काठमाडौं । पुराना उद्योगहरू पनि विशेष आर्थिक क्षेत्र (सेज)मा जान पाउने गरी कानून परिवर्तन भएसँगै मुलुकमा स्थापित व्यावसायिक घरानाहरूले सेजमा कारखाना स्थापना गर्न खोजेका छन् ।
यसको शुरुआत व्यावसायिक घराना चौधरी ग्रूप र जुत्ता–चप्पल ब्रान्ड गोल्डस्टारबाट हुन लागेको छ । दुवै लगानीकर्ता भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रमा प्रवेश गर्न लागेका हुन् ।
विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ७ संशोधनले पहिला नै दर्ता भई सञ्चालनमा रहेका पुराना उद्योगहरू पनि सेजमा जान पाउने व्यवस्था गरेपछि चौधरी ग्रूपअन्तर्गतको सिजी फुड्स र किरण सुज म्यानुफ्याक्चरर्स प्रालि क्रमश: सिमरा र भैरहवा सेजमा सर्ने भएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण नेपालले यी दुवै सेजमा उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगी, व्यवसायीसँग प्रस्ताव माग गर्दै सूचना जारी गरेको थियो ।
प्राधिकरणले २०८१ वैशाख ३० गते भैरहवा र सिमरा सेजको ब्लक ‘ए’मा उद्योग स्थापनाका लागि प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा सिमरा ब्लक ‘ए’ ६ प्लट लिएर चौधरी ग्रूपको सिजी फुड्सले चाउचाउ र ब्रोकन चाउचाउ (भुजिया) उत्पादन गर्ने भन्दै आवेदन दिएको छ ।
सिजी फुड्स पहिला नै दर्ता भई सञ्चालनमा आइसकेको उद्योग भएकाले आवेदनपछि ६ महीनामै फ्रयाक्ट्री खोल्ने गरी प्रस्ताव गरेको छ । किरण सुजले पनि ६ महीनामै उत्पादन शुरू गर्ने गरी प्रस्ताव गरेको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुल्सीराम मरासिनीले आवेदन आएकामध्ये पुराना उद्योगहरू पहिला नै दर्ता भई सञ्चालनमा आइसकेको हुँदा उनीहरू सीधै उत्पादनमा जाने जानकारी दिए । सिजी फुड्सको वाईवाई चाउचाउ र किरण सुजको गोल्डस्टार ब्रान्ड उद्योग दर्ता गरेर आइसकेको उनको भनाइ छ ।
वैशाख १६ र १७ गतेको लगानी सम्मेलनलाई लक्षित गरेर लगानीलाई सहजीकरण गर्न सरकारले विभिन्न ऐन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विशेष आर्थिक क्षेत्र ऐन, २०७३ पनि संशोधन गरिएको हो । यसको प्रतिस्थापन विधेयक अहिले संसद्मा दर्ता भएको छ ।
संशोधनअघि विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ७ मा ‘विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न नसकिने’ व्यवस्था गरिएको छ । उक्त दफामा भनिएको छ, ‘यो ऐन लागू हुँदा प्रचलित कानूनबमोजिम अनुमतिपत्र लिई वा दर्ता भई सञ्चालनमा रहेका उद्योगको लगानीकर्ताले त्यस्तो अनुमतिपत्र वा दर्ताको आधारमा सो उद्योग विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने छैन र त्यस्तो लगानीकर्ताले प्रयोगमा ल्याइसकेका मेशिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा प्रयोग वा हस्तान्तरण गर्न सकिने छैन ।’
दफा ७ संशोधन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । संशोधित दफामा भनिएको छ, ‘प्रचलित कानूनबमोजिम दर्ता भई वा अनुमतिपत्र लिई विशेष आर्थिक क्षेत्रबाहिर सञ्चालनमा रहेका उद्योगको लगानीकर्ताले प्रयोगमा ल्याइसकेको मेशिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न सक्नेछन्’ उल्लेख गरिएको छ ।
प्राधिकरणका सब–इन्जिनीयर सागर सिलवालले भैरहवा र सिमरा सेजमा उद्योग लगाउन आवेदन माग गर्दा २६ उद्योगको आवेदन प्राप्त भएको जानकारी दिए । सरकारले ऐन संशोधनबाट गरेको सहजीकरणपछि पहिलोपटक सेजमा उद्योग लगाउन पर्ने आवेदन सबैभन्दा धेरै रहेको बताए । त्यसमा पुराना उद्योग सिजी, गोल्डस्टारसमेत आएकाले सेजमा उद्योग खोल्ने अवस्थामा पनि सुधार हुने देखिएको उनले बताए ।
सिमरा सेजमा सिजी फुड्सले वार्षिक हजार मेट्रिक टन वाईवाई चाउचाउ र १ हजार ५०० मेट्रिक टन ब्रोकन चाउचाउ (भुजिया) उत्पादन गर्ने बताएको छ । सिमरामा सिजी फुड्सले २२ करोड रुपैयाँ लगानी गर्नेछ । त्यसका लागि सिजीले ६ ओटा प्लटका लागि प्रस्ताव गरेको सिलवालले बताए । किरण सुज म्यानुफ्याक्चर्स प्रालिले भैरहवा सेजमा ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले वार्षिक जुत्ता र चप्पल गरेर ९६ लाख जोडी उत्पादन गर्ने गरी उद्योग सञ्चालनको प्रस्ताव गरेको हो । सिलवालका अनुसार दुवै आवेदकले ६ महीनाभित्र उद्योग चलाउने प्रस्ताव गरेका छन् ।
किरण सुजले ७० प्रतिशतबाट ३० प्रतिशतमा झरेको भन्दै भारततर्फको जुत्ता निर्यातको अंश बढाउने लक्ष्यसहित सेजमा आउन आवदेन दिएको छ । पछिल्लो समय भारततर्फको निर्यातमा उल्लेख्य कमी आएसँगै उद्योगले सोही बजारलाई लक्ष्य गरेर सीमानजिक पर्ने भैरहवामा उद्योग सञ्चालनमा ल्याएको थियो ।
प्राधिकरणका अनुसार वैशाख ३० गते माग भएको प्रस्तावमा भैरहवा सेजमा गोल्डस्टारसहित १२ ओटा उद्योगको प्रस्ताव आएको छ । भैरहवा सेजमा उद्योगहरू सञ्चालनका लागि आवेदन दिएका उद्योगको लगानी प्रस्ताव भने ७ अर्ब रुपैयाँ छ । भैरहवा सेजमा गोल्डस्टार सबैभन्दा ठूलो उद्योग हो । उक्त सेजमा अरू उद्योगमा हब्र्स, जडीबुटी र फलाम उत्पादन गर्ने छन् ।
सिमरामा वाईवाईसहित १४ ओटा उद्योगको कुल लगानी प्रस्ताव १२ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जानकारी दियो ।
प्राधिकरणका अनुसार अहिले सञ्चालनमा आइसकेको भैरहवा र सिमरा ‘ए’ ब्लक सेज हुन् । यी दुवै सेजमा गरी १३६ प्लट उद्योग लगाउनका लागि तयारी अवस्थामा छन् । भैरहवा सेजमा तयार भएका ६८ प्लटमध्ये जम्मा पाँचओटा सञ्चालनमा छन् । दुईओटा निर्माणाधीन अवस्थामा छन् । सिमरा सेजमा ११ ओटा प्लट सञ्चालनमा छन् ।