नेपालमा गएको जेठ २८ गतेबाट भाद्र गतेको बीचमा बाढी पहिरोबाट १८२ जनाको मृत्यु भयो । नेपालका त्यस्ता ठाउँमा पहिरोले दुईओटा बसलाई त्रिशूली नदीमा डुबाइदियो । पछिल्लोपटक साउन २२ गतेको भारी वर्षाका कारण यो दिनमा ११ जनाको मृत्यु भयो । केही दिन अगाडि भारतको वायनाड भन्ने ठाउँमा गएको पहिरोमा परेर ४०० बढीको मृत्यु हुनका साथै सयौं अझै बेपत्ता छन् कयौं बेघर भएको अवस्था छ । बितेका केही वर्षहरूमा जुन तरीकाले भारी वर्षा भएको छ यसको मुख्य कारण फ्लाइ रिभर अर्थात उड्ने नदी हो भन्ने गरिन्छ । विश्वको सबैभन्दा ठूलो नदी अमेजन हो । अहिलेको बदलिँदो विश्व जलवायुले गर्दा आकाशमा बादलको तह यस्तो बाक्लो बनेको हुन्छ, त्यसले आकाशमा अमेजन भन्दा २ गुणा ठूलो नदी बन्छ । त्यो वर्षात् भइसकेपछि जमीनमा ज्यादै भयावह विनाश भइरहेको छ ।
२०७१ सालमा सिन्धुपाल्चोकको राम्चेमा पहिरो जाँदा एक झड्कामा १४५ जनाको मृत्यु भएको थियो । यो अतिवर्षा र पहाडको कमजोर धरातलको प्रभाव हो । यस्ता विकराल बाढीपहिरो नेपालमा मात्र आइरहेको छैन, विश्वभरि समस्या देखिएको छ । परन्तु पहाडी इलाकामा यसले बढी धनजनको क्षति गराएको हुन्छ सम्म ठाउँमा भन्दा । यो केवल प्राकृतिक घटना हो वा यसका पछाडि अन्य केही कारण छ । यसको खोजी गर्न वातावरणविद्हरू प्रयास गरिरहेका छन् । यही २०२४ मा दक्षिण अमेरिकामा आएको बाढीले ८३ जनाको मृत्यु भयो र १ लाख २३०० बढीले घर छोडेर भाग्नुपर्यो भने ब्राजिलमा आएको बाढीले डेढ लाख मानिस बेघर भएका थिए । सूर्यको तापक्रम र पृथ्वीको वातावरणीय परिवर्तनले मानव जीवनलाई जुन तीव्रताका साथ असर पारिरहेको छ, त्यसको चपेटामा केबल हामीमात्र छैनौं सबैतिर यस्तो भइरहेको समाचारहरूमा पढ्न देख्न पाइन्छ ।
अत्यधिक उष्णताका साथै एलनिनो र लानिनो असरले गर्दा विश्वभरको जलवायु परिवर्तन हुन्छ । यसैले मुसलधारे वर्षा गराउनाले हाम्रो पहाडमा पहिरो, तराईमा डुबान भएको छ ।
बाढीपहिरोको समस्या शताब्दियौंदेखि मानव जातिले भोग्दै आएको छ । यो पछिल्ला वर्षहरूमा बढी भयावह हुँदै जानुका पछाडि जनसंख्या बढ्नु एउटा कारण हो । उनीहरूका लागि आवासको बढ्दो माग र आवासको बिस्तारसँगै पहाडी जमीनमा पनि सडक बिस्तारको होडले गर्दा बाढी तथा पहिरोकोे समस्या विकराल हुँदै गएको छ । यसरी बाढीपहिरोलाई कम गर्न जमीनमा अन्धाधुन्ध सडक बनाउने हरेक ठाउँमा डोजर लगाउने कामको वातावरण संरक्षणकर्ताले लामो समयदेखि विरोध गर्दै आएका छन् । रूखबिरुवाको संरक्षणमा जोड दिइँदै आएको छ । यी बाढीपहिरोका नजिकबाट नियाल्न सकिने समस्या हुन् जसले मानव ज्यानलाई खतरामा पारेको छ ।
