काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड वार्षिक एक अर्बभन्दा बढी युरो आम्दानी गर्ने पहिलो फुटबल क्लब बनेको छ ।
सन् २०२३–२४ को सिजनमा ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको क्लबले वार्षिक १ अर्ब ५० करोड युरो (८८ करोड ३० लाख पाउन्ड) आम्दानी गरेको डेलोइटले जनाएको छ । यससँगै उक्त क्लबले डेलोइटको मनी लिगमा शीर्ष स्थान कायम राखेको छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले उक्त सिजनमा ७० करोड ८० लाख पाउन्ड आम्दानी गरेको छ । उसले लगातार चौथो पटक प्रिमियर लिग, क्लब विश्वकप र युरोपियन सुपर कपको उपाधि जितेको थियो ।
पेरिस सेन्ट जर्मेन (६८१ मिलियन पाउन्ड), म्यानचेस्टर युनाइटेड (६५१ मिलियन पाउन्ड) र बायर्न म्युनिख (६४६ मिलियन पाउन्ड) शीर्ष पाँचमा छन् ।
एस्टन भिल्ला सन् २०११ पछि पहिलो पटक शीर्ष २० मा प्रवेश गरेको छ । आर्सनल, लिभरपुल, टोटेनह्याम, चेल्सी, न्युक्यासल र वेस्ट ह्यामसहित प्रिमियर लिगका नौ क्लब शीर्ष २० मा छन् । प्रिमियर लिगका थप पाँच क्लब शीर्ष ३० मा परेका छन् । क्रिस्टल प्यालेस, एभर्टन, फुलह्याम र वुल्भ्स २६ देखि २९ औं स्थानमा छन् ।
शीर्ष २० क्लबको आम्दानी ६ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड पाउन्ड पुगेको छ ।
रङ्गशालाको क्षमता, टिकटको मूल्य र प्रिमियम आतिथ्यमा भएको वृद्धिका कारण म्याच–डेको आम्दानी ११ प्रतिशतले बढेर १.७७ अर्ब पाउन्ड पुगेको छ ।
रियलले आफ्नो बर्नाबेउ स्टेडियमको जीर्णोद्धारपछि म्याचडे राजस्वमा भएको वृद्धिबाट सबैभन्दा बढी फाइदा उठाएको छ, जुन गत वर्षको तुलनामा दोब्बर हो ।
डेलोइट स्पोट्र्स बिजनेस ग्रुपका लिड पार्टनर टिम ब्रिजले भने, ‘मनी लिग क्लबहरूले व्यावसायिक र म्याच–डे राजस्व वृद्धिमा रेकर्ड बनाएका छन् ।’
प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मन बुन्डेसलिगा, फ्रान्सको लिग वान र इटालीको सिरी ए जस्ता पाँच ठूला लिगहरू एउटै घरेलु प्रसारण चक्रमा रहेका कारण कुल प्रसारण आय ३.६४ बिलियन रहेको छ । बीबीसी