वास्तवमा कुनै पनि देशका लागि विदेशी मुद्राको उचित परिमाणमा हुने सञ्चिति अनिवार्य नै मानिए पनि आफूलाई चाहिनेभन्दा बढी सञ्चिति भएमा त्यसले अर्थतन्त्र माथि सधैं सकारात्मक प्रभाव पर्छ भन्ने होइन । यिनै तथ्यको आलोकमा यो सानो आलेखमा विदेशी मुद्रा सञ्चितिका विविध आयामबारे चर्चा गर्दै अधिक सञ्चितिले समग्र अर्थतन्त्रमाथि पार्ने प्रभावको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
आजभन्दा ठीक २ वर्षअगाडि एक अमेरिकी डलरका लागि स्वदेशी मुद्राको २६० रुपैयाँ खर्चनुपर्ने श्रीलंका आज त्यति नै डलरका लागि २९० रुपैयाँ खर्च गर्नुपर्ने अवस्थामा भए पनि त्यो बेलाको जस्तो आर्थिक संकट अहिले उसले बेहोरिरहेको छैन । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि आयात निरुत्साहित गर्न र निर्यात तथा विप्रेषणलाई प्रोत्साहित गर्न त्यहाँको केन्द्रीय बैंकसँग भएका सीमित उपायमध्ये आफ्नो मुद्राको अवमूल्यन अप्रिय नै भए पनि बाध्यकारी थियो । जब कुनै पनि देशसँग विदेशी मुद्राको सञ्चिति रित्तिँदै जान्छ, उसले आफ्नो अत्यावश्यकीय आयातका लागि अन्य आयात घटाउनु नै पर्छ । आयात घटाउने सजिलो उपाय भनेको त्यसलाई महँगो बनाउनु नै हो र आयातलाई महँगो बनाउने प्रभावकारी उपकरणका रूपमा मुद्राको अवमूल्यनलाई प्राय:जसो केन्द्रीय बैंकहरूले अवलम्बन गर्दै आएका छन् । परिणामत: अहिले श्रीलंकाको आर्थिक स्थिति अपेक्षाकृत सबल छ ।
नेपालमा पनि त्यतिखेर विदेशी मुद्राको सञ्चिति घट्दो मात्रामा भएको प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले कतिपय वस्तु तथा सेवाको आयातमा आंशिक नियन्त्रणको उपाय अपनाएको थियो । विदेश जाने पर्यटकले पासपोर्ट सुविधाबापत पाउने सटही सुविधामा समेत कटौती गरिएको थियो । फलस्वरूप बिस्तारै विदेशी मुद्राको सञ्चितिमा क्रमश: सुधार हुँदै गयो र अहिले अवश्यकताभन्दा बढी विदेशी मुद्राको सञ्चिति भएको अवस्था छ । त्यसैले पनि अहिले आयातदेखि लिएर भ्रमणमा दिइने सटही सुविधासमेतलाई खुकुलो बनाइएको छ । यसो गर्नुका पछि अधिक विदेशी मुद्राको सञ्चितिजन्य असरलाई न्यूनीकरण गर्ने उद्देश्य लुकेको कुरा सहजै बुझ्न सकिन्छ ।
विदेशी मुद्राको सञ्चिति भनेको के हो ?
विदेशी मुद्राको सञ्चितिलाई अनेक किसिमले परिभाषित गरिए पनि अन्तरराष्ट्रिय मुद्राकोषका अनुसार कुनै पनि देशको मौद्रिक अधिकारी (केन्द्रीय बैंक) को नियन्त्रणमा रही र आवश्यक परेका बेलामा सजिलै उपयोग गर्न सक्ने गरी उपलब्ध हुने अन्तरराष्ट्रिय वा बाह्य सञ्चिति वा सम्पत्तिलाई आम रूपमा विदेशी मुद्राको सञ्चिति भनेर बुझिन्छ । अहिले विशेष गरी अधिकांश मुलुकले अन्तरराष्ट्रिय रूपमा व्यापार व्यवसाय गर्न सहज होस् भनेर यस्तो सञ्चितिलाई अमेरिकी डलरमा कायम गर्ने गरेका छन् । बैंक अफ इन्टरनेशनल सेटलमेन्टका अनुसार सन् २०२२ मा कुल विदेशी मुद्राको सञ्चितिको ५८ दशमलव ४ प्रतिशत रकम अमेरिकी डलरमा कायम गरिएको थियो भने कुल विदेश मुद्राको ऋणमध्ये सन् २०१० देखि नै ७० प्रतिशत ऋण पनि डलरमा नै अंकित गरिँदै आएको छ ।