२०३७ साल भदौ २७ गते गुल्मीमा ज्यादै भयावह बाढी आएको थियो जसले जोहाङ र हसराको बीचमा रहेको पानी मिलको नजिक होटेल थापेर बसेका एकै परिवारका तीन लगायत अन्य चारको मृत्यु भएको थियो र मिल पनि बगाएको थियो । त्यतिबेला बाढी आउनुका कारण स्पष्ट थियो । त्यो के भने आरुखर्कमा ठूलो पहिरो गयो जसले जुम्दी खोला थुनियो ।
पछि एक्कासि खोला खुल्यो र ज्यादै ठूलो विनाश भयो । मानवसहित ढाव भन्ने ठाउँको लगभग १००० मुरी धानको खेत समाप्त भयो । यसैगरी २०७८ असार २ गते मेलम्ची खोला थुनिएर एक्कासि खुल्दा मेलम्ची बजार, स्कूल खेत समाप्त भए । यी दुवै घटनाका पछाडि झीनो भए पनि बाढीपहिरोको सन्दर्भमा कारण र असरको सम्बन्ध स्थापित गर्न सकिन्छ । परन्तु अतिवृष्टि किन भइरहेको छ, आकाशमा नै नदी किन बनिरहेको छ ? यसबारे हालका दिनमा ब्राजिल जर्मनीजस्ता देशमा आएको बाढी आदि सबै घटनामा मूलरूपले वातावरण विनाश र जलवायु परिवर्तनलाई मुख्य कारण मानिएको छ ।
त्यसमा उड्ने नदी फ्लाइङ रिभर र एलनिनो प्रभावलाई जिम्मेवार ठहर्याइएको छ । दुवैको कारण जलवायु परिवर्तन र विश्वव्यापी उष्णता हो । उड्ने नदी त्यो अवस्था हो जहाँ आकाशमा बादल एउटै क्षेत्रमा घनीभूत हुन्छ अनि पानी वर्षिन थालेपछि हजारांै वर्षको सूचकाङ्क तोडेर विशेष गरी नदी किनार पहाडमा धनजनको व्यापक क्षति गर्छ । शक्तिशाली क्यामराहरू तथा अन्तरिक्षबाट लिइने तस्वीरमा त्यतिबेला बादलको तह र वर्षा नदी जस्तै देखिन्छ । त्यसको नाम नै उड्ने नदी राखिएको छ ।
धरतीको कुनै ठाउँमा आकाशमै नदी बनेर वर्षात् भई बाढीपहिरोको समस्या हुनु र अर्कोतिर अतिकम वर्षा भएर खानेपानीलगायत खेतीपातीको उब्जनीमा गिरावट आई भोकमरीको अवस्था आउनुको पछाडिको मुख्य कारण जलवायु परिवर्तन हो ।
यसबाहेक समस्याको दोसो पक्ष पनि छ जुन जलवायु परिवर्तन, विश्वव्यापी उष्णताका साथै एउटै क्षेत्रमा भइरहेको भारी वर्षालाई पनि लिन सकिन्छ । एकातिर आकाशमै उड्ने नदी बनेर हजारौं बस्ती र जमीनमा बाढी आएको छ भने दक्षिण अफ्रिकाका केही देशमा दशकांैको सबैभन्दा डरलाग्दो सुक्खाको मार परेको छ । त्यहाँ लामो समय पानी नपरेर मानिशहरू खडेरीको मारमा छन् । यो समस्या अस्ट्रेलियामा पनि देखिएको छ जहाँ औसतभन्दा कम वर्षाका कारण वर्षेनि जङ्गलमा भीषण आगलागी भएको खबर पढ्न सुन्न पाइन्छ ।
धरतीको कुनै ठाउँमा आकाशमै नदी बनेर वर्षात् भई बाढीपहिरोको समस्या हुनु र अर्कोतिर अतिकम वर्षा भएर खानेपानीलगायत खेतीपातीको उब्जनीमा गिरावट आई भोकमरीको अवस्था आउनुको पछाडिको मुख्य कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका अनेक कारण छन् जसमा पृथ्वीले सूर्यको चक्कर लगाउँदा कहिले टाढा र कहिले नजिकहुने भूखण्डको तापसम्बन्धी अवस्थिति जलवायु हो । यही जलवायुको असामान्य परिवर्तनले गर्दा पृथ्वीमा अनेक समस्याहरू देखापर्छन् । त्यसमा बाढी, पहिरो, डुबान, अतिवृष्टि, अनावृष्टि, तुफान, असिना, हिमवर्षा, लु आदिको समस्या देखिएको छ ।
