र आपूर्तिको विश्लेषण गरेर मूल्य तय गर्छ । यस्तोमा अहिले उडान कटौती हुँदा माग बढ्छ र त्यसले भाउ बढाउँछ । तर, सधैं यसरी भाउ निर्धारण हुँदैन । मौकामा चौका हान्ने नियतले वायुसेवा कम्पनीहरूले हवाई मूल्य बढाउँछन् । हवाई मूल्य निर्धारणमा हवाई इन्धनलगायतको खर्च जोड्ने गरिन्छ तर अन्य परिस्थिति हेरेर पनि मूल्यमा घटबढ गरिन्छ । उदाहरणका लागि दिल्ली–काठमाडौं उडानमा नेपालको वायुसेवा नहुँदा भारतीय वायुसेवा कम्पनीले दोब्बर मूल्य लिन्छन् तर जब नेवानिको उडान नियमित हुन्छ तब भाडा घटाउँछन् । यसरी हवाई सेवाको भाडा निर्धारणमा प्रतिस्पर्धा महत्त्वपूर्ण हुन्छ । अहिले उडान कम भएको मौकामा यात्रु संख्या बढी भएकाले यसरी भाडा तेब्बरसम्म बढाइएको बुझ्न सकिन्छ । तर, बिस्तारै भारतको दिल्ली भएर अन्यत्र उडान गर्नेको संख्या बढ्यो भने अहिले बढाएको मूल्य घटाउन वायुसेवा कम्पनी बाध्य हुनेछन् ।
नेपालमा हवाई यात्रुको संख्या बढ्दो छ । ६ महीनाका लागि रातीको उडान बन्द गर्दा अहिले हाहाकारको अवस्था छ । त्यसैले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यो बढ्दो बजारलाई थेग्न नसक्ने स्पष्ट छ ।
सरकारले जेजस्तो निर्णय गरे पनि विभिन्न कामका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । सबै सेवा काठमाडौंमा लिएर उड्नका लागि मात्रै को भैरहवा जान्छ ? सबै सुविधा भैरहवामा पाउने हो भने बिस्तारै यात्रुहरू भैरहवा जान थाल्ने सम्भावना छ ।
सरकारले भैरहवाबाट उडान गर्दा भाउ नबढोस् भनेर वायुसेवा कम्पनीहरूलाई विभिन्न सुविधा दिएको छ । तैपनि धेरै कम्पनी भैरहवा जान रुचाइरहेका छैनन् । नचलेको ठाउँमा गएर सेवा दिन तिनलाई चुनौतीपूर्ण लागेको हुनुपर्छ । तर, अहिले पाँचओटा कम्पनी त्यहाँ उडानका लागि गइसकेका छन् । अब तिनलाई नियमित बनाउन विभिन्न सुविधालाई निरन्तरता दिनु उपयुक्त हुन्छ । यी सबै कुरा हुँदा हुँदै पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले यही बेला किन विस्तारको काम गर्नु परेको हो भनी प्रश्न उठेको छ । एक त पर्यटकीय याम भर्खर शुरू भएको छ । अर्को, दशैंतिहारका लागि धेरै नेपाली नेपाल आएका छन् । तिनीहरू फर्कने बेलामा नै उडान कटौती हुँदा अहिलेको समस्या बढी चर्को देखिएको हो । त्यसैले नागरिक उड्डयन प्राधिकरणसँग अन्य विकल्प थियो कि भन्ने प्रश्न उठेको छ । तर, ठ्याक्कै सही विकल्प भने देखिँदैन ।
पाँच वर्षअघि पनि विमानस्थल सुधार र विस्तारका लागि राति विमानस्थल बन्द थियो । तर, त्यति बेला यस्तो समस्या नआउनु र अहिले आउनुमा पर्यटक आगमनको बढी चहलपहल हुने याम पर्नु नै कारण हो कि भन्ने देखिन्छ । हवाई टिकटको कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि सम्बन्धमा छलफल गरी वायुसेवा कम्पनीहरूले नियमानुसार लिन पाउने भाडा सार्वजनिक गर्न र उक्त मूल्यभन्दा बढीमा टिकट विक्री भएको पाइएमा कारबाहीको दायरामा ल्याउने निर्णयसमेत भइसकेको छ । एकमुष्ट रूपमा टिकट विक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने निर्णय भइसकेको छ, जसका कारण धेरै टिकट होल्ड गर्ने र बजारमा टिकटको अभाव देखाई महँगो मूल्यमा बेच्ने प्रथाको अन्त्य हुने विश्वास लिइएको छ ।
धावनमार्ग विस्तारले खोलेको ढोका
