काठमाडौं । अर्थतन्त्रको ऐना मानिने पूँजी बजारबाट सरकारले गत वैशाखमा ३६ करोड २७ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । चैतको तुलनामा वैशाखको लाभकर कम हो ।
सरकारले धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गर्ने लगानीकर्ताबाट उक्त लाभकर संकलन गरेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का सूचना अधिकारी सुरेश न्यौपानेले चैतको तुलनामा वैशाखमा १२ करोड ६ लाख रुपैयाँभन्दा धेरैले पूँजीगत लाभकर घटेको जानकारी दिए ।
चैतमा सरकारले पूँजी बजारका लगानीकर्ताबाट ४८ करोड ३४ लाख रुपैैयाँभन्दा धेरै पूँजीगत लाभकर संकलन गरेको थियो । पूँजीगत लाभकर कम भएको घटनाले लगानीकर्ताले कम नाफामा धितोपत्र कारोबार गरेको वा कारोबार रकम घटेको संकेत गर्छ ।
चैतमा पूँजी बजारमा ५७ अर्ब २२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १५ करोड ५९ लाख १२ हजारभन्दा बढी धितोपत्र कारोबार भएको धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को तथ्यांकले देखाउँछ । वैशाखको कारोबार तथ्यांक हेर्दा ५४ अर्ब ९१ करोड ४७ लाख रुपैयाँभन्दा बढीको १३ करोड ९१ लाख ७३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको देखिन्छ । चैतको तुलनामा वैशाखमा दोस्रो बजारको कारोबार मापक नेप्सेसमेत घटेको छ । चैतको शुरूमा २ हजार ८० दशमलव ८७ बिन्दुमा रहेको नेप्से चैतको अन्तिम कारोबार दिन २ हजार २५ दशमलव ७० बिन्दुमा बन्द भएको थियो । वैशाखमा भने २ हजार ३१ दशमलव ९० बिन्दुसम्मको उतारचढाव नेप्सेमा देखिए पनि अन्तिम कारोबार दिन भने १ हजार ९९८ दशमलव ८९ बिन्दुमा नेप्से बन्द भएको थियो । यसबाट चैतको तुलनामा वैशाखमा बजार घटेको र कारोबार रकममा समेत कमी आएसँगै सरकारको आम्दानीमा असर परेको पुष्टि हुन्छ ।
चैत्रमा अल्पकालीन लगानीकर्ताबाट पूँजीगत लाभकर बढी प्राप्त भएको थियो भने वैशाखमा पनि यो समूह नै हाबी छ । तर, अल्पकालीन लगानीकर्ताबाट प्राप्त पूँजीगत लाभकर घटेको छ ।
हालको व्यवस्थाअनुसार १ वर्षभन्दा बढी धितोपत्र राखेर बेच्ने दीर्घकालीन र त्यसभन्दा कम राखेर बेच्ने अल्पकालीन लगानीकर्ता हुन् ।
वैशाखमा दीर्घकालीन लगानीकर्ताबाट प्राप्त लाभकर केही बढेको छ । चैतमा यो समूहका लगानीकर्ताबाट ११ करोड १३ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएकोमा वैशाखमा ११ करोड ४३ लाख नाघेको सीडीएससीका सूचना अधिकारी न्यौपानेले बताए ।
अल्पकालीन लगानीकर्ताबाट चैतमा २८ करोड ३७ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएकोमा वैशाखमा १८ करोड ४३ लाख रुपैयाँ हाराहारी मात्रै उठेको छ ।
संस्थागत लगानीकर्ताको संख्या धितोपत्र बजारमा निकै कम भएकाले यो समूहबाट संलकन हुने पूँजीगत लाभकरसमेत कम छ । चैतमा ८ करोड ८३ लाख रुपैयाँभन्दा बढी संस्थागत लगानीकर्ताबाट लाभकर संकलन भएकोमा वैशाखमा ६ करोड ४० लाख रुपैयाँ हाराहारीमा सीमित छ ।
सरकारले पूँजी बजारका संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट बढीमा ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर संकलन गर्छ । व्यक्तिगत लगानीकर्तामा अल्पकालीनले नाफामा धितोपत्र कारोबार गर्दा नाफा रकमको ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ ।
संस्थागत लगानीकर्ताका लागि पूँजीगत लाभकरको दर बढी भएकाले यस्ता लगानीकर्ताको संख्या बढाउन सके बजारको थप विकास र विस्तारमा टेवा पुग्ने धारणा अग्रज लगानीकर्ताको छ । संस्थागत लगानीकर्ताले दीर्घकालीन लगानीलाई जोड दिने भएकाले बजारले दीर्घकालीन गति लिने अग्रज लगानीकर्ता डम्बरुबवल्लभ घिमिरे बताउँछन् ।
संस्थागत लगानीकर्ताका रूपमा रहेका दुई स्टक डिलर कम्पनीको भूमिका बजारमा कम देखिएको उनले बताए । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारलाई सन्तुलनमा राख्ने उद्देश्यले नागरिक स्टक डिलर र नबिल स्टक डिलरलाई लाइसेन्स दिएको छ । ३२ खर्ब रुपैयाँभन्दा बढीको धितोपत्र बजारलाई सन्तुलनमा राख्न दुई स्टक डिलरको मात्र क्षमता नपुग्ने अवस्थामा अन्य संस्थागत लगानीकर्ता बजारमा भित्रिने वातावरण बन्नुपर्नेमा समेत घिमिरेले जोड दिए । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा सरकार जुटिरहँदा पूँजी बजारको दीर्घकालीन विकासमा टेवा मिल्ने खालका कार्यक्रम समेट्न घिमिरेले आग्रह गरेका छन् ।