काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा तिनीहरूले बिजुलीको खपत पनि बढाउँदै लगेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार अहिले विद्युतीय सवारीसाधनहरूले सार्वजनिक चार्जिङ स्टेशनमार्फत मासिक ६० लाख युनिट बिजुली खपत गरिरहेका छन् ।
प्राधिकरणका सहायक प्रबन्धक तथा चार्जिङ स्टेशन परियोजना प्रमुख सागर ज्ञवालीले विद्युतीय सवारीले मासिक ६० लाख युनिट बिजुली खपत गरिरहेको जानकारी दिए । चार्जिङ स्टेशनहरूबाट अहिले खपत भइरहेको बिजुली देशको कुल बिजुली खपतको तुलनामा नगन्य हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा ९ हजार ३५८ गिगावाट आवर बिजुली देशभित्र उपभोग भएको थियो । एक हजार किलोवाट आवर बराबर १ युनिट हुन्छ ।
तर, प्राधिकरण अधिकारीहरू बढ्दो विद्युतीय सवारीसाधनको आयात र चार्जिङ स्टेशनको विस्तारसँगै विद्युत् खपत पनि बढ्दै जाने बताउँछन् ।
अहिले प्राधिकरणले ५१ ओटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । ‘अब थप ४० ओटा हब चार्जिङ स्टेशन नेपालभर बनाउँदै छौं,’ ज्ञवालीले भने । प्राधिकरणले ५०० चार्जिङ स्टेशन चालू आवमा बनाउने योजना बनाएको थियो ।
निजीक्षेत्रले पनि चार्जिङ स्टेशन विस्तार गरिरहेको छ । प्राधिकरणका अनुसार निजीक्षेत्रबाट मात्र ३५० ओटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र यसको थप विस्तारका लागि नेपालले लिएको लक्ष्यको तुलनामा चार्जिङ स्टेशनको विस्तार मन्द रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।
नेपालले सन् २०३० भित्र दुईपांग्रेसहित सबै निजी सवारी विक्रीको ९० प्रतिशत र चारपांग्रे विक्रीको ६० प्रतिशत विद्युतीय गाडी पुर्याउने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्त गर्ने गरी विद्युतीय सवारीसाधनको विस्तार तत्काल नभए पनि यसमा आकर्षण भने व्यापक बढेको बढ्दो विद्युतीय सवारीसाधन आयातले स्पष्ट पार्छ ।
गत आव २०७९/८० को ९ महीनाको तुलनामा चालू आव २०८०/८१ को यही अवधिमा नेपालमा विद्युतीय स्कूटर, तीनपांग्रे र चारपांग्रे सवारीसाधन धेरै भित्रिएका छन् । यसले पनि विद्युत् खपत थप बढ्ने सरोकारवाला बताउँछन् । चालू आवको ९ महीनामै नेपालमा दुईपांग्रे र चारपांग्रे गरी २१ हजार ४१८ थान विद्युतीय सवारीसाधन आयात भएको छ ।
गत आवको सोही अवधिमा यस्ता विद्युतीय गाडीको कुल आयात १४ हजार ३९४ थान रहेको विभागको तथ्यांक छ । चालू आव २०८०/८१ को ९ महीनामा चारपांग्रे विद्युतीय सवारीसाधन मात्रै ७ हजार ९३ थान आयात भएको छ ।
गतवर्ष यही अवधिमा चारपांग्रे सवारीसाधन २ हजार ४५१ थान आयात भएको थियो । देशभर निजी गाडीका साथै सार्वजनिक यातायातका लागि विद्युतीय वाहन (बस, माइक्रोभ्यान)हरू बढ्दै छन् । पूर्वाधार बढ्दै छ । यसमा प्राधिकरण मात्रै नभई निजीक्षेत्रको समेत लगानी बढाउनुपर्ने ज्ञवालीले बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का सचिव कविता पोखरेल कडेलले विद्युतीय सवारीसाधनले विद्युत् खपत बढाउनुका साथै अर्बाैं रुपैयाँ बाहिरिने पेट्रोल/डिजेल आयात प्रतिस्थापन हुने बताइन् ।