त्रिभुवन विमास्थलको धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । अहिले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको हो । मुलुकको जेठो अन्तरराष्ट्रिय विमानस्थल पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा उक्त विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मीटर कायम गरिएको थियो । त्यतिबेला दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । सामान्यतया धावनमार्गको लम्बाइ ५ हजार मीटर हुन आवश्यक हुन्छ । त्यसो भयो भने ठूला विमान सजिलै उड्न र अवतरण गर्न सक्छन् । यति लामो धावनमार्ग भैरहवा र पोखरा दुवै ठाउँमा छैन । काठमाडौंमा पनि छैन । त्यसैले यसको धावनमार्ग विस्तार गर्न आवश्यक छ । निजगढ विमानस्थल नबनुन्जेल काठमाडौंको विमानस्थललाई सकेसम्म पूर्ण रूपमा उपयोगमा ल्याउने गरी काम गर्नु आवश्यक छ । सबै सुविधा काठमाडौंमा केन्द्रित हुँदा अहिलेसम्मको अभ्यासले पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा जान नमानेका हुन् । अहिलेको बाध्यताले उनीहरूलाई त्यहाँ व्यवसायको सम्भावना देखाउन सक्छ । भित्रिँदा भन्दा बाहिरिँदा सजिलो हुन सक्छ ।
निजगढ विमानस्थलको औचित्य
नेपालमा हवाई यात्रुको संख्या बढ्दो छ । ६ महीनाका लागि रातको समयमा उडान बन्द गर्दा अहिले हाहाकारको अवस्था छ । त्यसैले त्रिभुवन विमानस्थलले यो बढ्दो बजारलाई थेग्न नसक्ने स्पष्ट छ । विमानस्थल बन्द भएको अहिले मात्र होइन । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै ४ महीना अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । त्यति बेला पनि करीब ३० प्रतिशत उडान कटौती भएको थियो । अहिले आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौं विमानस्थलमा आन्तरिकमा दुईतर्फी ३ सयभन्दा बढी र अन्तरराष्ट्रियतर्फ १ सय हाराहारीमा उडान हुने गरेको छ । त्रिभुवन विमानस्थलले यो चापलाई धान्न नसक्ने देखिन्छ । त्यसैले अब निजगढ विमानस्थल निर्माणका लागि तात्ने बेला भइसकेको छ । तराई जोड्ने द्रुतमार्ग केही वर्षमा बनिसक्छ । त्यसो हुँदा निजगढ विमानस्थल बनाउँदा अहिलेको धेरै समस्या कम गर्न सकिन्छ । वार्षिक ३० लाख पर्यटक ल्याउने सपना देखिरहँदा विमानस्थलको विषय मुख्य बन्नुपर्छ भन्ने बिर्सनु हुँदैन ।
तत्कालको आवश्यकताका लागि विस्तार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भौगोलिक अवस्थिति, यसको क्षमता र उपलब्ध सेवासुविधाका हिसाबले यो अहिले नै लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ३ हजार ५० मीटरको धावनमार्ग छ तर त्यो धावनमार्गमा जोड्ने ट्याक्सीवे भने १ हजार ९५० मीटर मात्रै छ । तिनमा पाँचओटा ट्याक्सीवे छन् । विमानहरूले ट्याक्सीवेबाट रनवेमा छिरेर रनवेको केही अंशमैं ट्याक्सी कार्य गरेर रनवेको अन्त्यमा गई मोडेर उडान गर्नुपर्ने अवस्था छ । यसले गर्दा जहाज रनवेमा बस्ने समय अलिक बढी छ । यसलाई सुधार गरेर अहिलेको भन्दा कम समयमा उडान गर्न सकिन्छ । अनुभवी पाइलटहरूका अनुसार काठमाडौंमा न्यारो बडी जहाजका लागि २ मिनेट ३० सेकेन्डदेखि ३ मिनेट र वाइड बडी विमानका लागि ३ देखि ४ मिनेट समय रनवेमा ट्याक्सी गर्न र घुमाउन लाग्ने गरेको छ । एकपटकमा एउटा जहाजले मात्रै रनवे प्रयोग गर्न पाउने नियमका कारण रनवेबाट जतिसक्दो चाँडो विमानहरूलाई निकाल्नुपर्छ जसका कारण अर्को जहाजका लागि उक्त रनवे उपलब्ध गराउन सकियोस् । यसका लागि अहिले गर्न लागिएको निर्माणले ठूलो सहयोग पुर्याउँछ । यसबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई नियन्त्रण क्षमतामा २५ प्रतिशत वृद्धि हुने देखिन्छ । अर्थात् होल्ड र डिलेलगायत समस्या केही कम हुन्छ । विभिन्न पूर्वाधारको विकास र विस्तारबाट पनि उडान संख्यामा उल्लेख्य वृद्धि गर्न सकिन्छ । त्यसैले निजगढ विमानस्थल नबनुन्जेलका लागि यसको क्षमता बढाउने काममा लागिरहनुपर्ने देखिन्छ ।
