प्रदेश राजधानी पोखरालगायत गण्डकी प्रदेश घुम्ने विदेशी पर्यटकले खाना र अन्य सेवाको भुक्तानी कार्ड, मोबाइल वालेटबाट भन्दा नगदै गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
गण्डकी प्रदेश भ्रमण गर्ने अधिकांश विदेशीको बसाइ र खर्चको प्रवृत्तिबारे नेपाल राष्ट्र बैंकको पोखरा, अनुसन्धान एकाइले तयार गरेको ‘विशेष अध्ययन प्रतिवेदन २०८०/८१’ मा पर्यटकले आफ्नो बसोवास, खानपिन, यातायात, अन्य पर्यटकीय क्रियाकलाप र राजस्व भुक्तानी गर्न नगद माध्यम नै रोज्ने गरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले नगद भुक्तानीलाई रोक्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न नीति लिए पनि यसमा उल्लेख्य सफलता प्राप्त गर्न सकेको देखिँदैन । आफ्नो देशमा कमै नगद कारोबार गर्ने विदेशी पर्यटकलाई नेपालमा नगदै कारोबार गर्न केले बाध्य पारिरहेको छ त ? यो पोखरा र त्यस आसपासका पर्यटकीय केन्द्रमा अनुसन्धान गरी निकालिएको निष्कर्ष भए पनि अवस्था मुलुकभर नै यस्तै छ । विद्युतीय भुक्तानीमा युवावर्ग आकर्षित भएसँगै मोबाइल बालेटहरू निकै प्रिय हुन थालेका छन् । तैपनि नेपालले फिनटेकमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन । विद्युतीय भुक्तानीका लागि मुलुकको आफ्नो स्वीच र गेटवे बनाउने भनी धेरै अघिदेखि तयारी थालिए पनि अझै त्यसले मूर्त रूप लिन सकेको छैन । त्यसो हुँदा अन्तरबैंक कारोबार गर्दा प्रत्येक कारोबारका लागि विदेशी कम्पनीलाई पैसा तिर्नुपर्ने बाध्यता छ । अर्को, वालेट वा क्यूआर भुक्तानी महँगो हुँदा पनि समस्या परेको देखिन्छ । कतिपय क्यूआरमा सेवाशुल्क नतिरे पनि हुन्छ धेरैजसोमा पैसा तिर्नैपर्छ । अर्को, यति सानो बजारमा भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूको संख्या ठूलो हुँदा पनि कसको सेवा प्रयोग गर्ने भन्ने अन्योल रहेको पाइन्छ । त्यसैले थोरै तर प्रतिस्पर्धी सेवाप्रदायक कम्पनी हुनुपर्छ र तिनको सेवा प्रभावकारी हुनुपर्छ । त्यसो भयो भने बल्ल विद्युतीय भुक्तानी सजिलो हुन्छ ।
कोरोना महामारीका समयमा विद्युतीय भुक्तानीमा निकै ठूलो सफलता प्राप्त भए पनि त्यसयता अपेक्षित अनुपातमा यसको प्रयोग विस्तार भएको पाइँदैन । त्यही भएर आन्तरिक र बाह्य दुवै पर्यटकले डिजिटल भुक्तानी कम गरेको देखिएको हो । होटेल व्यवसायीले कार्डबाट भुक्तानी लिनुपरेमा यहाँका बैंकहरूले ३ दशमलव ७५ प्रतिशत सेवा शुल्क लिन्छन् । यो शुल्क पर्यटक/ग्राहकको सेवामा पनि जोडिँदा सेवा नै महँगो हुने भएकाले पर्यटकले नगद नै तिर्ने र व्यवसायीले पनि त्यही रोज्ने गरेको व्यवसायीको भनाइ छ । भिसा कार्ड र क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवा शुल्क भनेर बैंकहरूले होटेल व्यवसायी (भेन्डर)सँग चर्को रकम लिन्छन् । त्यस्तै कार्ड रिडिङ मेशिन सबै ठाउँमा सहज रूपमा उपलब्ध नहुनु, भएका मेशिनले सबै कार्ड स्वीकार नगर्नु, बैंकले लिने सेवा शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, ई–पेमेन्टको सेटलमेन्टमा ढिलाइ हुनु र कार्डको माध्यमबाट भुक्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नपर्नु जस्ता कारणले विद्युतीय भुक्तानीप्रति आकर्षण बढ्न नसकेको हो ।
भारतीय पर्यटकले सीधै भारतको मोबाइल बैंकिङ प्रयोग गरेर विद्युतीय भुक्तानी गर्न सक्ने सुविधा प्रयोगमा आइसकेको छ । चीनसँग पनि यस्तै खालको सम्झौता भइसकेको छ । यो पनि चाँडै नै प्रयोगमा आउला । यी दुईबाहेक अन्य मुलुकका पर्यटकलाई पनि उनीहरूकै मोबाइल बैंकिङ प्रयोग गर्न सक्ने व्यवस्था गरिनुपर्छ । तर, यी सबैमा सेवाशुल्क महँगो भएकाले नगदै तिर्न रुचाउने गरेको पाइन्छ । प्रविधि प्रयोगले कुनै पनि सेवाको लागत घटाउँछ । त्यसो हुँदा विद्युतीय भुक्तानी सस्तो हुनुपर्नेमा उल्टो भएकाले नै नगद कारोबार बढी भएको हो । अर्को, सबैतिर कार्ड रिडर नहुने, क्यूआर गर्न इन्टरनेटको सुविधा नहुने हुँदा झन्झटिलो बनेको पाइन्छ । त्यसैले यी अवरोधहरूमा सुधार ल्याएर विद्युतीय भुक्तानीलाई व्यापक बनाउनुपर्छ । यसो गर्न सकिएमा मात्रै नगदरहित कारोबार सम्भव हुँदै जान्छ ।