विद्युतीय गाडीले वातावरण प्रदूषण हुनबाट पनि बचाउने भएकाले अब यस्तै साधनमैत्री पूर्वाधारमा लगानी आवश्यक भएको उनको भनाइ छ । ‘अहिले शहरी क्षेत्रभित्र विद्युतीय सवारी चलाउन समस्या छैन, घरबाट चार्ज गर्दा पनि दिनभरलाई पुग्छ,’ उनले भनिन्, ‘अब सार्वजनिक सवारी पनि विद्युतीय नै बढाउने हो भने सार्वजनिक स्थानमा चार्जिङ स्टेशन बनाउनुपर्छ ।’
नेपालमा बिजुली उत्पादन पनि बढ्दो अवस्थामा रहेको हुँदा यसको आन्तरिक खपतका लागि सरकार र निजीक्षेत्रले बिजुली गाडीको प्रवर्द्धनमा सघाउनुपर्ने उनको भनाइ छ । विद्युत् उत्पादन बढ्दै जाने देखिएको भन्दै उनले स्वदेशमै यसको खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धन गर्नु आवश्यक भएको बताइन् ।
प्राधिकरणका अनुसार हाल नेपालमा परीक्षणमा समेत रहेका आयोजनाको गरेर कुल जडित क्षमता ३ हजार १४५ मेगावाट छ । सरकारले सन् २०३५ हुँदा उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य घोषणा गरिसकेको छ । निजीक्षेत्रको लगानीसमेत बढ्दै गएको जलविद्युत् क्षेत्रले उत्पादन क्षमता पनि बढाउँदै लगेको छ । यो स्थितिमा बिजुलीको आन्तरिक माग बढाउनु आवश्यक रहेको सरोकारवाला बताउँछन् । स्वदेशी खपत बढाउन विद्युतीय सवारीसाधन उपयुक्त हुने उल्लेख गरिएको छ ।
शुरूमा निजी प्रयोगमा रहेका विद्युतीय सवारीसाधन पछिल्लो समय सार्वजनिक यातायातको क्षेत्रमा पनि उल्लेख्य प्रयोग हुन थालेका छन् । त्यसमध्ये सबैभन्दा धेरै विद्युतीय बस साझा यातायात सहकारीले सञ्चालनमा ल्याएको छ । विद्युतीयसहित १११ ओटा बसबाट सेवा दिँदै आएको साझाले २०८२ सम्ममा सबै बसलाई विद्युतीय बनाउने लक्ष्य राखेको छ । साझासँग हाल ४० थान विद्युतीय बस छन् । बाँकी इन्धनबाट चल्ने छन् ।
साझा यातायातका मेकानिकल इन्जिनीयर जनक रिसालले एउटा बसले दिनमा १०० युनिट विद्युत् खपत गर्ने जानकारी दिए । यसअनुसार साझाका विद्युतीय बसले मात्रै दैनिक ४ हजार युनिट बिजुली खपत गर्ने रिसालले बताए । ‘विद्युतीय बस पहिलादेखि नै चलाउने भने पनि चार्जिङ स्टेशनका कारण फाट्टफुट्ट १०/१५ ओटा चल्थे,’ रिसालले भने, ‘अहिले साझाकै केन्द्रीय कार्यालय पुल्चोक (ललितपुर)मा चार्जिङ स्टेशन बनाएपछि लगभग सबै बस चल्छन् ।’
पुल्चोकस्थित केन्द्रीय कार्यालयमै साझाले ११ थान चार्जिङ स्टेशन चैत २७ गतेदेखि सञ्चालनमा ल्याएको छ । उक्त स्टेशनमा रहेका प्रत्येक चार्जरको क्षमता ९८ किलोवाट आवर छ भने विद्युत् आपूर्तिका लागि १ हजार १०० (१.१ मेगावाट)को ४ थान ट्रान्सफर्मर जडान गरिएको साझाले जानकारी दिएको छ । यस्ता स्टेशनबाट एकपटकमा २२ ओटा बस चार्ज गर्न सकिने रिसालले जानकारी दिए ।
विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढ्दो अवस्था रहेको भन्दै उनले बिजुली खपत पनि निश्चय नै बढ्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले अब बनाउने पूर्वाधारमा घरायसी प्रयोजनका लागि जडान गरिने एम्पियरको क्षमता बढाउनुपर्ने मापदण्ड बनाउनुपर्ने रिसालले बताए ।