काठमाडौं। उपसभामुख इन्दिरा रानामगरले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रको बचाउ गरेको विषयले संसद्मा प्रवेश पाएको छ ।
कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई पाँच जना व्यक्तिको भिसाको अन्तरवार्ताको समय सारिदिन भन्दै पत्र लेखेको विषयको छानबिन गर्नुपर्ने उनले बताए ।
आइतवारको संसद् बैठकको शुरूमै उनले संसदीय छानबिन हुँदासम्म उपसभामुख राना संसद्बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने माग गरे । ‘संसद्सँग कुनै साइनो नभएको पाँच जना मान्छे अमेरिकी भिसाको अन्तरवार्ताको लागि प्रयोग गरिएको पत्र प्राप्त भयो, यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?,’ उनले भने । उपसभामुख रानाविरुद्ध पदीय दुरुपयोग गरेको भन्दै संसदीय समितिमा उजुरीसमेत
परेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । उजुरीमा रानाले पदको दुरूपयोग गरेर पाँच जनालाई अमेरिका जाने प्रक्रियामा सहजीकरण गरेको भनिएको समिति सभापति खतिवडाले बताए ।
रास्वपाले विज्ञप्ति जारी गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तरवार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिश गर्ने गरेको अभ्यास पाइएको उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने, सांसद सुमना श्रेष्ठले समेत आइतवार सोको बचाउ गर्दै संसद्मा बोलेका थिए ।
संयुक्त राष्ट्रसंघको संयन्त्र कमिशन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो ।
उक्त कार्ययक्रममा भाग लिने क्रममा चार पुरुष र एक महिलालाई अन्तरवार्ताको मिति अगाडि मिलाइदिन सिफारिश गरेको पत्र बाहिरिएको छ । उक्त पत्र उपसभामुखको लेटरप्याडमा छ । सिफारिश लेख्ने क्रममा संसद्को अन्तरराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत गर्नुपर्ने प्रक्रिया पूरा नगरिएको बताइएको छ ।