विदेशी मुद्राको सञ्चितिअन्तर्गत केन्द्रीय बैंकमा भौतिक रूपमा सञ्चित विदेशी मुद्रा, विदेशी सुरक्षण पत्र, विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमय पत्र, प्रतिज्ञापत्र, बचत ऋणपत्र, ट्रेजरी बिल तथा अन्य विदेशी सरकारी सुरक्षण पत्रहरू, अन्तरराष्ट्रिय मुद्राकोषमा जम्मा हुने स्पेसिएल ड्रइङ राइट्स ( एसडीआर), तथा विदेशी बैंकहरूमा कायम रहेको विदेशी मुद्राको सञ्चितिसमेतको गणना हुन्छ । यसका अलावा केन्द्रीय बैंकले सञ्चित गर्ने सुन तथा अन्य बहुमूल्य धातुको परिमाणलाई समेत विदेशी मुद्राको सञ्चितिमा गणना गर्ने गरिन्छ ।
कुनै पनि देशका लागि ३ महीनाको लागि वस्तु तथा सेवाको आयात धान्ने परिमाणको विदेशी मुद्रालाई आदर्श मान्ने गरिएको छ । ग्रीनस्पन गइडोटी नियमअनुसार कुनै पनि देशको १ वर्षभित्र तिर्नुपर्ने बाह्य ऋणको परिमाण बराबरको विदेशी मुद्राको सञ्चितिलाई आदर्श परिमाण मान्न सकिन्छ ।
विदेशी मुद्रा सञ्चितिको दृष्टिमा चीन अहिले अग्रस्थानमा रहेको छ । गत महीनासम्मको तथ्यांकअनुसार चीनको विदेशी मुद्राको सञ्चिति करीब ३३ खर्ब (३.३ ट्रिलियन) डलर बराबर रहेको छ । दोस्रो स्थानमा रहेको जापानसँग करीब सवा ११ खर्ब डलर बराबरको सञ्चिति रहेको छ । अन्तरराष्ट्रिय मुद्राकोषका अनुसार विश्वभर उक्त मितिसम्म करिब १२४ खर्ब डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको थियो ।
किन महत्त्वपूर्ण छ विदेशी मुद्राको सञ्चिति ?
कुनै पनि देशको आर्थिक समृद्धिको एक सशक्त सूचकका रूपमा विदेशी मुद्राको सञ्चितिलाई लिने गरिन्छ । मुद्राकोषका अनुसार कुनै पनि देशको बाह्य सम्पत्तिका रूपमा रहने विदेशी मुद्राको सञ्चितिले भुक्तानी सन्तुलन कायम गर्दै समुचित शोधनान्तर स्थितिका लागि समेत अति आवश्यक तत्त्वको रूपमा कार्य गर्छ ।
अझ नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकले यसको पर्याप्त मौज्दातविना आफूलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थलगायत अन्य अत्यावश्यक खाद्य तथा अन्य वस्तु तथा सेवाको आयात गर्न सक्दैन । त्यति मात्र होइन, विदेशमा अध्ययन गर्नेहरूका लागि शुल्क भुक्तानी गर्नेदेखि लिएर कुनै पनि नागरिक विदेश भ्रमणमा जाँदा आवश्यक पर्ने रकमसम्मका लागि पनि सञ्चित विदेशी मुद्रा नै खर्च गर्नुपर्ने हुन्छ । विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न पनि सबै देशलाई विदेशी मुद्रा नै आवश्यक पर्छ ।
कतिपय अवस्थामा देशमा मुद्राको मूल्य स्थिर राख्नसमेत विदेशी मुद्राको सञ्चितिलाई उपयोग गर्ने गरिन्छ । विदेशी मुद्रा खरीद तथा विक्री गरेर यस्तो विनिमय दरलाई स्थिर राख्न केन्द्रीय बैंकहरूले प्रयास गरेका कतिपय उदाहरण पाइन्छन् । यसबाट आफ्नो स्वदेशी मुद्राको स्थिरता कायम गर्दै लगानीकर्ताको विश्वास आर्जन गर्नसमेत मद्दत पुग्छ । यसका अलावा सम्भावित आर्थिक संकटको सामना गर्न जगेडा सम्पत्तिका रूपमा पनि विदेशी मुद्राको सञ्चितिलाई लिने गरिन्छ ।
समग्रमा भन्नु पर्दा आर्थिक बलियापन र जगेडाका लागि, अन्तरराष्ट्रिय व्यापार सन्तुलनका लागि, स्वदेशी मुद्राको मौद्रिक तथा विनिमय दरको स्थिरताका लागि, तथा बा्य दायित्वहरू परिपूर्ति गर्न पनि कुनै पनि देशसँग उचित परिमाणमा विदेशी मुद्राको सञ्चिति हुनु नितान्त आवश्यक हुन्छ ।
आदर्श परिमाण
कुनै पनि देशको लागि कति परिमाणको विदेशी मुद्राको सञ्चितिलाई ठिक्कको मान्ने भन्ने बारेमा निश्चित मापदण्ड छैन । देशको आर्थिक अवस्था, वित्तीय गतिविधि, आम उपभोग स्तर, राजनीतिक अवस्थाजस्ता विविध तत्त्वहरूले विदेशी मुद्राको सञ्चितिको उपयुक्त मात्रालाई निर्धारित गरेको हुन्छ ।