जलवायु परिवर्तन अपरिहार्य तत्त्व हो तर उड्ने नदी नै बन्ने गरी हुने अस्वाभाविक जलवायु परिवर्तनमा मुख्य कारणमा विश्वव्यापी उष्णताका साथै एलनिनो प्रभावलाई पनि मान्ने गरिन्छ । मानिसको जीवनको अनेक प्राकृतिक आधारमध्ये समुद्र पनि एक हो । समुद्रको पानी बाफ बनेर नै विश्वका अनेक भागमा वर्षात् हुन्छ । चियादानीमा पकाएको चियाको बाफले त वर्षा सम्भव छैन । प्रशान्त महासागरको पश्चिमी भाग अफ्रिका, अमेरिकाबाट प्रशान्त महासागरीय सतहमा तातोपानीको धार पूर्वतिर बग्छ । यसलाई ३० देखि ४० डिग्री अक्षांशबीचको वायुले सहज तरीकाले पूर्वतिर धकेल्छ र अस्ट्रेलिया भारत नेपाल कोरिया आदि ठाउँमा वर्षात् हुन्छ ।
जब महासागरको तातो धार पूर्व बग्दछ समुद्र तलको चिसो पानी फेरि सतहमा आउँछ । त्यो प्रकृयालाई अपह्विलिङ भनिन्छ । त्यो चिसो पानीमा पोषक तत्त्व पनि हुने भएकाले त्यसले माछालगायत सामुद्रिक जीवलाई खाना पनि लिएर आएको हुन्छ । आजकाल एलनिनो प्रभावले अर्थात् जलवायु परिवर्तनको कारणले त्यो तातो पानी पूर्वतिर बग्न पाएन, चिसोपानी माथि आउन रोकियो जसले गर्दा पश्चिमका केही देश जस्तै अस्ट्रेलियामा वर्षा कम भयो र आगलागीको समस्या बढ्यो । अर्कोतिर अमेरिका र दक्षिण अमेरिकामा तातो पानीबाट बढी वर्षात् भएर विभिन्न शहर बाढीको चपेटामा परे साथै सीफुडको पनि अभाव भयो । यसरी एलनिनोको अनुमानभन्दा बढी प्रभावले पनि उड्ने नदी बनेका छन् । समयको चक्रमा एलनिनोको उल्टो चक्र पनि छ जसलाई लानिना भनिन्छ त्यसले फेरि प्रशान्त महासागरको तातोपानीको धारलाई बढी जोडले पूर्वतिर धकेल्छ अस्ट्रेलियातर्फ भारी वर्षा गराउँछ र दक्षिण अमेरिकामा खडेरी ल्याउँछ । यिनै कुराको प्रभाव विश्वभर पर्छ र नेपाल त्यसबाट अछुतो छैन । एलनिनो र लानिना दुवै स्पेनिश भाषाका शब्द हुन् जसको अर्थ क्रमश: केटा र केटी हो ।
पृथ्वीको भूबनावट र यसको प्रभाव कहाँबाट कसरी प्रभावित भएको छ, यसबारेमा वातावरणविद्हरू खोजी रहेका छन् । हाम्रो देश उड्ने नदीको चपेटामा परेको निश्चित छ तर त्यसको कारण के हो खोजी हुँदै जानुपर्छ । परन्तु यसको मुख्य कारण तीव्र गतिमा हुने जलवायु परिवर्तन हो । अत्यधिक उष्णताका साथै एलनिनो र लानिनो असरले गर्दा विश्वभरको जलवायु परिवर्तन हुन्छ । यसैले मुसलधारे वर्षा गराउनाले हाम्रो पहाडमा पहिरो, तराईमा डुबान भएको छ । यो नेपालको एक्लो समस्या होइन तर पहाडमा पहिरोले गर्दा धेरै मानिसको ज्यान जाने हुँदा सुरक्षित वासस्थानको व्यवस्थापनका लागि देशले केही त सोच्नैपर्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यायन गर्छन् ।