अफ सिजनमा निर्माण कार्य किन भएन
अहिले सबैभन्दा बढी व्यस्त हुने समयमा नै विमानस्थल किन बन्द गर्नुपरेको भनी धेरैले प्रश्न गरेका छन् । हुन पनि मुख्य पर्यटकीय सिजनमा नै उडान कटौती गर्दा त्यसको प्रत्यक्ष मार नेपालको पर्यटनलाई पर्ने निश्चित छ । वैदेशिक रोजगारमा जानेहरू मर्कामा परेका विषयमा सरकारको ध्यान गएको छ । तर, पर्यटन क्षेत्रमा परेको असरप्रति भने खासै चिन्ता देखिँदैन । कुन समयमा निर्माण कार्य अघि बढाएको भए हुन्थ्यो त ? नेपालमा पर्यटकीय सिजन वर्षको २ पटक गरी झन्डै महीनालाई मान्ने गरिएको छ । शुरुआती चरणमा होस् वा अन्तिम चरणमा पर्यटकीय सिजनलाई यो निर्माणले असर पर्ने देखिन्छ । वर्षाको समयमा निर्माण कार्य गर्न असजिलो हुन्छ र बढी समय लाग्छ । रनवेको निर्माण कार्यलाई सकेसम्म छिटो र गुणस्तरीय बनाउन आवश्यक हुन्छ । एकै विमानस्थलमा एकभन्दा धेरै रनवे उपलब्ध हुँदा यस्ता निर्माण कार्य गर्दा विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आउँदैन । तर, एक मात्र रनवे भएका कारण त्रिभुवन विमानस्थल बन्द नै गर्नुपर्ने अवस्था छ । प्राधिकरणको भनाइमा अन्य समयमा गर्दा पनि यही नै समस्या आउने हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ट्याक्सीवे निर्माण गर्न १० घण्टा विमानस्थल बन्द गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरूलाई पूर्ण जानकारी दिइसकिएको प्राधिकरणको भनाइ छ । पत्रपत्रिकामा पनि यसबारे पर्याप्त समाचार आएको देखिन्छ । यसै अनुसार वायुसेवा कम्पनीहरूले व्यवस्थापन गर्नुपथ्र्यो तर त्यसो नभएको देखिन्छ । विमानस्थल बन्द हुने समयमा उडान तालिका भएका वायुसेवा कम्पनीहरूको उडानलाई विमानस्थल सञ्चालन हुने समयमा समायोजन गर्न किन सकिएन भन्ने प्रश्न पनि छ । विमानस्थलमा रहेको पार्किङवे, टर्मिनलको क्षमता, चेक इन काउन्टरको क्षमता, अध्यागमन तथा भन्सारको क्षमता, सुरक्षा संवेदनशीलता तथा सुरक्षा जाँचको क्षमता समेतलाई आधार मानी कति ओटा जहाजलाई अनुमति दिने भन्ने कुरा स्लट कमिटीले निर्धारण गर्छ । कमिटीले विमानस्थलको उच्चतम प्रयोग हुने गरी स्लट प्रदान गर्दा समेत केही उडान संख्यामा कटौती गर्नुपरेको प्राधिकरणको दाबी रहेको छ ।
विकल्प गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल
गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विभिन्न छूटहरूको व्यवस्थासहितको कार्ययोजना लागू भएको छ । यात्रु सेवा शुल्कमा पूर्ण छूट, ल्यान्डिङ पार्किङ शुल्कमा पूर्ण छूट, ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ७५ प्रतिशत छूट, भ्याटको समायोजन, हवाई इन्धन मूल्यलाई परल मूल्यमा विक्री गर्ने आदि व्यवस्था गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने यात्रुहरूका लागि आवश्यक सुविधाहरू पनि गौतमबुद्ध विमानस्थलमा उपलब्ध गराइएको छ । अहिले जजिरा, फ्लाई दुबई, थाई एयर एशिया, कतार एयरलाइन्स, नेपाल वायुसेवा निगमसमेतले पाँचओटा कम्पनीले त्यहाँबाट उडान गर्न थालेका छन् । यहाँबाट उडान संख्या भविष्यमा बढ्दै जान सक्छ तर त्यसका लागि केही पक्षमा तत्काल ध्यान जानु जरुरी देखिन्छ ।