त्यसो भए तापनि विदेशी मुद्राको सञ्चितिको आदर्श परिमाणको बारेमा केही सिद्धान्तहरूले निर्देशित गरेका छन् । परम्परागत रूपमा आम रूपमा विश्वभरि नै कुनै पनि देशको लागि ३ महीनाका लागि वस्तु तथा सेवाको आयात धान्ने परिमाणको विदेशी मुद्रालाई आदर्श मान्ने गरिएको छ । ग्रीनस्पन गइडोटी नियमअनुसार कुनै पनि देशको १ वर्षभित्र तिर्नुपर्ने बाह्य ऋणको परिमाण बराबरको विदेशी मुद्राको सञ्चितिलाई आदर्श परिमाण मान्न सकिन्छ । यसैगरी वित्तीय रूपमा विकसित देशहरूमा आन्तरिक स्रोतबाट माग हुन सक्ने विदेशी मुद्राको २० प्रतिशतसम्मको सञ्चितिलाई उपयुक्त मान्ने प्रचलन पनि रहिआएको छ । यसका अतिरिक्त विदेशी मुद्राको सञ्चितिको उपयुक्तता मापन गर्ने अन्य धेरै प्रकारका मानदण्डहरू पनि प्रचलनमा छन् ।
नेपालको अवस्था
नेपालको सन्दर्भमा ३ महीनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने मात्रालाई ‘उपयुक्त परिमाण’ मान्न भने सकिँदैन । तापनि त्यसको तीन गुना अर्थात् ९ महीनाको वस्तु तथा सेवा आयात गर्ने पुग्ने राशिलाई उपयुक्त मान्दा
पनि नेपाल अहिले त्यो भन्दा निकै नै सहज अवस्थामा रहेको देखिन्छ । केही वर्ष पहिले नेपाल राष्ट्र बैंकले आयातमा गरेको नियन्त्रणदेखि लिएर बढ्दो विप्रेषणसमेतले गर्दा अहिले नेपालमा प्रचूर मात्रामा विदेशी मुद्राको सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले गत महीना सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले नेपालसँग विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ करोड रहेको छ र यसले साढे १३ महीनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने बताइन्छ ।
यस अर्थमा अहिले नेपालमा विदेशी मुद्राको अधिक सञ्चितिको अवस्था रहेको मान्न सकिन्छ । यसरी विदेशी मुद्राको अधिक सञ्चिति हुनुमा विप्रषणको आप्रवाह बढ्नु, तथा आन्तरिक अर्थतन्त्र शिथिल हुनुलाई जिम्मेवार मान्न सकिन्छ । खासगरी लघुवित्त, सहकारीदेखि बैंकसम्म पनि आर्थिक शिथिलताका लक्षणहरू देखिन थाले पछि समष्टिगत उपभोगको मात्रा घटेको छ । परिणामस्वरूप आयात घट्न पुगेको छ र विदेशी मुद्राको खर्च हुन सकेको छैन ।
अधिक सञ्चितिका सम्भाव्य परिणाम
अहिले भुक्तानी सन्तुलन तथा चालू खाता पनि कहिल्यै नभएको बचतको अवस्थामा रहेको छ । यसरी उत्पादनशील क्षेत्रमा खर्च नभई विदेशी मुद्रा मात्र थुप्रिदै जाँदा त्यसले अर्थतन्त्रलाई सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ । यदि कुनै पनि देशसँग अवश्यकताभन्दा बढी विदेशी मुद्राको सञ्चिति छ भने त्यसले देशको आर्थिक विकास गर्ने सामथ्र्य कमजोर रहेको जनाउ दिन्छ । त्यो देशले आफूसँग भएको विदेशी मुद्राको उचित उपयोग नगरेर तज्ज्जन्य आर्थिक लाभबाट वञ्चित रहन्छ । यसले आम रूपमा उपभोगको स्तरमा स्थायी रूपमा नै ह्रास ल्याउने जोखिम पनि रहन्छ । त्यसैले विदेशी मुद्राको अधिक सञ्चितिले गम्भीर प्रकारका आर्थिक एवं सामाजिक मूल्य चुकाउनुपर्ने सम्भावना रहने हुनाले यसको आदर्श परिचालन गरी स्वस्थ अर्थतन्त्र विकास गर्नका लागि सम्बद्ध पक्षहरूले छिटोभन्दा छिटो विवेकपूर्ण कार्ययोजना बनाउनु जरुरी देखिन्छ ।
लेखक सम्पत्ति शुद्धीकरण विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।