विगतमा विदेशिने युवालाई नेपाल फर्काउन के गर्न सकिन्छ भनेर कैयौं बहस भए, कैयौं कार्यक्रम पनि भए । विदेशमा सिकेको शीप, त्यहाँ गरिएको अध्ययन यहाँ ल्याएर काम गर्न सके, यहाँ कार्यान्वयन गर्न सके मुलुककै हित हुने थियो । त्यही भएर विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने रहर राज्यले बोकेको थियो, सपना साँचेको थियो । आफन्त, समाज छाडेर विदेशिएका नेपाली यहाँबाट विदेशिने समयमा कैयौं रहर त्यागेर विदेशिएका थिए, कैयौं सपना बोकेर विदेशिएका थिए, अझ कतिले त स्वदेश फर्कने प्रणसमेत लिएका थिए । तर, त्यहाँ भिजिसकेपश्चात् नेपाल फर्कने कारण चाहिने रहेछ, नेपालमा फर्किएर के गर्ने ?
नेपालमा रोजगारीको अवसर नभएरै विदेशिएका नेपाली, त्यतैको नागरिक हुन तत्पर रहेको बुझ्दै गर्दा नेपाली नेतृत्व मूकदर्शक बन्नु आफैमा लज्जास्पद हो । लोकसेवा आयोगले खुलाउने सीमित रोजगारी र निजीक्षेत्रबाट खुल्ने केही अवसरबाहेक नेपाली बजारमा कुनै अवसर छैन । त्यही बुझेर होला, आजभोलि अभिभावक आफै आफ्ना छोराछोरी विदेशिऊन् भनी चाहना राख्ने गर्छन् । विश्वव्यापीकरणको यो समय कुनै पनि मुलुकले आफ्नो नागरिकलाई बाँधेर राख्न सक्दैन । नेपाल, जसको अर्थतन्त्र नै विप्रेषणबाट चलेको छ उसले त विदेशिनबाट रोक्ने सोच राख्न पनि सक्दैन । हालकै अवस्था हेर्ने हो भने क्याम्पसमा विद्यार्थीको संख्या घटेको छ । कतिपय शैक्षिक संस्थाले विद्यार्थी नपाएर दोहोर्याएर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । हिजोसम्म नेपाल फर्किएर व्यापार गर्छु भन्ने जमात थियो । आज व्यापारीसमेत निराश छन् । नेपालको बजार घट्दो क्रममा छ । सम्पूर्ण युवा समुदाय अर्थात् बजारको मुख्य अंशियार नै विदेशतर्फ उन्मुख छ । नेपालमा किन्ने नै को हुन्छ र ? त्यही भएर अहिले कपडा व्यापारी होस् या रेस्टुराँको उद्यम गर्ने उद्यमी, निराशाको अवस्थामा छन् ।
मुलुकबाट औसतमा २ हजार ५०० युवा दैनिक बाहिरिँदै गर्दा पनि आजसम्म सबै पक्ष थेगिएको छ । तर, यही परिपाटी चलिरहने हो भने आगामी १० वर्षपछि नेपालको अवस्था के हुन्छ, अकल्पनीय छ । हिजो उपत्यका बाहिरबाट जो उपत्यका छिटो प्रवेश गरे, उनीहरूले राम्रो ठाउँमा जग्गाघर जोड्न सके । जो ढिलो प्रवेश गरे, उनीहरू पछाडि परे । विदेशिने लहर पनि कतै त्यस्तै त हुने होइन भन्ने भयले आज धेरै युवाको चाह विदेश नै हुने गरेको भेटिन्छ । हिजो विदेशिनु रहर थियो, आज बाध्यता ।