नयाँ विमानस्थल सञ्चालन गर्नु चुनौतीपूर्ण नै हुन्छ । त्यसमा पनि नेपालजस्तो सबै सेवासुविधा राजधानी काठमाडौंमा नै केन्द्रित मुलुकमा काठमाडौंबाहिर अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन त्यति सहज छैन नै । लुम्बिनीको धार्मिक महत्त्व देखेर गौतमबुद्ध विमानस्थल बनाइएको हो भने पोखरामा पनि पर्यटकीय सम्भावना देखेर नै विमानस्थल बनाइएको हो । तर, ती क्षेत्रबाट पहिला नेपाल वायुसेवा निगमले नै उडान गर्न सक्नुपथ्र्यो, अनिमात्र अरू वायुसेवा कम्पनी जान्थे । व्यापार देखेपछि सबै जान तयार हुन्छन् नै । निगमसँग पर्याप्त विमान नभएकाले उसले यी ठाउँबाट उडान गर्न नसकेको हो ।
गौतम बुद्धमा उडानको निरन्तरतामा आशंका
अहिले सरकारले बाध्य बनाएकाले वायुसेवा कम्पनीहरू भैरहवा गएका हुन् । तर, सिमराबाट नेपाल छिरेर भैरहवा जानु र भैरहवाबाट फेरि काठमाडौं आउनु ज्यादै अव्यावहारिक हुन्छ । लागत पनि बढ्छ । काठमाडौंबाट भैरहवा गएर त्यतैबाट पश्चिमततर्फ उड्ने रूट बनाएको भए बढी व्यावहारिक हुन्थ्यो । त्यस्तै पश्चिमबाट आउने विमानले पश्चिमको कुनै प्रवेश विन्दु पाउने हो भने यो विमानस्थल उपयोगी हुन्थ्यो । त्यसका लागि सरकारले बलियो कूटनीतिक प्रयास गर्न नसकेको देखिन्छ ।
सरकारको निर्णयप्रति वायुसेवा कम्पनीहरूले विश्वास नगरेकै कारण भैरहवामा जान इच्छा नदेखाएका हुन् । विमानस्थल भनेको विमान उड्ने र बस्नेमात्र होइन, त्यहाँ विभिन्न सेवाहरू पनि आवश्यक पर्छ । पासपोर्ट, भिसा, श्रमस्वीकृति, स्वास्थ्य परीक्षण, किनमेलका लागि उपयुक्त बजार आदिको व्यवस्था नभई विमानस्थल चल्दैन । सरकारले जेजस्तो निर्णय गरे पनि यी कामका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । सबै सेवा काठमाडौंमा लिएर उड्नका लागि मात्रै को भैरहवा जान्छ ? सबै सुविधा भैरहवामा पाउने हो भने बिस्तारै यात्रुहरू भैरहवा जान थाल्ने सम्भावना छ । तर, सरकारले आफैले गरेको निर्णयसमेत कार्यान्वयन गरेको छैन । अर्को, नेपालले भारतसँग पश्चिम नेपालबाट जुनसुकै बिन्दुबाट भए पनि नेपाल प्रवेशको मार्ग खुलाउनुपर्छ । यसो नगरेसम्म भैरहवा उपयुक्त विमानस्थल बन्न सक्दैन । पश्चिमबाट छिरेर भैरहवामा बसी त्यहीँबाट पश्चिम हुँदै नेपालबाट बाहिरिन सक्ने अवस्था आउने हो भने लागत कम पर्छ, समय पनि बच्छ । यसो भयो भने वायुसेवा कम्पनीहरूलाई फाइदा हुन्छ र भैरहवा विमानस्थलले राम्रो व्यवसाय पाउँछ ।
अहिले जेजस्तो परिस्थितिमा त्रिभुवन विमानस्थलमा ट्याक्सीवे विस्तार भइरहेको छ त्यसले केही विवाद र समस्या सृजना गरेको छ । यो स्वाभाविक पनि हो । तर, यसको विस्तारको काम नगरी नभएको पनि साँचो हो । यसले केही सयम भाडावृद्धिको समस्या देखाए पनि बिस्तारै त्यो सहज हुँदै जाला भन्ने अपेक्षा गर्न सकिन्छ । विदेशी वायुसेवाको यस्तो मनपरी रोक्न मुलुकको आफ्नो वायुसेवा बलियो बन्नुपर्छ । यतिबेला नेपाल वायुसेवा निगमले भैरहवाबाटै प्रशस्त उडान गरेर यात्रु तान्न सकेको भए अन्य कम्पनीले यसरी अटेरी गर्न सक्दैनथे । गरे तिनकै व्यापार अंश कट्थ्यो । त्यसैले हवाई सेवा प्रतिस्पर्धी बनाउन मुलुकको आफ्नै वायुसेवा पनि बलियो बनाउन जरुरी छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।