अहिले नेपाली युवा समुदायबीच नेपाल बसेर के गर्ने भन्ने प्रश्न पाइन्छ । अध्ययन गरुन्जेलसम्म जोहो टर्छ । आफ्नो अध्ययनअनुसारको जागीर पाइँदैन अनि वितृष्णा जाग्नु स्वाभाविक पनि हो । कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी जागीर पाउँदैन । उसको सट्टा नेताको सोर्सफोर्समार्फत जागीर पाउने अवस्था छ । त्यसैले आत्मसम्मानलाई निचोरेर स्वदेश बस्नु कत्तिको ठीक भन्ने उनीहरूलाई लागेको छ । जागीरले जब खान लगाउन पुग्दैन, यहाँको महँगी धान्दैन दिनरात खटिएर बस्नुभन्दा विदेशिनु नै ठीक भन्ने निष्कर्षमा युवा पुग्छन् । हिसाब गरी हेर्ने हो भने दुई छाक खान, परिवारलाई वर्षको दुई जोर कपडा सिलाउन, हप्ताको एकपटक मासु पकाएर खुवाउन, छोराछोरी राम्रो विद्यालयमा पढाउन यहाँ एउटा अधिकृतको तलबले पुग्दैन । अन्तत: कि भ्रष्टाचारमा लाग्नुपर्छ कि विदेशिनुपर्छ ।
कृषि गरौं, भारतीय मूल्यसँग प्रतिस्पर्धा गर्न सकिँदैन । यहाँ फलेको काउली मल बनोस् भनेर खेतमै कुवाउनुपर्ने अवस्था छ । टमाटर सडकमा फाल्नु पर्ने, दूध सडकमा पोख्नुपर्ने अवस्था छ । उद्योग कलकारखाना स्थापना गरौं, विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन । बंगलादेशमा नेपाली चाउचाउ कम्पनीले निर्यात गर्न खोज्दा त्यहाँ निर्यात गर्नुभन्दा त्यहीं उद्योग स्थापना गरेर उत्पादन गर्न सस्तो हुने भेटेपछि त्यतै स्थापना गरेको थियो । नेपालमा त्यस्तो नीति कहाँ छ ? एउटा सम्मेलनका लागि एलन मस्कदेखि जुकरबर्गसम्म निम्तो पुग्छ, तर व्यवसाय गर्ने वातावरण कत्तिको सहज छ त्यो नेपाली स्टार्टअप गर्ने युवाले भोग्नुपरेको छ । आखिर दोषी को ? हिजो जनयुद्ध शुरू गर्दा प्रजातन्त्रका लागि सडकमा होमिँदा, परिवर्तनका लागि लोकतन्त्रका लागि लागिपर्दा सकारात्मक अपेक्षा लिएरै पाइला सारिएको थियो होला । यस्तो अवस्था आउला भनेर परिकल्पना गरिएको थिएन होला ।
सर्वप्रथम त हाम्रो शैक्षिक प्रणाली नै दोषी हो । न प्रतिस्पर्धात्मक रोजगारका लागि तयारी गराउँछ, न विश्वव्यापी क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ, न उद्यमी बनाउन सहयोग गर्छ । विद्यालयमा पढेको कठिन गणितीय सूत्रहरूभन्दा उक्त समयमा व्यावहारिक ज्ञान दिएको भए, सब्जी रोपेर फलाउन सिकाएको भए धेरै युवा कृषिप्रति आकर्षित हुने थिए । हाम्रो शिक्षा र शैक्षिक प्रणालीको कुनै उद्देश्य छैन । न यसले जागीर खाँदै पढ्ने अवसर दिन्छ, न कुनै सक्षम बनाउँछ । राज्यको प्राथमिकता दोषपूर्ण छ । यहाँ कसैको प्राथमिकता उत्पादकत्वमा छैन, क्षणिक स्वार्थपूर्ति मात्र छ । विदेशमा सफल बन्न सजिलो छ, यहाँ राजनीतिक धरातलमा फसी मात्र रहन्छ । नेतृत्वको ध्यान दिगो विकासमा छैन, आफ्नो स्वार्थपूर्तिमा तत्पर छन् । रोजगारी सृजना गर्ने उद्योगलाई कुन हदसम्म प्राथमिकता दिइएको छ, त्यसले राज्यको ध्यान निर्धारण गर्छ । अर्थतन्त्र जोगाउनु चुनौतीपूर्ण छ । यहाँ राज्यलाई सन्तुष्ट पार्न जनतालाई ठूलो भारमा पारिएको छ । कमाएको पैसामा कर तिरेपछि, केही किन्नु पर्दा कर नै तिर्नुपर्ने बाध्यता छ । यतिसम्म भने कर तिर्न नै पनि बैंकबाट ऋण लिनुपर्ने अवस्था छ । त्यसैले नेपालमै बसेर सपना देख्नसमेत गाह्रो भइरहँदा, विदेशिनु रहरभन्दा पनि बाध्यता बन्दै छ ।
रेग्मी बैंकर हुन् ।